बौद्ध परिवारको स्मारिका विमोचन
नेपाल बौद्ध परिवार दक्षिण कोरियाले आफ्नो रजत जयन्तीको अबसरमा स्मारिका प्रकाशन गरेको छ । कोरियामा सबै भन्दा पुरानो संस्थाको रुपमा रहेको बौद्ध परिवार आइतबार बार्षिक साधारण सभा तथा स्मारिका विमोचन कार्यक्रम गरेको छ ।
बौद्ध परिवारको स्मारिकामा बौद्ध धर्म, संस्कार संस्कृति र कोरियाली जीवनमा बौद्ध धर्म दर्शनका कुरा पढ्न पाईन्छ । झन्डै डेढ बर्ष अघि नै तयार भएको पुस्तकलाई गोकुल थोकर र कुसाङ शेर्पाको समूहले सम्पादन गरेको छ । कोरोना समय भएकोले समयमै स्मारिका विमोचन गर्न नपाएको बौद्ध परिवारले जनाएको छ ।
स्मारिका पढ्नका लागि बौद्ध परिवारसँग सम्पर्क गर्न सकिने पुस्तकका सम्पादक गोकुल थोकरले जानकारी दिएका छन् । ‘स्मारिका पढे बौद्ध दर्शन बुझिन्छ । यसले जीवन उपयोगी कुराहरु सिकाउँछ । कोरियामा रहनु हुने साथीहरुले यो पुस्तक पढ्न सक्नु हुनेछ ।’ उनले भने । पुस्तकमा नेपाली र अंगे्रजी भाषामा लेखिएका लेखहरु छन् ।
उक्त कार्यक्रममा बौद्ध परिवारसँग लामो समय विभिन्न पदमा काम गरेका पूर्व पदाधिकारीहरुलाई पनि सम्मान गरेको थियो ।