गिजोलिएको नेपाली राजनैतिक परिवेश, संस्कार र हाम्रो अवस्था


नेपालमा निर्वाचन आयोगले आउँदो बैशाख ३० गतेबाट स्थानीय तहको निर्वाचन गर्ने तयारीसँगै चुनावको सरगर्मी बढ्दो क्रममा छ । चुनावी मिति नजिकिदै गर्दा फेरी पनि नेताहरु आफ्नो पार्टीको घुम्ती बैठक, सबलीकरण, सशक्तिकरण र अन्तरक्रिया जस्ता विभिन्न कार्यक्रम लिएर आफ्नो गाउँ क्षेत्र छिर्ने क्रममा छ । पार्टीको वर्चस्व बचाउन, बनाउन र बढाउन कार्यकर्ताको परिचालन बाक्लो रुपमा हुन थालेको छ । चुनाव अघि हुने गरेका विकासका नारा, सुशासन, समृद्धको नाममा लामबद्ध चुनावी एजेण्डाहरुको ढ्वाङ् फुक्दै खोक्रो आदर्शले भरिएको मिठा सपना बाँढ्ने दिन आइसकेको छ । चुनावी दौरानमा विभिन्न धम्की र दवाव आउनु, मत पत्र च्यातिनु, बुथ कब्जा गर्नु, मतपेटिका खोलामा बगाईनु, जंगल खोल्सामा मतपेटिका भेटिनु मात्र होईन नतिजापछि घोटाला भयो, पार्टीभित्र अन्तर्घात भयो भन्ने हरुवाहरुको अभिव्यक्ति त आउने नै होला । रक्सी र मासुमा भोट बिकेको प्रसंगहरु र चुनावी अभियानमा पार्टीको टीशर्ट लगाएको व्यक्ति मादक पदार्थमा लठ्ठिएको तस्वीर ट्रोल बन्छन् । किनकी यो त नेपालको चुनावी संस्कार नै हो । विगतको पाँच वर्ष अगाडिको इतिहासमा यी सबै खाले घटना सुरक्षित छ ।

राणाशासन गयो, पञ्चायतकाल गयो, बहुदलिय प्रजातन्त्र आयो, राजातन्त्र फालिए, लोकतन्त्र आयो, गणतन्त्र आयो, नयाँ संविधान आयो, संघीयता आयो, गाउँगाउँमा सिंहदरबार आयो भनियो । अब फाल्नुपर्ने सबै फालियो, आउनुपर्ने पनि सबै चीज आयो विकास हुनलाई अब के फाल्नुपर्ने हो ? के आउनुपर्ने हो ? व्यवस्था फेरिए अवस्था फेरिएन, अचम्म छ । राजनीतिमा स्थायी शत्रु र मित्र हुँदैनन् भनेजस्तै नेतृत्व तहका टाउके नेताहरु आफ्नो सत्ता जोगाउन क्षणभरमा नै जुट्ने र फुट्ने क्रम चलेको छ, चलिरहन्छ । हिजो टाउकोको मूल्य तोक्ने र तोकिएकाहरु आज टाउको ठोकाएर मीत गाँसेजस्तै गठबन्धनमा छन् । सायद लोकतन्त्रको अभ्यास यही थियो, गणतन्त्रको सुन्दर पक्ष यही हो क्यार । शीर्षस्थ पार्टीको नेतृत्वकर्ताहरुबाट आफ्नै कार्यकर्ता पनि भ्रममा छन् । कतिबेला के हुन्छ अन्यौंलमा छन् । स्थानीय सरकारको प्रवेश लगत्तै गाउँ टोलहरु समेत पूरै राजनितीकरण भईदिएको छ । गलत प्रबृत्तिहरुको झुण्ड यतिसम्म झांगिएको छ कि गाउँ समाजमा हाम्रो होईन तेरो र मेरो भावना जागृत भएको छ । पार्टीको नाममा युवाहरु विभाजित, देशको शक्ति युवाहरु नै विभाजित भएपछि टोल छिमेक स्वत: विभाजित हुने नै भए । एकले अर्काको ईर्ष्या गर्ने, खुट्टा तान्ने प्रबृत्ति अझ बढ्दो क्रममा छ । अझ भनौं यतिबेला सबैलाई नेता हुने रहर पलाएको छ । गाउँ समाजभित्रको एकता भत्किएको र मानवीय संवेदना पनि विलिन हुने अवस्थामा छ । गाउँको परिवेश गाउँ न गाउँ रहन सक्यो न शहर नै बन्न सकेको छ ।

