दार्जीलिङको सानो रेल 


दार्जीलिङको नक्साबाट चिया बगान निकालिदिए कस्तो हुन्छ होला ? सानो रेल हटाइदिए कस्तो हुन्छ होला ? यो त ठ्याक्क त्यस्तै हुन्छ होला, जस्तो प्वाँख छुटेपछिको मुजुर हुन्छ । पात झरिसकेपछिको पीपल हुन्छ । एकदम असुहाउँदिलो ! अधुरो ! उराठलाग्दो !
दार्जीलिङ त्यो ठाउँ हो, जसको आधुनिक सभ्यताको धरातल रेलको लिकबाट सुरु भएको छ । यसैले त सानो रेल दार्जीलिङको निम्ति हरथोक हो । दार्जीलिङलाई हेर्न चाहनेहरूका निम्ति अनुहार हो । छाम्न चाहनेहरूका निम्ति मुटु हो ।
दार्जीलिङ सम्झिनासाथ तपाईंको आँखामा केको नक्सा आउँछ ?’ दार्जीलिङ कहिल्यै नगएकाहरूलाई सोध्नुहोस् । सम्भवतः उत्तर पाउनुहुनेछ— ‘चिया र सानो रेल ।’
यस्तो लाग्छ, ‘चिया र सानो रेलबिना दार्जीलिङ दार्जीलिङ नै हुँदैन ।’ कहिलेकाहीँ म सोच्छु, ‘दार्जीलिङको नक्साबाट चिया बगान निकालिदिए कस्तो हुन्छ होला ? सानो रेल हटाइदिए कस्तो हुन्छ होला ?’
यो त ठ्याक्क त्यस्तै हुन्छ होला, जस्तो प्वाँख छुटेपछिको मुजुर हुन्छ । पात झरिसकेपछिको पीपल हुन्छ । एकदम असुहाउँदिलो । एकदम अधुरो । एकदम उराठलाग्दो ।
जुन दार्जीलिङको म कल्पना गर्नै सक्दिनँ ।
हो, दार्जीलिङ त्यो ठाउँ हो, जसको आधुनिक सभ्यताको धरातल नै सानो रेलको लिकबाट सुरु भएको छ । यसैले त सानो रेल दार्जीलिङका निम्ति हरथोक हो । दार्जीलिङलाई हेर्न चाहनेहरूको निम्ति अनुहार हो । छाम्न चाहनेहरूका निम्ति मुटु हो ।

पहिलोचोटि दार्जीलिङ आएको मान्छेको छेउबाट जब धूवाँ उडाउँदै सानो रेल कुदिदिन्छ नि, उसको मनमा एक किसिमको तरंग पैदा गरिदिन्छ । त्यो तरंग त्यस्तै हुन्छ, जस्तो तपाईंलाई सुन्दर कविता पढिसकेपछि हुन्छ । मीठो गीत सुनिसकेपछि हुन्छ । फलामको टुक्राले बनेको सानो रेलमा यत्रो मीठास कहाँबाट थपियो होला ? बुझ्नलाई अलिकति इतिहासको बाटो त हिँड्नैपर्ने हुन्छ ।

कुरा सन् १८२९ तिरको हो, जुन साल पहिलोचोटि दुई ब्रिटिस अधिकारी जीए लोयड र जेडब्लू ग्रान्ट दार्जीलिङ आइपुगेका थिए । यो त्यो समय थियो, जतिखेर दार्जीलिङको जनसङ्ख्या औंलाले गन्न सकिन्थ्यो । मान्छे कम भएर के हुन्छ ? दार्जीलिङ त बेहद सुन्दर थियो । त्यही सुन्दर दार्जीलिङको ठीक अघि हिमाल उभिएको थियो । त्यही हाँसिरहेको हिमाल हेरेर लोयड र ग्रान्टले सोचे, ‘यहाँको मौसम साह्रै राम्रो छ । बिमार हुँदा आएर बस्नलाई राम्रो ठाउँ बन्न सक्नेछ । यसलाई लिन जरूरी छ ।’ ब्रिटिशको मनमा पहिलोचोटि दार्जीलिङप्रतिको मोह यहीँबाट सुरु भएको हुन सक्छ । र, नै १८३५ मा दार्जीलिङको केही थुम्कालाई अंग्रेजले सिक्किमबाट ‘ग्रान्ट’ मा लिए, जसको ठीक चार वर्षपछि दार्जीलिङमा डा. क्याम्बेल आइपुगे । र, चिया खेती सुरु गरे ।

