विज्ञापन हेरिरहेको युवा

थोरै लगानी
राम्रो देश
राम्रो कमाई
सजिलो कामको
एउटा विज्ञापन खोजि रहेछ ।
डिग्री पढेको मान्छे हो
आमाको पेवा भैसी बेचेर
गाउँमै कृषि क्रान्ती गर्छु भनेको पनि हो ।
उसले लगाएको बालीमा नयाँ किरा आयो
खायो एउटा मौलाउँनै लागेको सपना
अनि डुब्यो उसको विस्वास
त्यही दिन देखि
ऊ खोजि रहेछ सुहाउँदो विज्ञापन ।
पत्रिका पनि महंगो छ
थरि थरिका छन्
रोजेर किन्दा
विज्ञापन छुट्ने पो हो कि ?
विहानै चिया पसलमा
मनै नलागि चिया खाइरहेको छ
पल्टाइ रहेको छ पन्नाहरु
मनौ ऊ जिन्दगी छिट्टै काट्न चाहन्छ
र भेट्न चाहन्छ गन्तब्य ।
कलेज जिन्दगीमा
ऊ बन्न चाहन्थ्यो
असल क्रान्तिकारी
पढि रहन्थ्यो माओ, लेलिन, माक्स, चेका जिन्दगी
पढि रहन्थ्यो गोर्की, आहुती र मोदनाथ
यी पढ्दा पढ्दा वाक्क भएर
अनि खोज्थ्योे
गोरखापत्रमा लोकसेवाको विज्ञापन ।
छन थरि थरिका विज्ञापन
आफैलाई सुहाउँदो नपाउँन्जेल
ऊ खोजि रहेन्छ यसरी नै
पत्रिका पत्रिकामा ।