कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख


अलबिदा आमा

-बाला राई

निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको रहेछ । मनमा चिसो पस्यो । कतै आमालाई पो केही भयो कि ? नभन्दै बहिनीहरुले फेसबुक म्यासेन्जरबाट भिडियो कल गरेका रहेछन् । नेपालमा त अहिले मध्ये रात नै छ पक्कै आमालाई केही, भयो एकैचोटी मनमा धेरै कुराहरु खेल्न थाल्यो । मुटुको धड्कन एक्कासी बढ्न थाल्यो । काँपीरहेको हातले फोन उठाएँ । बेहोसीमा लठ्ठी सकेकी मेरी आमालाई बहिनी र भदैनीले अडेस लगाएर जबरजस्ती बिउँझाइ रहेका थिए । “माइजु आँखा खोल्नुस् ऊ दिदीलाई हेर्नुस् त दिदीलाई देख्नुभयो ?” मैंले आमा भनेर चर्को स्वरमा बोलाएँ । आमाले मेरो स्वर सुने होलान् आँखा खोल्ने प्रयास गरे, बल गरेर बोल्न खोजे तर बोली निस्केन । रोए जस्तो गरे हाँसे जस्तो गरे । धेरै कुरा भन्न खोजे झैं गरे । अनि एकपटक आँखा खोलेर कसैलाई खोजे जस्तो गरे मैंले छेउमा सुतिरहेकी छोरीलाई दोखाएँ । लाग्यो आमाले मसँग बिदा माग्दैछन् ।

मैंले आमालाई माफी माग्दै सम्झाउन थालें, “आमा, मलाई माफ गर्नुस् है । यस्तो बेला म तपाइको साथमा हुनुपर्ने हो के गर्नु समय र परिस्थितिले म तपाइको नजिक आउन सकिन । तपाईले धेरै दुख पाउनुभयो । मन नदुखाउनुस्, अब तपाईको रोगसँग छुटकारा पाउने दिन आयो तपाइले मुक्ति पाउनुस् । दुख नमानी खुशीसाथ जानुस् । तपाई त अब हाम्रो पितृ हुनुभयो, भगवान हुनुभयो, हामीलाई आर्शिवाद दिनुस् ।“ आमा मेरो कुरामा स्वीकृति जनाए झैं टाउको हल्लाउने प्रयास गर्नुहुन्थ्यो । मनमा झन्झन गाँठो पर्दै गयो । आमाको त्यो कष्ठ हेर्न सकिरहेको थिइन । आमाले एकपटक सुरिलो र तिखो स्वरमा “नानी” भनेर बोलाउनुभयो । त्यहि बोली मेरो लागि अन्तिम बोली बन्यो ।

मैले आमालाई हेर्न सकिन फोन काटेर चिच्याउन थालें । म रोएको आवाजले छोरी पनि ब्युझियो । के भयो आमा ? किन यति बिहानै रुनुभएको ? प्रतिउत्तरमा आँसु मात्र झरिरहे । बोजुलाई सम्झेर रुनु भएको हो ? बोजुलाई केही हुन्न आमा नरुनुस् नौ वर्षकी सानी छोरी मलाई सम्झाउन खोज्दै थियो । छोरीलाई हेरें अनि आँसु पुछ्दै उठेर बाथरुम गएर नुहाएँ । दियो र कलस सफा गरेर आमाको नाममा बत्ती बालें ।

“यो जन्ममा जति दुख कष्ट भोग्नु भयो । अब आमा, तपाईको आत्माले शान्ति पाओस् बाँचुन्जेल धेरै दुख कष्ट भोगनु भयो । त्यत्रो ठुलो रोगसँग लड्नुभयो । पिंडाबाट मुक्ति पाउदै हुनुहुन्छ । ईश्वरको साथमा लिन हुनुहोस् अब तपाईलाई कहिल्यै कष्ट हुने छैन । कुनै विकसित मुलुकमा, राम्रो परिवारमा फेरी जन्म लिनुहोस् । त्यो जन्ममा तपाइलाई दुःख, पिँडा, अभाव र एक्लोपनको महशुस कहिल्यै नहोस् । आमा बुबा, श्रीमान्, छोराछोरीको माया पाउनुस्”, भन्दै प्राथना गरें । आमाले पहिल्यै भन्नुभएको थियो, “म मरेपछि अरु केही गर्नु पर्दैन एक हप्तासम्म ‘आमाको आत्माले शान्ति पाओस्’ भनेर बिहान बेलुकी दियोमा ठाडो पारेर बत्ती बालिदिनु । जुठो पनि तीनदिन मात्र बार्नु, विशेष नुन तेल र दुध चाँही नखानु ।“मैंले आमाले भने अनुसार नै गरें ।

