नयाँ पुस्ता

म ओढ्ने ओढाई रहन्छु
ऊ फाली रहन्छ
मलाई थाहा छ यो संसार कति चिसो छ भनेर ।
भोकले भुतुक्कै भयो होला भनेर
खाना खुवाउँछु
ऊ प्रत्येक दानालाई थुथु गरेर थुकी दिन्छ
म सम्झन्छु भोका पेट हुँदाको समय
अनि भोका पेटहरु ।
तिर्खाएको कि भनेर म मिनिरल वाटर खुवाउँछु
ऊ प्याच्च थुकी दिन्छ मेरो काखैमा
भिज्छ मेरो जाँगे
म सम्झन्छु चेपेगाडा पन्छाउँदै पिएको पानी
भिजेको मैलो सुरुवाल ।
कहिलेकाँही रुँदा कोकोमेलोन देखाउँछु
ऊ जेजे चिन्छ, मुसा मोमो चिन्छ
म कहिले कही आमालाई गाउँमा भिडियो कल गर्छु
ऊ चिन्दैन मेरी आमालाई ।
मैले मेरा भाइवहिनीको पनि गोठालो बसेको हुँ
कसरी आमाको पुरानो फरियामा
गुमुतमा डुवेर कतिन्जेल बस्थे थाहा छ
ऊ एक पटक पिसाब फेरेको डाइपर लाउँदैमा शहर थर्काएर रुन्छ ।
(कोकोमेलोन : बालबालिकाको लागि कार्टुन भिडियो बनाउने युट्युव च्यानल ।)