त्यसपछि त चीनबाट ल्याएको चियाको बिरुवा जति सप्रिँदै गयो, उति नै दार्जीलिङको अनुहार पनि बदलिँदै गयो ।

तर, चिया खेती गर्न यो पहाड चढ्नु मान्छेलाई सहज थिएन । टिपेको चियापत्ती लगेर बेच्नु उस्तै गाह्रो थियो । तब त ब्रिटिसले दार्जीलिङमा रेल पुर्‍याउने सपना देख्न थाले ।

रेल पुग्नुअघिको दार्जीलिङ अर्कै थियो । जमाना निकै भयानक थियो । जंगलको घारीबीचबाट गोरु–गाडी हिँड्थ्यो । मान्छे त्यही गोरु–गाडीमा ओहोरदोहोर गर्थे । दार्जीलिङ पुग्न मात्रै गोरु–गाडीलाई पाँच दिन लाग्थ्यो । फर्किन अरू पाँच दिन लाग्थ्यो । त्यसैले जुन चामल किन्दा सिलिगुडीमा टनको ९८ रुपैयाँ पर्थ्यो, त्यही चामलको दाम दार्जीलिङ पुग्दा २३८ रुपैयाँ पर्थ्यो । सामानको दामभन्दा दोब्बर त ओसार्न भाडा नै लाग्थ्यो । यही देखेर नै अंग्रेजहरूले दार्जीलिङमा रेल गुडाउने योजनालाई सिलमोहर लगाइदिए । फ्राङ्लिन प्रिस्टेजले परियोजनाको नक्सा तयार गरे । १८७९ देखि रेलको लिक ओछ्याउने काम सुरु भयो ।

जंगलले भरिएको पहाडमा रेल पुर्‍याउनु सहज थिएन । तैपनि हाम्रा बराजुहरू भित्ता काट्न लागिपरे । उनीहरूले जंगल भुले । बाघ–भालुको डर बिर्सिए । दिन–रात गरेर काम गरिरहे । ढुंगा फोरिरहे । काठको लिक ओछ्याइरहे ।

तर, सुकुनाबाट माथि पुगेपछि नयाँ समस्या थपियो । रेलको लिक भीरको टुप्पामा पुगेर टुङ्गियो । अघि जाने ठाउँमा पहरा मात्रै भेटियो ।

अब रेलको लिक अघि जान नसक्ने नै हो त ? बाटो टुङ्गिने नै भयो त ? अंग्रेजहरू हैरान भए । मजदुरहरू अन्योलमा परे । कामको देखरेख गर्न खटिएका अभियन्ता हर्बट रमसे त यति निराश भए, तिनले इंग्ल्यान्ड फर्किने दिन सम्झिन थाले । अनि घरमा स्वास्नीलाई चिठी लेखे, ‘अब दार्जीलिङमा रेल पुग्ने सपना छोडिदिए हुन्छ । यो भीरबाट रेलको लिक अघि जान सक्दैन ।’

रमसेकी स्वास्नीले लेखिन्, ‘त्यसोभए केही दिन फर्केर इङ्ल्यान्ड आउनु नि त ! अनि फेरि अघि जानेबारे सोच्नु ।’

फर्केर आउनु अनि फेरि अघि जानेबारे सोच्नु ? अचानक रमसेको दिमाग घुम्यो— ‘होइन । अघि बढ्नका निम्ति कहिलेकहीँ पछि पनि सर्नुपर्ने रहेछ ।’

अनि ?

