कोरियाको तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखाले विविध कार्यक्रम सहित तमू ल्होसार मनाउने
कोरिया स्थित तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखाको आयोजनामा तमू (गुरुङ) जातिको नयाँ वर्ष तथा मौलिक पर्व तमू ल्होसार आउँदो जनवरी १ तारिक मनाउने भएको छ । तमू समुदायको वर्ग चक्र अनुसार तो-ल्हो (बाघ वर्ग) लाई विदाई र ही-ल्हो (बिरालो वर्ग) लाई स्वागत गर्दै बुसान सहरको जिकेएस सुविधा सम्पन्न हलमा दिउँसो एक बजेदेखि शुरु हुने गरी सो ल्होसार मनाउने भएको हो ।
सो ल्होसारको अवसरमा दिवा भोज, शुभकामना आदानप्रदान तथा विविध साँस्कृतिक कार्यक्रम आयोजना गरिएको तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखा अध्यक्ष कर्ण गुरुङले जानकारी दिए । समय सापेक्षित विभिन्न कार्यक्रम गर्दै आइरहेको संस्थाले ल्होसारको मनाउने तयारी गरिरहेको संस्थाका निवर्तमान अध्यक्ष अनिश गुरुङले बताए ।
स्थानीय कलाकारहरुको बेजोड साँस्कृतिक प्रस्तुति र स्वादिष्ट नेपाली खानाको परिकारको व्यवस्था गरिने सो “तमू ही-ल्होसार २०७९” लाई सभ्य र भव्य सफल बनाउन कोरियामा रहेका सम्पूर्ण तमू (गुरुङ) तथा गैर तमू दाजुभाई तथा दिदीबहिनीहरु एवं संघसंस्थाहरुलाई गरिमामय उपस्थितिको लागि आयोजक संस्थाले हार्दिक अनुरोध गरेको छ ।