आमाले यो संसार त्यागनु अघिल्लो रातभरी नै मलाई बोलाइराख्नु भयो रे । सायद, मलाई खोज्नु भएको होला । बिहानीपख मसँग भिडियो च्याटमा बोले पछि मलाई बोलाउन छाड्नु भयो रे, पछि बहिनीले सुनाइन् । मलाई काममा जानु थियो । आमाको बाक्य रहिसके पनि सास गएको थिएन । त्यसैले खान मन नलागे पनि थोरै खाना खाएर काममा गएँ । बहिनीले म्यासेन्जरमा आमाले भनिराखेका कुराहरु, हिसावकिताव, राखन धारन सम्वन्धि कुराहरु बताइरह्यो । तीन घण्टा काम गरेर घर आएँ । श्रीमान र छोरीको लागि बेलुकीको खाना बनाउने तयारी गर्दै थिएँ । ‘इन्टरनेशनल कलिङ’ भन्दै फोनको घण्टी बज्न थाल्यो । मन फेरी बेचैन हुन थाल्यो । फोन हेरें नेपालबाट बुबाको रहेछ । “छोरी, आमाले बिदा लिनु भयो नरुनु है मन बुझाउनु । हामी यो संसारमा आए पछि ढिलो छिटो एकदिन जानै पर्छ यो संसारकै नियम हो । जुवाइ र नातिनीलाई अहिले नभन्नु बेलुकीको खाना दिएर मात्र सुनाउनु ।“ म केही बोल्न सकिन फोन काटें । थचक्क ढोकैमा बसेर फेरी डाँको छाडेर रुन थालें । छोरी पनि मसँगै टाँसिएर रुन थालि ।

दुई वर्षदेखि ठुलो आन्द्राको क्यान्सरले थलिएकी मेरी आमालाई चार महिना अघि नेपाल गएर भेटेर आएको थिएँ । आमाको त्यो पिँडा, दुखाइ देख्दा रोगसँग छिटै मुक्ति पाए हुन्थ्यो जस्तो लाग्थ्यो । म फर्केपछि झन साह्रो भएर अस्पतालमै राखेकोले दिनहुँ जसो भिडियो कलमा कुरा हुन्थ्यो । आमा मलाई सँधै सम्झाउनुहुन्थ्यो, “मेरो पिर चिन्ता एउटै नलिनु है आफ्नो परिवार हेर्नु छोरीको राम्रो हेरविचार गर्नु । म त अब अस्ताउन लागेको जुन, त्यहिमाथि रोगले खाइसकेको मान्छे कति दिन, कति समय दुःख पाउनु लेखेको छ । दिन नपुगि काल नि नआउने रहेछ । अलि दुखाइ सहन सक्दिन त्यति मात्र हो तर मेरो पटक्कै चिन्ता नगर्नु । यहाँ मलाई हेर्ने मान्छेहरु धेरै छन् । हाम्रो भेट भइहाल्यो म खुशी छु म मरिहाले पनि त्यति टाढाबाट आउनुपर्दैन । पछि जहिले सम्भव हुन्छ एकडेढ बर्षमा त्यो बेला आउनु ।“ “ल ल हुन्छ, अहिले त मैंले चाहेर पनि आउन सक्दिन आमा । गाह्रो छ, तपाईलाई थाहै छ झनझन् कोरोनाको अरु रुपहरु फैलिरहेको छ । नेपालमा झन् धेरै गाह्रो छ अहिले त प्लेन पनि त्यति चल्दैन,” म आमालाई कोरोनाको कारण देखाएर आफ्नो बाध्यता बताइराख्थें । आमाले पनि मन बुझाउन सकुन भनेर । “छोरी सानै छे मलाई भन्दा उसलाई तेरो आवश्यकता छ छोरीको राम्रो ख्याल गर्नु धेरै पढाउनु । मेरो आर्शिवाद सँधै तिमीहरुलाई छ ।“ म थलिएकी आमालाई छाडेर कोरिया फर्किने बेला आमाले भनेकी थिइन् । अब आमालाई फेरी भेट्न पाउदिन भन्ने लागिसकेको थियो । त्यसैले म मानसिक रुपमै तयार भएर मन बुझाईरहेकी थिएँ ।