उनले लिकलाई ‘रिभर्स’ गरेर पछि ल्याए । त्यसपछि फेरि अघि लगे । नयाँ स्टाइलको लिक बनियो, जुन लिकलाई ‘जेड रिभर्स’ भनियो । जहाँ रेलको लिक अंग्रेजी अक्षरको जेडजस्तो देखिन्छ, जुन लिकमा केहीबेरलाई रेल पनि पछि हिँड्छ । र, फेरि अघि बढ्छ । बल्ल यसरी रेलको लिक पहाड चढ्यो । १८८१ मा सानो रेल दार्जीलिङ आइपुग्यो ।

हरेकको जन्मदिन वर्षमा एकचोटि आउँछ । तर, सानो रेलको जन्मदिन वर्षमा तीनचोटि आउँछ । किनकि यो रेलको लिक २० मार्च १८८० मा सिलिगुडीबाट तीनधारे पुग्यो । त्यसपछि २३ अगस्ट १८८० मा तीनधारेदेखि खरसाङ पुग्यो । अनि, बल्ल ४ जुलाई १८८१ मा दार्जीलिङ आइपुग्यो । त्यो जमानामा २८ लाख रुपैयाँको लागतमा बनिएको रेलको यही लिक भएर नै खासमा दार्जीलिङले सभ्यताको नयाँ यात्रा हिँड्न सुरु गर्‍यो ।

जब सानो रेल दार्जीलिङ आयो, तब दार्जीलिङको स्वरूप बदलियो । यातायातको मुख्य साधन नै रेल बन्न पुग्यो । मान्छेले रेलमा खाद्य सामग्रीहरू बोक्न थाले । दार्जीलिङको चियापत्ती रेलबाट नै सिलिगुडी झार्न थाले । पहाडको सुन्तला, अदुवा, रिम्बिकको आलु सब रेलबाटै सिलिगुडी लगिन थाले । हरेक मान्छे यही रेल भएर ओहोरदोहोर गर्न लागे ।

त्यो बेला रेलको लिक एकदम खुला थियो । सानो रेलबाट मान्छे केवल ६ घण्टामा नै सिलिगुडी आइपुग्थे । अहिलेजस्तो गाडीले रेल रोकिँदैनथ्यो । मान्छेले रेललाई कहिल्यै झन्झट दिँदैन थिए । त्यसैले त सानो रेल दार्जीलिङको जीवनरेखा नै बनेको थियो ।

१८८० मा जब ब्रिटिस इन्डियाका पहिलो भाइसरोय लर्ड लिटन पहाड आए, उनी रेलबाट नै आए । १९२५ मा जब महात्मा गान्धी दार्जीलिङ आइपुगे, उनी यही सानो रेलबाट नै आए । त्यसपछि स्वतन्त्र सेनानीहरूसँग बैठक गरे । चर्खा चलाए । पाँच दिनसम्म पहाड बसेर फर्किए, त्यही रेलैमा ।

दार्जीलिङ आएका गान्धीजीको एउटा फोटो आज पनि गुगलमा भेट्न सकिन्छ, जहाँ लौरो टेक्दै हिँड्ने महात्मालाई रेलको लिकमा मुस्कुराइरहेको देख्न सकिन्छ ।

गान्धी मात्रै होइन, नोबेल पुरस्कार विजेता मदर टेरेसा पनि यही रेलबाट नै दार्जीलिङ आइपुगेकी थिइन् । त्यतिखेरसम्म मदर टेरेसा सामान्य नन मात्रै थिइन् । युगोस्लाभियाबाट कलकत्ता आएकी उनी मिसनरी स्कुलमा भूगोल विषय पढाउँथिन् । जब १९४६ मा वार्षिक रिट्रिटका निम्ति उनी दार्जीलिङ आइन् अनि सानो रेलबाट उत्रिएर हप्ता दिन बिताइन्, तब उनले जीवनको नयाँ यात्रा सुरु गर्ने निर्णय लिइन्, जसलाई उनले आफ्नै भाषामा परिभाषित गरेकी छन् ‘कल विथिन अ कल’ भनेर । त्यसपछि त कलकत्ता फर्केर उनले मिसनरिज अफ च्यारिटी सुरु गरेकी थिइन् ।

यसो भनौं न, उनको जीवनको माइलखुट्टी पनि सानो रेलको यात्रापछि नै तय भएको थियो ।

एउटा जमाना यस्तो पनि थियो, जतिबेला दार्जीलिङका मान्छे जब कलकत्ता जान सानो रेल चढ्थे, तब आफन्तले फूलमाला नै लगाइदिन्थे । किनकि, उनीहरू घर छोडेर टाढा गइरहेका हुन्थे । जब कोही फौजी छुट्टीमा आउँथे, तब रेलमा चढेर रवाफसँग गीत गाइरहेका हुन्थे । फेरि ड्युटी फर्किंदा आँसुसरि भएर त्यही सानो रेल चढिरहेका हुन्थे । त्योबेला सानो रेल चढ्नु भनेको अहिलेको हवाईजहाज चढ्नुभन्दा कता हो कता ठूलो कुरा थियो ।

