चिन्तन अनि व्यथा प्रवासीको
जब मान्छेहरु मध्यरातमा मस्त निद्रामा हुन्छन् तब म कडा परिश्रममा होमिएको हुन्छु । यी सबै मेरा बाध्यता हुन् । मलाई थाहा छ कि म थकित भएर सुस्केरा काढ्दा मात्रै पनि मेरा बाध्यताहरुले मलाई अझ बढि जिस्काउनेछन् त्यसैले यसलाई चुनौती दिदै म निर्जीव मेसिनको रफ्तारसँगै दौडिरहेको छु ।
परदेशको बसाई क्रममा हरेकको आ-आफ्नो प्राप्ति र गुमाईको हिसाबकिताब होला अनि आत्मसन्तुष्टिको पनि खास अर्थ हुनसक्छ तर म मेरा खुशीका केही थान किस्साहरु र रहरका केही हिस्साहरु पूरा गर्ने मेरो संकल्प रहिरहनेछ । बाबा आमाको उमेर ढल्कदैछ अनि गाला चाउरी पर्दैछ । भगवान् ! उहाँहरुलाई सुरक्षित राखिदिनुस् है । अझै म सफल भएको छैन ।
वाध्यताको अगाडि हरेक चाहना र अनेक ईच्छाको केही जोर नचल्ने रहेछ । आमाबाबाको काख, श्रीमतीको साथ, सन्तानको माया अनि मातृभूमिको माटोको याद नगर्ने कोही सायदै होला । सुनौलो भविष्यको परिकल्पना त सबैसँग हुने गर्दछ । मेरो हकमा आधारभूत आवश्यकता र दैनिकी चलाउने कमाई र जोहो गर्ने बाहेक परदेश बसाईको अन्य दिलचस्पी छैन ।
हरेकपल्ट घरमा कल गर्दा पहिलो बोलीमा बाबु खोई, छोरा खोई भन्ने गर्छु । बाल्यकालबाट विस्तारै हुर्कदै गरेको आफ्नै सन्तान काखमा खेलाउँदै हुर्काउने अवसर न मैले पाएँ न सन्तानले आफ्नो बाबाको अंगालो महसूस गर्न पायो । यो तितो यथार्थ हो, सायद म जस्ता सबैको व्यथा उस्तै होला । अचेल त सन्तानले पनि कहाँ हुनुहुन्छ, कहिले आउनुहुन्छ भनेर प्रश्न गर्ने भईसक्यो । त्यो बोली सुन्दा मन भारी हुन्छ । विदेशिनुको एक पाटो तिनै सन्तानको लालनपालन, शिक्षा र भविष्यको लागी पनि त हो ।