स्याङ्जा परिवार दक्षिण कोरियाले रजत जयन्ती मनाउने
कोरिया स्थित क्षेत्रीय संस्था स्याङ्जा परिवारले आफ्नो स्थापनाको २५औं वर्ष पूरा गरेको उपलक्ष्यमा रजत जयन्ती मनाउने भएको छ । आउँदो कोरियन पर्व छुसकभित्र मनाउने गरी संस्थाले कार्यदल गठन गर्दै आवश्यक तयारीमा जुटेको हो ।
“कोरियामा स्याङ्जाली, रजतोत्वस यसपाली” भन्ने नारासहित मूल आयोजक, रजत जयन्ती कार्यदल र विभिन्न उपसमिति गठन भइसकेको र सम्पूर्ण तयारी तीव्र रुपमा अघि बढिरहेको संस्थाका केन्द्रीय अध्यक्ष तथा रजत जयन्ती मूल आयोजक समिति संयोजक विजय थापाले जानकारी दिए । सन् १९९७ मा स्थापित वर्तमानसम्मको सम्पूर्ण संस्थागत गतिविधि, जिल्लाको संक्षिप्त परिचय, भौगोलिक अवस्थिति, धार्मिक तथा पर्यटकीय स्थलको जानकारी, प्रवासी भूमिमा रहँदाको अनुभूति/विचार, कोरियामा आर्जित ज्ञान, सीप र पूँजीको उपयोग, लगानीको अवस्था, सम्भावना र चुनौती, साहित्यिक लेख/रचना लगायतको विषय समेट्दै स्मारिका प्रकाशन गरिने रजत जयन्ती कार्यदल संयोजक कुमार थापाले बताए ।
कोरियास्थित विभिन्न संघसंस्था, व्यवसायीहरुसँगको सम्बन्ध र समन्वयमा थप आत्मीयताको अपेक्षा सहित संस्थाले शुभकामना तथा विज्ञापन संकलन गर्ने, सहयोगीहरुको नामावली स्मारिका पुस्तकमा प्रकाशन गर्ने साथै सम्मान गरिने केन्द्रीय सचिव माधव अर्यालले स्पष्ट पारे । गौरवशाली इतिहास बोकेको स्याङ्जा परिवार दक्षिण कोरियाको रजत जयन्तीलाई सफलतापूर्वक सम्पन्न गर्न कोरियास्थित विभिन्न संघसंस्था, संस्था सम्बद्ध व्यक्तित्वहरु, समस्त शुभचिन्तक, सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा आर्थिक, नैतिक र भौतिक सहयोगको लागी संस्थाले हार्दिक अपिल गरेको छ ।