भानु जयन्तीको अवसरमा विश्व काव्य-गोष्ठी सम्पन्न

सउल, कोरिया
नेपाली भाषासाहित्य, कला र संस्कृतिको उत्थानमा लागि परिरहेको सक्रिय संस्था अनेसास कोरिया च्याप्टरले विश्वका विभिन्न देशमा रहनुभएका कविहरूलाई एकत्रित गर्दै भर्चुअल काव्य-गोष्ठी सम्पन्न गरेको छ।
अनेसास कोरिया च्याप्टरका अध्यक्ष प्रमोद सारंगको सभापतित्वमा सुरु भएको उक्त कार्यक्रममा नेपाली साहित्यका शिखर पुरुष वरिष्ठ साहित्यकार मोहन सिटौलाको प्रमुख आतिथ्य रहेको थियो भने विशेष अतिथिको रुपमा विगत लामो समयदेखि नेपाली साहित्यमा योगदान गर्नुभएका सुविख्यात कवि, साहित्यकार लालगोपाल सुवेदी तथा विशिष्ट अतिथिको रुपमा साहित्यकार/उपन्यासकार महेश्वर पन्त हुनुहुन्थ्यो ।
कार्यक्रममा प्रमुख अतिथि, विशेष अतिथि तथा विशिष्ट अतिथिले नेपाली साहित्यमा आदिकवि भानुभक्त आचार्यको बारेमा प्रकाश पार्दै भाषा-साहित्यको माध्यमबाट सम्पूर्ण नेपालीहरूलाई एकत्रित गर्ने काम गरेको बताउदै भानु सम्बन्धि लेखिएका कविता प्रस्तुत गर्नुभएको थियो ।
संस्थाका वरिष्ठ उपाध्यक्ष डीआर न्यौपाने ‘सूर्य’को संयोजन र सञ्चालनमा शुरु भएको उक्त कार्यक्रममा वर्तमान पुस्ताका लोकप्रिय कविहरू हेमन्त गिरी,रामगोपाल आसुतोष, महेश कार्की क्षितिज, प्रज्वल अधिकारी, निशान निष्कर्ष, पवनविक्रम परियार, विनोद स्पन्दन, प्रकाश पान्डे, विनोद परिवर्तित, सरला श्रेष्ठ, प्रतिमा केसी, केबी पारखी, कोमल भट्ट, निर्दोष शिव आदिले रचना प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा अनेसास कोरिया च्याप्टरले प्रमुख अतिथि मोहन सिटौला, विशेष अतिथि लालगोपाल सुवेदी र विशिष्ट अतिथि महेश्वर पन्तलाई विशिष्ट समान प्रदान गर्दै उपस्थित सबै कविहरूलाई सम्मान-पत्रले सम्मान गरेको थियो ।
विगत लामो समयदेखि अनेसास कोरियाले कविता, गजल, मुक्तक जस्ता सबै विधामा सन्तुलन राखेर विभिन्न साहित्यिक कार्यक्रमहरू गरेको स्मरण गर्दै यो कार्यक्रम भानु विशेष भएको हुनाले कवितामा कलम चलाउने स्रष्टाहरूलाई उपस्थित गराएर सम्मान गरिएको अध्यक्ष प्रमोद सारंगले बताउनु भयो । कार्यक्रम जुममार्फत फेसबुक लाईभ गरिएको थियो ।