विजयादशमीको अवसरमा रचना वाचन कार्यक्रम सम्पन्न
सउल, कोरिया
१४ अक्टोबर २०२१
अनेसास कोरिया च्याप्टरको आयोजनामा विजयादशमीको शुभकामना आदानप्रदानसहित रचनावाचन कार्यक्रम भव्य रूपले सम्पन्न भएको छ । कार्यक्रम जुम अनलाईन भर्चुअल माध्यमबाट सम्पन्न भएको हो ।
कार्यक्रममा कविता, गजल र मुक्तक गरी तीनै विधाका अतिथि स्रष्टाहरूले आफ्ना सुन्दर रचनाहरू वाचन गरेका थिए । कार्यक्रममा स्रष्टाहरू क्रमश: शरद पोखरेल, गणेश खड्का, सिर्जना ढकाल, दीप मिलन, विनोद परिवर्तित दिनेश धामी, रामजीप्रसाद आचार्य, दीक्षा भण्डारी जानू लगायतले देशप्रेम, प्रवास-पीडा , अस्थिरता , जीवन-दर्शन, मायाप्रेम आदि भावले ओतप्रोत रचनाहरू वाचन गर्दै विजयादशमीको शुभकामना आदानप्रदान गरेका थिए ।
कोरिया च्याप्टर अध्यक्ष प्रमोद सारंगको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा अनेसास बोर्ड अफ ट्रष्टी अध्यक्ष गीता खत्रीको प्रमुख आतिथ्य रहेको थियो । प्रमुख अतिथि खत्रीले स्रष्टाहरूको रचना र वाचनको प्रशंसा गर्दै आयोजक च्याप्टरको भाषा- साहित्यप्रतिको योगदान स्मरण गरेकी थिईन् । च्याप्टरका उपाध्यक्ष डी.आर. न्यौपाने सूर्यले स्वागत मन्त्वय राख्दै कार्यक्रमको औचित्यको बारेमा जानकारीको दिएका थिए । आयोजक च्याप्टरले स्रष्टाहरूलाई साधनाको कदर स्वरूप सम्मान -पत्र वितरण गरिएको थियो । कार्यक्रम डी.आर. न्यौपाने सूर्य र लोकराज न्यौपानेले सन्चालन गरेका थिए ।
नेपाली भाषासाहित्य, संगीत र कलाको विकास, विस्तार र उन्नयनमा अनवरत सक्रिय संस्था कोरिया च्याप्टरले स्रष्टा सम्मान, भानु जयन्ती, लक्ष्मी जयन्ती, मोती जयन्तीलगायत विभिन्न कविता प्रतियोगिताहरू र सम्मेलनहरू गर्दै आएको छ भने लामो समयदेखि काव्य-सुधा नामक विश्वव्यापी साप्ताहिक रचना वाचन कार्यक्रम सम्पन्न गर्दै आइरहेको छ ।