१९४० को दशकमा जब दोस्रो विश्वयुद्ध सुरु भयो, तब ब्रिटिसले गोर्खा जवानलाई सानो रेलबाट नै युद्धभूमि लिएर गए । उनीहरू जलपहाडमा सेना भर्ती गराउँथे, भर्ती भएका ‘रँङरुट’ लाई लाहोर लिएर जान्थे । त्यो समय नै बेग्लै थियो । भारत–पाकिस्तान केही थिएन । हर ठाउँ अंग्रेजकै शासन चल्थ्यो । दोस्रो विश्वयुद्ध जब चरममा पुग्यो, ब्रिटिसले ठूलै संख्यामा गोर्खा फौजलाई प्रशिक्षण दिन लाहोर लिएर जान थाले । रेलमा चढेर फौजी ट्रेनिङका निम्ति लाहोर जानेहरू नै बिस्तारै लाहुरे बन्न थाले ।

फौजीलाई लाहुरे बनाउनमा पनि सानो रेलको ठूलै हात छ ।

दार्जीलिङ रेलको इतिहास अलग छ । गौरव अलग छ । त्यही भएर त १९९९ मा यसले युनेस्कोबाट विश्व धरोहरको मान्यता पायो । दार्जीलिङ रेलले विश्व धरोहरको मान्यता पाउँदै गर्दा मचाहिँ प्राइमेरीमा त्यही रेलको कविता रटिरहेको थिएँ—

दार्जीलिङको सानो रेल,

छुट्नलाई अब तयार छ ।

हो । मैले त्यही कविताको किताबमा नै दार्जीलिङ रेलको नक्सा पहिलोचोटि देखेको हुँ । त्यो देखेको तीन सालपछिको कुरा त हो, मैले पहिलोचोटि सानो रेल कुदिरहेको देखेँ– भिडियोमा ।

त्यो डिसेम्बरको महिना थियो । जाडोको महिनाबीच गाउँमा भिडियो देखाउन आगन्तुकहरू आइपुगेका थिए, डोकोमा टीभी र जेनेरेटर लिएर । तब त हामीले पहिलोचोटि फिल्म हेर्न पाएका थियौं । त्यही फिल्ममा मैले सानो रेल कुदिररहेको देखेँ । त्यो फिल्म तुलसी घिमिरेको ‘लाहुरे’ थियो ।

फिल्मको सानो रेलमा चढेर जाने लाहुरेहरूलाई देखेपछि नै हो, मेरो मनमा अचानक नयाँ सपना पलायो— फौजी बन्ने । तर, मान्छेका हरेक सपना कहाँ पूरा हुन्छ र, होइन ? जीवनका अधिकांश सपना त सानो रेलले छोडेको धूवाँजस्तै हुने रहेछ, जो देख्दादेख्दै हावामा मिसिएर कत्तै हराइजान्छ । मेरो फौजी बन्ने सपना पनि त्यस्तै बन्यो ।

तर, आज पनि जब बलिउडका फिल्मतिर सानो रेल दगुरिरहेको देख्छु नि, बेलगाम कुदिरहेको जीवनसँग म केहीक्षण आराम माग्छु । र, छुटेका सपनाका सम्झनाहरूसँग भलाकुसारी गरिरहन्छु ।

हो । बलिउडमा दर्जनौं यस्ता हिन्दी फिल्म बनिएका छन्, जहाँ सानो रेल कुदेका छन् । रेलको छुकछुके आवाजसँगै गीत गुनगुनाइएका छन् । जसलाई हेरेपछि हामी अनुभव गर्न सक्छौं, ‘फिल्ममा सानो रेल मात्रै छैन । अलिकति दार्जीलिङ पनि छ । अलिकति हाम्रो सम्झना पनि छ ।’

