नेपाल मुक्तक प्रतिष्ठान कोरियाको शुभकामना आदानप्रदान, सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

कार्तिक १९, शुक्रबार । सउल, कोरिया
पछिल्लो समय नेपाली मुक्तकको विकास र उन्नयनमा क्रियाशील संस्था नेपाल मुक्तक प्रतिष्ठान कोरियाले लक्ष्मीपूजाको अवसर पारेर शुभकामना आदानप्रदान, मुक्तक प्रतिभा सम्मान तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न छ ।
उक्त कार्यक्रमका संयोजक दिपकराजले भन्नुभयो “हामीले अहिलेसम्मकै सबैभन्दा बढी पुरस्कार राशिको मुक्तक प्रतियोगिता मात्रै सञ्चालन गरेनौं, सरकारी तवरबाट गर्न नसकेको ‘प्रखर युवा मुक्तक प्रतिभा सम्मान’ पनि दिन सुरु गरेका छौं । यसबाट मुक्तकमा साधनारत साधकलाई थप हौसला मिल्ने कुरामा विश्वस्त छौं ।” संस्थाले सम्मानका लागि छनोटमा परेका ५ नामहरूबाट उहाँहरूले गर्नुभएको कामको मूल्याङ्कन गरी रामजीप्रसाद आचार्यलाई सो कार्यक्रममा सम्मानित गरिएको थियो । प्रतिष्ठानद्वारा गत असोज महिनामा सम्पन्न गरेको अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशिको पुरस्कार पनि कार्यक्रममा वितरण गरिएको थियो। जसमा प्रथम हुने मुक्तककार अर्घाखाँचीका पदम पाण्डेलेले नगद रु ३३,३३३ र प्रमाणपत्र, द्वितीय हुने मुक्तककार कास्कीका मदन घिमिरेले नगद रु २२,२२२ र प्रमाणपत्र अनि तृतीय हुने मुक्तककार गुल्मीकी दीक्षा भण्डारीले नगद रु ११,१११ र प्रमाणपत्र प्राप्त गर्न सफल भए । त्यसैगरी तीन फरक फरक विषयमा उत्कृष्ट मुक्तक लेख्ने मुक्तककारहरू अजय राई, प्रकाश कुइँकेल र कल्पना काफ्लेहरूलाई नगद रु २/२ हजार र प्रमाणपत्र वितरण गरिएको आयोजकले जनाएको छ ।
प्रतिष्ठानका अध्यक्ष आर एन को अध्यक्षतामा र वरिष्ठ लेखक तथा साहित्यकार प्राज्ञ सरुभक्त श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न्न उक्त कार्यक्रममा विशेष अतिथिका रूपमा मुक्तक प्रतियोगिताका मूल निर्णायक आनन्द श्रेष्ठ र रामचन्द्र शर्मा रहनुभएको थियो । कार्यक्रममा युवा मुक्तक अभियन्ता रामजीप्रसाद आचार्यलाई ‘प्रखर युवा मुक्तक प्रतिभा सम्मान – २०७८’ स्वरूप (नगद रु ११,१११ र सम्मानपत्र) बाट सम्मान अर्पण गरिएको थियो। सर्वाधिक पुरस्कार राशिको विश्वव्यापी खुला मुक्तक प्रतियोगिता-२०७८ मा विजयी र विषयगत उत्कृष्ट मुक्तक लेख्ने मुक्तककारहरू अतिथिको रूपमा उपस्थित उक्त कार्यक्रमको संयोजन संस्थाका कार्यसमिति सदस्य दिपकराजले र सञ्चालन अर्का सदस्य ह्यारी बोण्डले गरेका थिए ।
कार्यक्रममा संयोजक दिपकराजको कार्यक्रमबारे जानकारी एवम् स्वागत मन्तव्यपछि सम्मानित व्यक्तित्व रामजी प्रसाद आचार्यको सङ्क्षिप्त जीवनी उद्घोषकले पढेर सुनाएका थिए । त्यसपछि सम्मानित व्यक्तित्व रामजी प्रसाद आचार्य, रामचन्द्र शर्मा, आनन्द श्रेष्ठ लगायतले आ-आफ्नो मन्तव्य राखेका थिए । कार्यक्रमको बिचमा विजयी मुक्तककारहरूको छोटो भनाइ सहितका मुक्तकहरू पनि प्रस्तुत गरिएको थियो । प्रमुख अतिथिका रूपमा उपस्थित प्राज्ञ सरुभक्त श्रेष्ठले नेपाल मुक्तक प्रतिष्ठान कोरियाले गरेका अनुकरणीय कामहरू आफूले नियाल्दै आएको र यस्ता कार्यहरू निरन्तर रूपमा गरिरहन आवश्यक रहेको कुरामा जोड दिनुभएको थियो । स्रष्टा सम्मानको तथा पुरस्कार स्थापना प्रशंसनीय काम भएको बताउँदै मुक्तक प्रतियोगिता र सम्मानका कार्यक्रमले नेपाली मुक्तकको विकासमा ठूलो टेवा पुगेको कुरामा जोड दिनुभएको थियो ।
अन्तमा कार्यक्रम अध्यक्षता गरिरहेका संस्थाका अध्यक्ष आर एन ले मुक्तकको विकासमा सबैको साथ र सहयोग प्राप्त भइरहेको र यस्तो साथ सधैं पाइरहेमा थप मुक्तकसम्बन्धी नयाँ कार्यक्रम ल्याउन संस्थालाई कुरामा जोड दिएका थिए । शुभकामना दिएर कार्यक्रम विसर्जन गरेका थिए ।