कोरोनाको महामारी मात्र नफैलिएको भए पनि त म जसरी भए पनि नेपाल जान्थें । आमालाई पनि कति धेरै भेट्न मन थियो होला आफ्नो अन्तिम अवस्थामा । आमाको भएको सन्तान म एक्लै त थिएँ नि म पराइघर गए पनि परदेशममा भए पनि आमाको काजकिरीया गर्ने कर्तब्य मेरो थियो । तर समय र परिस्थितिले साथ दिएन । मलाई यहि कुराले पिरोलिराख्छ । मेरो बाध्यतामा मलम लगाउदै बहिनीहरुले सम्झाइ राख्थे, “माइजुले कुनै गुनासो गर्नु भको छैन दिदी । एकदम सन्तुष्ट हुनुहुन्छ । तपाई कोरिया गएर माइजुको उपचार गर्न सकियो तपाई नेपालमै भएको भए माइजुको उपचार गर्न नसकेर के हालत हुन्थ्यो । त्यसैले दिदीले पटक्कै पछुतो नमान्नुस् । माइजुको सबै चाहना पुरा भयो । माइजुले आफ्नै हातले लाख बत्ती बाल्ने चाहना थियो त्यो मात्र पुरा हुन सकेन अब माइजुको बर्षदिनेमा तपाई आएर पुरा गरिदिनुस् ।“

“ पहिला जे जस्तो भए पनि माइजु बिरामी भएदेखि नै मामा आएर माइजुको खुट्टामा ढोगेर माफी माग्नुभयो । अस्पतालमा पनि आइराख्नु हुन्थ्यो । मामाकै साथमा माइजुको सास गयो । मामासँग छोडपत्र नगरेको र माइजु मामाकै सतमा बस्नुभएकोले मामाले सिन्दूर लाइदिएर दागबत्ती दिएर अन्तिम संस्कार राम्रोसँग गर्नुभयो । मामा भएकोले तपाई नआए पनि केही फरक परेन । तपाइलाई कसैले केही भन्ने मौका मामाले दिनुभएन । त्यागेको श्रीमतीलाई अन्तिममा भए पनि कर्म गरिदिएर मामाले पुण्य कमाउनु भयो । मलामी आउने सबैले मामाको प्रशंसा गरे ।“ बहिनीको कुराले मेरो मन धेरै हलुका भयो । आमाको अन्तिम संस्कारमा पुग्न नसकेकोमा त्यति पछुतो लागेन । सायद आमाले पनि बुबालाई मनदेखि नै माफी दिनुभयो होला ।

दश वर्ष भएछ मैंले आमालाई छाडेर पर्देशिएको । त्यो अवधिमा आमा दुई पटक कोरिया आउनुभयो म तीन पटक नेपाल गएँ । फोनमा कुरा भइराख्थ्यो । तर यो पटक आमाले मलाई कहिल्यै नभेट्ने गरी सदासदाको लागि छाडेर जानुभयो । मेरो मुखबाट ‘आमा’ भन्ने शब्द अब कहिल्यै निस्कने छैन । म कसलाई आमा भनुँ ? अब म कसलाई भेट्न मेरो जन्मभूमि जाउँ ? म कसको लागि पार्ट टाइम काम गरु ? आमाबाट टाढा भए पनि कुनै दिन भेटिन्छ भन्ने हुन्थ्यो । तर अब त त्यो आश पनि रहेन । आमाको याद आउदा आमालाई फोन गरेर स्वर मात्र सुन्न पाउँदा पनि मनमा कति धेरै सन्तुष्टि मिल्थ्यो । अब त आमाको स्वर समेत सुन्न पाउदिन । साँच्चिकै आमालाई गुमाउनुको पिँडा अहिले महशुस गर्दैछु । यो सबै सपना भइदिए हुन्थ्यो जस्तो लाग्छ ।