यति वर्षमा सिंगापुरजस्तो, उति वर्षमा स्विट्जरल्याण्डजस्तो, त्यति वर्षमा कोरिया जापानजस्तो बनाईदिन्छौं भोट दिनुस् भन्ने पुरानो रेडिमेड नारा लिएर सोझा जनताको भावनासँग खेल्दै राजनिती मात्रै कमाउ धन्दाको पेशा बनेको छन् नेताहरुको । राजनीति आफैंमा खराब नीति हुँदै होईन । यो त समुन्नत राष्ट्रको सुत्र हो, समृद्ध राष्ट्रको सूत्रधार हो । शक्तिशाली राष्ट्रको बलियो अस्त्र हो । यसलाई प्रयोग र नेतृत्व गर्नेहरु खराब भईदिएकोले देश आज यो स्थितिमा छ । आम जनताको भावनाको बुई चढेर सत्ताको दाउ मात्र हेर्ने नेपाली राजनैतिक परिपाटी बनेको छ । भलै अति नगण्य रुपमा जनताद्धारा रुचाईएका भिजनरी र ईमानदारी नेता पनि नभएका होईनन् जसलाई नेताहरु जसलाई राज्यको कुनै अंग वा तहमा टिक्न दिने वातावरण र परिवेश नभएको सन्दर्भ घामजस्तै छर्लङ्ग छ । हामीले चुनेर पठाएको नेताहरु संसदभित्र पटक पटक कुर्सी हानाहान गरेको लज्जास्पद दृश्य हामीले नदेखेका होईनौं । संसद भवनभित्र हाई काढ्दै भत्ता पचाउन कुनै लाज नभएको, कुनै जात्रा मनाईरहेको भन्दा फरक नपर्ने, लाखेनाचमा जोगियालाई लखेटेजस्तै अनुशासन विहीन ठेलम ठेल, तानातान अमर्यादित गतिविधि र हुलदंगाको परिदृश्यहरु नदेखेका होईनौं । वास्तवमै गज्जब छ राजनैतिक खिचतानी र जुँगाविचको लडाई । यसले विश्वसमुदायमा पार्ने कुटनैतिक प्रभाव र देशको राजनैतिक वृत नराम्रोसँग गिजोलिएको प्रष्ट रुपमा प्रतिबिम्बित गर्छ ।

विकासको नाममा शुरु गरिएका आयोजना र परियोजनाहरु अलपत्र छन्, कयौं ठेकेदार बेपत्ता छन् । कसले कहिलेसम्म योजना पूरा गर्नुपर्ने हो कसलाई के चासो ? नेताहरु सत्तासमीकरण, पदको आपसी भागभण्डामा लिप्त छन् । अन्तर्राष्ट्रिय जगतमा शक्ति राष्ट्रहरु कहिले चन्द्रमा त कहिले मंगलग्रहमा रकेट पठाउँछन्, अनुसन्धान गर्छन् तर नेपालमा जहिले बैठक र सहमतिको प्रयास भन्दै कहिले बालुवाटार, कहिले खुमलटार त कहिले बालकोट गरिरहेका छन् । धन्न पेरिसडाँडाको पछिल्लो पटक सुन्नुपरेको छैन । सन् १९६० र १९६७ मा तत्कालीन राजा महेन्द्र र सन् १९८३ मा राजा बीरेन्द्रले अमेरिकाको औपचारिक राजकीय भ्रमण गरेको ऐतिहासिक दृष्टान्त छ । राजा महेन्द्रले त झन् १९६० मा अमेरिकाको संयुक्त सदनलाई सम्बोधन गरेको इतिहासले हाम्रो स्वाभिमान कति उच्च बनाएको थियो, अहिलेको छोटे राजाहरुको हालत बताई राख्नुपर्दैन । उबेला खोलिएको जनकपुर चुरोट कारखाना खै ? बिराटनगर जुट मिल खै ? गोरखकाली रबर उद्योग खै ? बाँसबारी जुत्ता कारखाना खै ? भृकुटी कागज कारखाना खै ? बीरगंज चिनी कारखाना खै ? विधुतीय ट्रली बस खै ? चोभारको सिमेन्ट कारखाना खै ? यी सबै राज्यको उचित रेखदेख र निगरानीको अभावले भ्रष्टाचार र अनियमितता र लापरवाहीले सबै स्वाहा भएको छ । नयाँ उद्योग स्थापना गर्नु त कुरै छोडौं भएकोलाई पनि जोगाउन सकेको छैन । पार्टीको शक्ति प्रदर्शन गर्न ठूला ठूला आमसभा गरेर राज्यको सम्पति दोहन गर्ने काम मात्र भएको छ ।

