मुर्गा अर्थात जनता !

हो, मुर्गा हुन् जनताहरू !
सेतो कागजमा कालो मसीले लेखिएका अक्षरहरू
जरूर कालै देखिन्छन्
यहाँसम्म त ठीकै लाग्थ्यो,
तर मलाई लागेको थिएन
काला अक्षरहरू –
रेड कार्पेट माथि सेता मान्छे भएर सवार हुन्छन्
वास्तवमा तिनीहरू त राता मान्छे हुनुपर्ने थियो
खुनको लेप लगाएर बारूद बास्ना बोकि हिँड्ने
काम्रेडलालहरू
हुनुपर्नेथ्यो फिडेल क्यास्ट्रो
वा हुनुपर्नेथ्यो किम जोङ उन
कठै ! नवधनाढ्य प्रचण्डपथमैं अल्झेर भूल गर्यो
खड्गप्रसादहरूले
जसरी मार्क्समन्त्र पढेर फल्याँक्थ्यो जनकार्बाही
बन्दुकहरूले
हो, त्यसरी नै गराईएको हो
संविधानलाई सेतो कात्रो ओढाएर
सरकारको प्रगति भाषण
नौटंकी-नाटक मन्चन !
अब, त गर्नलाई बाँकी केही रह्यो र कतै ?
जनता जान्न चाहन्छ
रहेका छन् यदि तुष भने –
ती जनताका एकछाँके भूँडीहरूलाई
मासुभात खिलाएर झण्डा बोकाऔं
ब्रान्डेड ह्विस्कीको प्रत्येक चुस्कीहरूमा
रेडीमेड नाराहरूका चियर्स उपर
सुगा रटाई जिन्दावाद भन्दा पर सपना नै नदेखाऔं
महाराज !
यहाँ जनता मुर्गा बनाइएको देश हो यो
लुटाऔं आफ्नै घोषणा-पत्रहरू
फुकाऔं आ-आफ्नो बलिन्द्र कोटका टाँकहरू
केवल, कुर्सीदेखि कुर्सी नै जिन्नुछ आखिर
डुबाऔं देशलाई कहिल्यै नउठ्ने गरी
यस्तरी कि –
तिमीहरू उपरान्त जनतालाई वर्जित होस् राजनीति ।