दिनमा मन बहलिए पनि रात पर्दै गए पछि मन अतालिन थाल्छ । छटपटिमै रात बित्छ । सास थुनिएझैं लाग्छ । मध्येरातमा उठेर कौशीमा जान्छु अनि क्षितिजमा चिहाउँछु । चिसो सिरेटोको झोंकासँगै आमाले स्पर्श गरे झैं लाग्छ । अनि कता कता ‘नानी’ भनेर बोलाएको आवाज कानमा ठोकिन्छ । झसंग हुन्छु । सायद, आमा मेरै वरिपरि होलिन् मलाई सम्झाइरहेकी होलिन् मैंले पो आमालाई देख्न सक्दिन, सुन्न सक्दिन । यताउती हेर्छु, सुनसान छन् बस्तीहरु, अन्धकार छन् रातहरु । टाउको उठाएर आकाशतिर हेर्छु, ताराहरु झिलमिल गर्दै चम्किरहेका छन् । ती मध्ये एउटा तारा मेरी आमा होलिन् सम्झिदै एक टकले हेरिरहन्छु । धर्तीमा बिस्तारै उज्यालोको किरण खस्दै जान्छ आकाशमा ताराहरु हराउदै जान्छन् । तीनै ताराहरुसँगै मेरी आमा पनि बिलाउदै जान्छिन् अनि स्मृति बनेर मनमा आइरहन्छिन् हरपल हरक्षण ।

विचरी मेरी आमा, ७४ वर्षको उमेरसम्म कहिल्यै मनमा खुशी, सुख, शान्ति र सन्तोषको सास फेर्न पाइनन् । जन्मिदै अविभावक गुमाइन् । टुहुरीलाई कस्ले माया गर्छ र ! बेबारिसे भएकी मेरी आमा अर्काको घरमा दुःख कष्ट सहदै हुर्किन् । छोरी मान्छे पढ्यो भने बोक्सी हुन्छ भन्ने त्यो बेलाको समाजमा जन्मिएकी मेरी आमाको बाल्यकाल घाँस दाउरा मेलापात र गोठालो गर्दै बित्यो । विवाहपछि पनि श्रीमानको मायाबाट बञ्चित हुन पुगिन् । विवाह गरेको केही वर्ष मै श्रीमान घर परिवार त्यागेर परदेशिएका थिए । नाबालक छोरी र बृद्धा सासुको स्याहारसुसार गर्दै आफ्नो जवानी, रहर र खुशीहरुलाई तिलाञ्जली दिएर समाजको अगाडि इज्जत जोगाएर शिर ठाडो पारेर बाँचिरहिन् । सारा जिन्दगी दुःख कष्ट र अभावहरुसँगै बिताएकी मेरी आमालाई बुढेसकालमा भएको एउटा सन्तानको सहारा पनि पाउन नसक्दा कति मनमा पिँडा हुन्थ्यो होला ।

भाग्यको खेल पनि खै कस्तो कस्तो । उमेर भइन्जेल पनि रोगले छाडेन बुढेसकालमा क्यान्सरले च्याप्यो । मर्ने बेलामा पनि आरामले मर्न सकिनन् । “उहिले खान पाइएन अहिले खान मिलेन । उमेर हुँदै र निरोगी हुँदै खान मन लागेको खाइराख्नु, गर्न मन लागेको गरिराख्नु, घुम्न मन लागेको ठाउँ घुमिराख्नु”, आमा कहिलेकाँही हामीलाई भन्ने गर्थिन् । “म कति पापिनी हरेछु, यति दुःख कष्ट भोगेर पनि सास जान सकेन । मैंले कुन जन्ममा के पाप गरेको थिएँ मलाई किन यति लामो सजाय दिनुहुन्छ भगवान । कि मेरो सास चट्ट छिनाइदेउ कि जाती गराइदेउ”, आमा बारम्बार यस्तै के के फलाक्दै छटपटाउथिन् । उनको पिँडा हामीले महशुस गर्न सक्थ्यौं तर बाँड्न सक्दैन थियौं । सन्तान घरभरी हुने, धनसम्पक्ति प्रशस्त हुनेखानेहरुलाई केही रोगले भेट्दैन, जसको बिरामी हुँदा पानी खुवाउने मान्छे सम्म हुन्न उसैलाई नै अनेक रोगले भेट्नु पर्ने । आमाको दर्दनाक स्थिति देखेर मनमनै ईश्वरलाई गाली गर्दै भन्थें, “हे ईश्वर मेरी आमाले कुन जन्ममा के पाप गरेकी थिइन् यो जन्ममा यत्रो सजाए दिदैछौ । कि त आमालाई रोगबाट मुक्ति देऊ कि त जिन्दगीबाटै मुक्ति देऊ ।“