रणवीर कपूरको ‘बर्फी’ होस् वा शाहरूख खानको ‘मे हु ना’, जुनैको कुरा गरे पनि सानो रेलसँगै फिल्ममा दार्जीलिङ त थोरै आएकै छ । आराधनाको ‘मेरे सपना की रानी, कब आएगी तू’ को नै कुरा गरौं न ! पाँच दशकअघि छाँयाङ्कन गरिएको यो गीत यति चर्चित बन्यो कि यसलाई हरेक मान्छेले जीवनमा एकचोटि त गाएकै हुन्छन् । जुन गीत गुनगुनाउँदै बलिउडकै पहिलो सुपरस्टार राजेश खन्ना जब दार्जीलिङको सडकमा दगुर्छन्, लाग्छ उनीसँगै थोरै दार्जीलिङ पनि सुसेली मार्दै हिँडरिहेको छ । ‘राजु बन गया ज्यान्टेलम्यान’ का शाहरूख खानको कुरा गरौं न । उनी जब सानो रेलबाट आफ्नो सपना खोज्न मुम्बई हिँड्छन्, लाग्छ, उनको सपनाको भारी बोकिदिने त यही सानो रेल नै हो । ‘परिणिता’ को ‘कस्तो मज्जा है रेलैमा’ त सुन्नुभएकै होला नि ? जब यो गीत गाउँदै सैफली खान दगुर्छन् नि, लाग्छ, उनको ओठले दोहोर्‍याइरहेको असली धुन त रेलको सिटीबाटै निस्किएका हुन् ।

थाहा छैन, सानो रेल नहुँदो हो त दार्जीलिङ र बलिउडबीचको दूरी कति ठूलो हुने थियो होला ?

हो । सानो रेलको त्यही पुरानो लिक हो, जसले दार्जीलिङलाई फिल्मसँग जोडेको छ । फिल्ममार्फत् विश्वसँग जोडेको छ । तर, विडम्बना कस्तो छ भने जुन रेलले हाम्रो परिचय विश्वसम्म पुर्‍याइदिएको छ, त्यही रेललाई कहिलेकाहीँ हामी आफैँ थुक्दै गरेका हुन्छौं, ‘रेलको लिकले गर्दा गाडी जाम भयो । यसलाई उखालेर फ्याँकिदिए हुन्छ ।’

गाडीलाई रेलले ‘डिस्टर्ब’ गरेको हो कि, रेललाई गाडीले ? अब त हामीले बिर्सिसकेका छौं । किनकि हामीले रेलको इतिहास भुलिसकेका छौं । दार्जीलिङ निर्माणको इतिहासलाई बिर्सिसकेका छौं । अंग्रेज र एङ्लो इन्डियनहरूपछि सानो रेल कुदाउने टिबी छेत्री, पदमलाल प्रधान र करमजित नेवारहरूको त नाम भुलिसकेका छौं ।

खासमा दार्जीलिङको रेलको लिकमा रेल मात्रै दगुर्दैन, हाम्रो इतिहास पनि दगुर्छ । हाम्रो पहिचान पनि दगुर्छ, जसलाई हामीले चटक्कै भुलिदिएका छौं । र, नै त हामी अलग राज्य बनाउने सपना त देख्छौं, तर दार्जीलिङ बनाउने रेलकै स्टेसनमा समेत आगो झोसिदिन पनि आइपुग्छौं ।

तैपनि दार्जीलिङको गरिमा बोकेर सानो रेल त वर्षौंदेखि आफ्नै लिकमा गुडिरहेकै छ । तर, विडम्बनाको कुरा ! अब त्यही लिकमा पनि सत्ताको ‘बुरी नजर’ पर्न थालिसकेको छ । १४० वर्षको यात्रापछि सानो रेल अहिले त्यो मोडमा आइपुगेको छ, जहाँबाट कुनै पनि समय निजीकरणको प्रक्रिया सुरु हुन सक्छ । जुन रेललाई हामी गर्वसँग जोडेर हेर्छौं, त्यही रेललाई सरकारले अब नाफासँग तौलेर हेर्न सुरु गरिसकेको छ । जसलाई हामी इतिहाससँग समेटेर राख्न चाहन्छौं, त्यसैमा उनीहरू राजस्व देख्न थालिसकेका छन् । र, नै त सरकारले सानो रेललाई पब्लिक प्राइभेट पार्टनरसिपको पाइपलाइनमा राखिसकेको छ ।