देशैभरी भ्रष्टाचार, महंगी, कमिशन, घूसखोरी, सेटिङको सञ्जाल मौलाएकै छ । नातावाद, कृपावाद र भनसुन विनाको सीधा तरिकाले कुनै सरकारी जागिर त कुरै छोडौं सरकारी काम समेत समयमा बन्न अति गाह्रो छ । हरेक क्षेत्रमा सक्षम व्यक्तिको योग्यताभन्दा पार्टीको लबिङ र सेटिङमा चलेको छ । राजनैतिक मूलधारमा अनेक पात्र र प्रबृत्ति देखिए । कोही बढि नै गफ हाँक्न र हसाउँन सिपालु, कोही बोली नै नबुझिने र रिसाईहाल्ने स्वभावका, कोही दोहोरो चरित्र प्रदर्शनमा खप्पीस । त्यति मात्र नभएर एकअर्काको खेदो खन्ने म यस्तो उ त्यस्तो, उ त्यो उस्तो अरु के के हो के के । कठै मेरो देश ! लिम्पियाधुरा, लिपुलेक र कालापानीदेखि एमसीसीसम्मको विरोधको घटनाले ०६२/०६३ जनआन्दोलनको झल्को दिएकै हो । फर्गेट एस्टर्डे काण्डदेखि आले स्टाइलको गालीसम्मको प्रसंगले सञ्चार मिडियाले राम्रै मसला पायो । राष्ट्रपति महिला भएको देशमा नाबालिका बलात्कारको घटनादेखि जघन्य सामाजिक अपराधसम्म, एसिड प्रकरणदेखि वाइडबडी काण्ड, एनसेल कर काण्ड, प्रधानन्यायाधीश महाअभियोग, भुकम्प, नेताको पिर्के सलामी मोह, नाकाबन्दी र कोरोनाले निम्त्याएको उथलपुथल जीवनशैली र महंगी हेडलाइन समाचार बने । धन्य ! मेरो मातृभूमि नेपाल आमा यी सबै सहन सक्ने सामर्थ्य राखेकोमा ।

सरकारी हरेक निकायमा विचौलियाको रजगज छ । सेवाग्राहीहरु चुस्त, दुरुस्त र स्फुर्तिलो सेवा पाउनबाट बञ्चित छन् । विदेशी राष्ट्रको अनुदान, ऋण र रेमिटेन्सले जसोतसो चलिरहेको त नभनौं, घिस्रिरहेको देशमा पर्याप्त प्राकृतिक स्रोत साधन भएर पनि यसको उपयोग, उत्खनन् र परिचालन गर्न नसक्नु देश विकास नहुनुको मूल कारण बनेको छ । देश सार्वभौम भनिएपनि विदेशी प्रभुत्वकरण र लम्पसारवादको बाछिटाले निथ्रुक्क भिजेको छ । विदेशी हस्तक्षेपमा सरकार मुकदर्शक छ । सन् २०२० को जीडीपी रेकर्डअनुसार विश्वमा ४२औं र एसियामा छैठौं गरीब राष्ट्रको रुपमा सूचीकृत भएको नेपाल प्रायः सबैकुरा आयात गर्दछ त्यसको बदलामा ठूलो संख्यामा उर्जावान् युवाशक्ति निर्यात गर्दछ । विकासको आधार मेरुदण्ड मानिएको युवाशक्ति आफ्नो बल, बुद्धि र जवानी विदेशमा खर्चिन्छ र समृद्ध बनाउँछ । अब गम्भीर प्रश्न उठ्छ – यसको दोषी आखिर को ? राज्य, स्वयं विदेशिएको युवा वा अरु कोही ?