मैंले सोचेको पनि थिएन डाँडामाथिको जून भइसकेकी मेरी आमालाई एक्लै छाडेर यति टाढा आइन्छ भनेर । एसएलसी दिएपछि गाउँमा आमालाई एक्लै छाडेर शहर पसें । फेरी शहरमा आमालाई एक्लै छाडेर परदेशिएँ । आमाले दुःख कष्ट भोगेर मलाई हुर्काइन् बढाइन् आफ्नो खुट्टामा उभिने बनाइन् । पखेटा पलाईसके पनि आफ्नै जन्म दिने आमा, जन्मभूमि सबै त्यागेर क्षितिजपारी बिलाएँ । कोरोनाले गर्दा आमाको अन्तिम अवस्थामा पनि नेपाल जान सकिन । आमाले बोल्न सक्ने भइन्जेल कोरोनाका कारण देखाउनै आमाको मन बुझाइरहन्थें । आमा मन बुझाउदै भन्थिन्, “आउनु पर्दैन मेरो चिन्ता नगर । मलाई हेर्ने आफन्तहरु छन् । सबैलाई दुःख दिएँ मरिजान पाए हुन्थ्यो नि भने जस्तो नहुने रछ ।“

नौ वर्ष सासुको स्याहारसुसार गर्दै बित्यो । सासुकै कारण मैंले आमालाई कोरियामा सँगैं राख्न सकिन । सासु बितेपछि आमालाई यतै ल्याएर राखौंला भन्ने सोच थियो । तर सासु बितेको एक वर्ष मै आमाले पनि यो संसार छाडेर गइन् । मैंले आमालाई पैसा त दिन सकें तर साथ, खुशी र सन्तुष्टि दिन सकिन् । वास्तवमा भन्ने हो भने म आफ्नो खुट्टामा उभिन सक्ने भएपछि मैंले आमाको मन धेरै दुखाएको छु । मेरो आमाले पढेको छैन, केही जान्दैन बुझदैन भनेर आमाप्रति जाग्ने गरेको घृणा वा लाज, आमासँग झर्किने गरेको ती पलहरु जब म आमा बनें, त्यसपछि मात्र महशुस भयो । अहिले पछुतो लाग्छ तर प्रायश्चित गर्ने मौका गुमिसक्यो । अतितलाई सम्झेर दुखित हुनु र पश्चातापको ज्वालामा जल्नु बाहेक अर्को विकल्प छैन । म ईश्वरसँग एउटै प्रार्थना गर्छु, “मेरो आमाको आत्मालाई शान्ति मिलोस् ।“

नोट:  सउलको सुकमेन महिला विश्वविध्यालय अन्तरगत एसियन महिला अध्ययन अनुसन्धान विभागद्धारा आयोजित कोरियनसंग विवाह गरेकी विदेशी महिलाहरुवीच कोरियन जीवन यापनक्रममा भोगेका अनुभुतीहरु बारे सम्पन्न १४ औ            निबन्ध प्रतियोगितामा उत्कृष्ठ हुन सफल बाला राईको लेख ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • दक्षिण कोरियामा “तमू ल्होसार २०८१” आउँदो जनवरी ५ मा मनाईने
  • स्याङ्जा एलादीमा हुने “चौथो वार्षिकोत्सव तथा शुक्रबारे मेला २०८१” को तयारी अन्तिम चरणमा
  • एनसिसिको सहजिकरणमा सलनालको कार्यक्रम बाँडफाँड, कास्की र खोटाङलाई स्विकृत
  • कोरियाबाट काभ्रे र सिन्धुलीका बाढी प्रभावितलाई तीन लाखको सहयोग
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...