पहिलोचोटि यो खबर जब दार्जीलिङ आइपुग्यो, विरोधको आवाज त उठ्यो । केही दिनसम्म आन्दोलन पनि भयो । हस्ताक्षर अभियान पनि चल्यो । तर, त्यो अभियान अहिले कहाँ पुग्यो ? त्यो त आन्दोलनकारी आफैंलाई पनि थाहा छैन ।

सायद त्यो अभियान पनि रेलको त्यही धूवाँजस्तै भयो कि ? नत्र अचेल मान्छे किन तर्क राख्न भ्याउँथे, ‘दार्जीलिङ रेल नोक्सानमा चलिरहेको छ । त्यसैले निजीकरण गर्न आवश्यक छ ।’

डेढ सय वर्षअघि दार्जीलिङ रेलको जुन ढाँचा बनियो, त्यो त अब दार्जीलिङको संस्कृतिसँग जोडिइसकेको छ । त्यही हेर्न पर्यटक यहाँ आइपुग्छन् । त्यही ढाँचाको कारण पनि यसले धरोहरको मान्यता पाएको हो । नाफाको कुरा गर्नेहरूलाई दार्जीलिङको संस्कृति र इतिहासको सरोकार होला के त ? होइन, रेलबाट नाफा त चाहियो नि ! त्यो त ठीकै कुरा हो । तर, त्यो नाफाबाट चाहिँ दार्जीलिङ आफैंले के पाउँछ नि फेरि ? निजीकरण भएपछि त त्यो फाइदा मालिकको हुन्छ नि, होइन र ? लौ मालिकले दया देखायो रे ! दार्जीलिङले पनि रेलको मुनाफाको केही प्रतिशत पायो रे ! तर, के त्यो केही प्रतिशत मुनाफा हाम्रो इतिहासभन्दा ठूलो होला र ? विश्वअघि दार्जीलिङ रेलले दिएको पहिचानभन्दा ठूलो होला र ?

(याे लेख कान्तिपुर दैनिककाे काेशेलीमा प्रकाशित भैसकेकाे लेख साभार गरेका हाैं । )

आफ्नो प्रतिक्रिया दिनुहोस |
सम्बन्धित शिर्षकहरु
  • स्याङ्जा परिवारले अगष्ट २० र २१ मा दुई दिने बनभोज कार्यक्रम आयोजना गर्ने
  • छुसकमा “छेजुदो भ्रमण” को आकर्षक प्याकेज
  • मुन्माक एनएफसी र जेछन एनएफसी विचको मैत्रीपूर्ण फूटबल प्रतियोगितासँगै खेलाडी सुनिल राईको विदाई सम्पन्न
  • नेपाल पर्वतारोहण संघका नवनिर्वाचित सदस्यहरु सम्मानित
  • ईपिएस

    उत्पादनमूलक क्षेत्र तर्फ CCVI फाराम भर्ने सम्बन्धि सूचना

    उत्पादनमूलक क्षेत्र तर्फ CCVI फाराम भर्ने सम्बन्धि ...

    २०७९ साउन १२ गते (28 july. 2022) मा कोरिया जाने कामदारहरुको लागि सूचना

    २०७९ साउन १२ गते (28 july. 2022) मा कोरिया जाने कामदारहरुको लागि सूचना । २ सय ४५ जनाको नाम लिस्ट ...

    ५ सय १५ जनालाई विमा रकम दाबी गर्न सामसङ ह्वाजेकाे अनुराेध

    HRD service of Korea बाट प्राप्त जानकारी अनुसार सामसङ ह्वाजे कम्पनीमा वीमा गरी वीमा अविध सकिएकाे ३ वर्षसम्मा पनि वीमा रकम दाबी गर्न नआएकाे ब्यक्तिहरूले वीमा दाबी गर्न आउनका लागी अनुराेध गरेकाे छ । ई.पि.एस. काेरिया शाखा ग्वार्काे ले आज(साउन ५ गते) एक सुचना प्रकाशन गरि उक्त ...

    महिला / बालबालिका

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...

    कोरियमा तिजको सान्दर्भिकता

    मञ्जु गुरुइ० नेपाली महिलाहरुको एक मुख्य धार्मिक तथा सांस्कृतीक पर्व तीजको आज दरखाने दिन । स्वादेशमा हुने महिलाहरु धेरै जना प्रत्यक्ष मनाइ ...

    कोरियामा कार्यक्रमहरु

    टिपनटापन