साँझ विहान दुईछाक टार्न समेत धौंधौं परेको नेपाली जनजीवन कठिन छ । सामान्य जीवन चलाउन, धान्न र श्रम गरेर जीविकोपार्जन गर्न बुढेशकालमा ती बृद्ध बाबाआमाको सहारा बन्नुपर्ने बेलामा विदेश जानुपर्ने बाध्यता, कसैले भर्खर तोते बोली बोल्दै गरेको सन्तानलाई छोड्नुपर्ने तितो यथार्थ अनि भर्खर बिहे गरेको अर्धाङ्गिनीलाई छाडेर आउनुपर्ने कयौं नेपालीहरुको बाध्यता हो । गरिबीको चपेटामा परेर साहुको ऋण तिर्न र विदेशको कमाईबाट मजस्ता आफ्नो परिवारको सुन्दर भविष्यको कल्पना गर्ने युवाको प्रश्न यो हो कि कहिले स्वदेश फर्किने वातावरण बन्छ ? विदेशको चौडा सडक, जताततै व्यवस्थित भौतिक संरचना, गगनचुम्बी महल, ऐतिहासिक सम्पदा संरक्षण, झिलिमिली वातावरण, पर्यावरणीय सन्तुलन, सिस्टममा बसेको सरकारी अड्डाको कार्यशैली, अनुशासन, ईमानदारीता देख्दा नेपालको अवस्थासँग तुलना गर्न जो कोही बाध्य हुन्छ हुन्छ । ती सबै कुराहरुले गहिरो आत्मग्लानी हुन्छ । मन, मष्तिष्क र चेतना फैलाउने प्रत्येक नशालाई गिज्याउनसम्म गिज्याएको छ ।

युवा पुस्ताले राजनितीको गन्ध, सुगन्ध वा दुर्गन्ध चिन्नेबेला आएको छ । पाका पुरानो अग्रज राजनैतिक अभिभावकत्व ग्रहण र अनुभव अनुसरण गर्दै दृढ संकल्प, इच्छाशक्ति, राजनैतिक जागरण सहितको युवा नेतृत्वले अबको देश विकासमा कोसेढुङ्गा सावित हुन सक्दछ । तर जतिपटक चुनाव आएपनि जुनै पार्टीले जितेपनि केही हुनेवाला छैन । जबसम्म देशमा राज्यको नीति, सिद्धान्त र विचारले जित्दैन समस्या सधैं उस्तै हो । देउवा, ओली, प्रचण्ड वा अरुकसैले जिते मात्र पार्टीले जित्ने हो यहाँ देशको लागि जित्ने को ? देशमा औधोगिक क्रान्ति गरेर बेरोजगारी समस्या समाधान गर्दै पूर्ण आत्मनिर्भर र स्वाबलम्बी बन्न प्रत्येक नागरिकलाई प्रेरित गर्नुपर्दछ ।

कृषिप्रधानको ट्याग पाएको हाम्रो देश छिमेकी राष्ट्र भारतबाट केही महिना खाद्यान्न आयात रोकियो भने भोकमरीको समस्या आउँदैन भन्न सकिन्न । सरकारी नीति, कार्यक्रम र कार्यान्वयन प्रकिया अत्यन्त फितलो छ । व्यवसायिक कृषि प्रणाली, आधुनिक कृषि औजार र उपकरणको उपलब्धता, सुलभता र प्रयोग न्यून छ । कृषिजन्य उपजको बजारीकरण र व्यवस्थापनको अवस्था नाजुक छ । अवधारणा अनुसारको पर्यटन क्षेत्रको विकास, खनिज उत्खनन् र केही घर निर्माण सामाग्रीको उत्पादन, सीमेन्ट फ्याक्ट्री, कागज उद्योग बाहेकका टेक्निकल उद्योगको विकास पर्याप्त छँदैछैन । देश विकास ठूला ठूला भाषणले होईन, उद्योग कलकारखाना खोलेर गर्नुपर्छ । उद्यमीलाई प्रोत्साहन र लगानीको वातावरण सिर्जना गरेर हुने हो । व्यवहारिक र प्रविधिमूलक शिक्षामा जोड दिइनुपर्छ । सामाजिक सुरक्षा लगायत सहज र सुलभ स्वास्थ्य सुविधा अनिवार्य प्रदान गर्नुपर्छ ।

अबको चुनावपछि देश नै कायापलट हुन्छ भन्ने ठोकुवा गर्ने बलियो आधार केही छैन । राज्यसत्तामा घुमिफिरी त्यही दल, त्यही पात्रहरुको हालीमुहाली हुने हो । यसर्थ बदिलिएको समय चक्र र आधुनिकिकरणसँगै युवा पुस्तामा राजनैतिक जागरण हुनुपर्छ । राजनैतिक चेतनासँगै युवा नेतृत्व अपरिहार्य छ । छेपारोले घोचा समाएझैँ समाईरहेका सत्तरी असी वर्षको हाराहारीमा पुगेका तन्नेरी राजनीतिज्ञहरु अब आराम गर्ने कि ? अब धेरै ढिला भईसक्यो राजनीतिभित्रको बेथिति अन्त्य गर्न हामीले हाम्रोलाई भन्दा राम्रोलाई प्रतिनिधि चुन्नैपर्छ । पार्टीको अन्धाभक्त भएर होइन, सच्चा नागरिक भएर भोलीको लागि फराकिलो भएर सोचौं ।

आफ्नो प्रतिक्रिया दिनुहोस |

ताजा अपडेट

सम्बन्धित शिर्षकहरु
  • पूर्वाञ्चल सरोकार समाजले छुसकको कार्यक्रम बाँडफाँड तथा संयुक्त कार्यालय उद्घाटन गर्दै
  • सोनाम ल्होछार बृहत साँस्कृतिक कार्यक्रमको समिक्षा एवं आयव्यय सार्वजनिक गरिने
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • इलामेली समाज दक्षिण कोरियाद्वारा १० पालिकामा स्वास्थ्य सामाग्री वितरण
  • ताजा अपडेट

    ईपिएस

    वन र सेवा क्षेत्रमा पनि कोरियाले नेपाली श्रमिक ल्याउने

    अनलाइन खबर दक्षिण कोरियाले यो वर्ष (सन् २०२४)देखि रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत थप ३ वटा क्षेत्रमा पनि नेपाली श्रमिक लिन थाल्ने भएको छ । कोरियाली सरकारले नेपालबाट वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डष्ट्री क्षेत्रमा पनि श्रमिक ल्याउने भएको हो । अहिले कृषि, ...

    एम टि यूको प्रतिनिधि सभा बैठक सम्पन्न, WPS को लागि संघर्ष गरिने

    प्रवासी श्रमिकहरुको अधिकारको निम्ति आवाज उठाउँदै आएको संस्था प्रवासी श्रमिक युनियन MTU दक्षिण कोरियाको प्रतिनिधि सभा बैठक २०२४ सम्पन्न भएको छ। सौल स्थित कोरियन प्रजातान्त्रिक श्रमिक महासंघ (केसिटियू) को हलमा सम्पन्न सभाले गतवर्षको गतिविधिहरुमाथि छलफल एवम ...

    राजु लामाको मंगोलियन हार्ट ब्याण्डले कोरिया तताउने निश्चित

    दक्षिण कोरियाको महान चाड सलनालको अवसरमा हुने ४ दिने लामो बिदाको पहिलो दिन फेब्रुअरी ९ तारिख नेपालको सुप्रसिद्ध गायक राजु लामाको मंगोलियन हार्ट व्याण्डको लाईभ कन्सर्टले कोरियाको माईनस डिग्रीको चिसो मौसममा नेपाली गीत संगीत मार्फत नेपाली माहोल तताउने निश्चित ...

    महिला / बालबालिका

    कोरियामा निर्मलाको अत्माहत्याले उब्जाएको प्रश्न

    मञ्जु गुरुङ ,, " म्याम म यहाँबाट निस्कन चाहन्छु । साइन मागेको पनि दिदैन । इलिगल बनाइदिन्छु भन्छ । काम पनि दिदैन । नेपालबाट आएको ६ महिना भयो । रिन ...

    कोरियामा महिलाका लागि महिलाका अध्यक्षमा पार्वती

    दक्षिण कोरियामा नेपाली महिलाहरुद्धारा संगठित महिलाको लागि महिला नाम संस्थाको अध्यक्षमा व्यवसायी तथा समाजसेवी पार्वती मोक्तान चयन भएका छन् । ...

    कोरियामा निबन्ध प्रतियोगितामा उत्कृष्ठ पुरस्कार प्राप्त लेख

    अलबिदा आमा -बाला राई निद्रामै थिएँ, म्यासेन्जरमा आएको फोनको घण्टीले ब्युझिएँ । हतार उठेर सिरानीनिर राखेको फोन तानें बिहानको छ बज्नै लागेको ...

    एनआरएन कोरियाले जुम मार्फत तिज मनाए

    एनआरएनए दक्षिण कोरियाले महिलाहरुको ठूलो चाड तिजलाई जुम मार्फत छलफल गरी मनाएका छन् । एनआरएन महिला संयोजकको नेतृत्वमा शुभकामना आदन प्रदान तथा ...