सलनालमा कार्यक्रम नै कार्यक्रम
आउँदो शनिबार देखि सलनाल आर्थत नयाँ बर्षको लाग्दैछ । सलनालमा कोरियामा लामो कम्पनी विदा हुन्छ । यहि मौकामा विभिन्न कार्यक्रम गर्ने नेपाली संघसंस्था बीच चर्को प्रतिस्पर्धा छ । आफ्नो कार्यक्रम प्रचारप्रसार गर्न अहिले दोङदेमुनमा आयोजकहरु बाक्लै भेटिन्छन् ।
‘हामीले पनि एउटा सांगीतिक कार्यक्रम गर्दैछौं । अन्य साथीहरुले पनि गर्दै हुनुहुन्छ ।’ चितवन सम्पर्क समितिका अध्यक्ष राजकुमार स्याङतानले भने । ‘हाम्रो संस्थाले पहिले देखि नै जिल्लाको विपन्न केही विद्यार्थीलाई छात्रबृति दिदै आएको छ । त्यसैमा सहयोग भनेर कार्यक्रम गर्न लागेको हो । यो बर्ष हाम्रै पालो थियो ।’ उनले थपे ।
सलनालको पहिलो दिन चितवन सम्पर्क समितिले गायक उर्गेन दोङ, गायिका अनु चौधरी र डान्सर कविता नेपालीलाई कार्यक्रमको लागि कोरिया ल्याउँदैछ । शनिवार बेलुकी हुने कार्यक्रम रातै भरि चल्नेछ । दिउँसो भने नेपाल तामाङ घेदुङले सोनाम ल्होछार मनाउनेछ । घेदुङले पनि नेपालबाट गायक आरम्भ तामाङ, प्रकाश तितुङ र गायिका पुजा तामाङलाई सांगीतिक प्रस्तुतिका लागि यहाँ ल्याउँदैछ । सोलुखुम्बु समाजले पुस्तक विमोचन गर्दैछ । किराँत राई यायोख्खाले सुम्निमा पारुहाङ साहित्य साँझ गर्दैछ भने जनता समाजवादी पार्टीको प्रवास कमिटिले पनि चियापान कार्यक्रम गर्दैछ ।
सुदुर पश्चिम समाज दक्षिण कोरियाले सेती महाकाली सांगीतिक कार्यक्रम पनि पहिलो दिन नै गर्दैछ । गायक प्रकाश सपुत, टंक तिमिल्सिना, गायिका मेलिन राई, गौरी भट्ट र हास्य कलाकार सुमन कार्कीले प्रस्तुति दिने छन् ।
विदाको दोस्रो दिनको कार्यक्रम थप अस्तब्यस्त छ । ताप्लेजुङ सम्पर्क समितिले ताप्लेजुङ कञ्चनजंघा सांगीतिक धमका गर्दैछ । कार्यक्रमको लागि नेपालबाट गायक प्रमोद खरेल, खगेन्द्र याक्सो, गायिका एलिना चौहान, डान्सर रियासा दाहाल र हास्यकलाकार भरतमणी पौडेल आउँदैछन् । त्यस्तै नेपाल मगर संघ, दक्षिण कोरियाले पनि गायिका सिता थापामगरलाई कोरिया डाकेर माघे सकराती विशेष कार्यक्रम गर्दैछ । साँझ खोटाङ सम्पर्क समितिले डान्स पाटी गर्नेछ । त्यस्तै नेपकोर समूहले नेपकोर डान्सपाटी गर्दैछ । शेर्पा संघ दक्षिण कोरियाको ग्याल्बो ल्होसार कार्यक्रम पनि यहि दिन बेलुकी हुनेछ ।
दिउँसो आदिवासी जनजाति साहित्यकार÷लेखक महासंघको अधिबेशन तय भएको छ । सोहि कार्यक्रममा महासंघले निकालेको पुस्तक भुँईमान्छेको आवाज विमोचन हुँदैछ । कोरियामा लामो समय देखि कविता लेखिरहेका कवि पराजित पोमूको पुस्तक म द्धारा मेरो निर्माण पुस्तक विमोचन पनि हुनेछ । सलनालको तेस्रो दिन थारु कल्याणकारिणी सभा दक्षिण कोरियाले माघि मनाउने छ ।
सोलमा जे जस्तो कार्यक्रम भए पनि दोङदेमुन छेउछाउमै हुन्छ । ‘नेपाली पुग्ने ठाउँ भनेकै सोलमा दोङदेमुन हो । अलि छेउ तिर गर्दा मानिस नै नपुग्ने हुन सक्छ ।’ ताप्लेजुङ सम्पर्क समितिका अध्यक्ष सागर माङमू लिम्बू भन्छन् ।
सोल बाहिर पनि कार्यक्रम
सोल बाहिर धेरै नेपाली रहेको किम्हे, बुसानमा समेत यस पटकको सलनालमा विभिन्न कार्यक्रम हुने छन् । शनिबार नेपाल तामाङ घेदुङ, किम्हेबुसान शाखाले गायक आशुसेन लामाको साथमा सोनाम ल्होछार मनाउने छ । दोस्रो दिन किराँत राई यायोख्खाले यलम्बर सांगीतिक सौगात गर्नेछ । गायक राजेश पायल राई, गायिका मिलन नेवार, ज्याती मगर र हाँस्य कलाकार विल्सन विक्रम राईले प्रस्तुति दिनेछन् । बेलुकी ¥याप गायक लाहुरेको साथमा डान्स पाटी हुनेछ । तेस्रो दिन गैर आवासीय नेपाली संघ बुसान शाखाले पुल कम्पिडिसन २०२३ को आयोजना गरेको छ ।
सोल नजिकैको शहर सुवनमा पनि डान्स सलनालको पहिलो दिन बेलुकी लाहुरेकै समुहले डान्स पाटी गर्नेछ । सोल बाहिर यति धेरै कार्यक्रमको आयोजना भएको पहिलो पटक हो ।
कार्यक्रम आयोजना गर्न प्रतिस्पर्धा
कोरियामा नोभेम्बर ३० सम्म ४७ हजार ३ सय ६८ जना नेपाली रहेका छन् । यस मध्ये बसै भन्दा धेरै रोजगार अनुमति प्रणाली ईपिएस मार्फत ३६ हजार ९ सय ३६ जना आएका छन् । बाँकी विद्यार्थी लगाएतका भिसामा कोरियामा छन् ।
ईपिएस मार्फत यहाँ आएका नेपालीको एकै पटक विदा हुने भएकोले पनि आयोजकहरु सांगीतिक कार्यक्रम गर्न प्रतिस्पर्धा गर्ने गर्छन् । नेपाली नेपाली मिलेर कार्यक्रम गर्न सकोस भनेर नै नेपाली सम्पर्क समिति मार्फत सांगीतिक कार्यक्रम बाँड्ने गरिन्थ्यो । सालनालमा बढिमा ३ वटा कार्यक्रम हुन्थे । ‘यो पटक त्यस्तो भएन । जसलाई जसरी मन लाग्यो त्यसरी कार्यक्रम गरेको छ । मान्छेहरु कता कता जानु ? यसले सबैलाई बेफाइदा नै गर्छ ।’ ताप्लेजुङ कञ्चन्जंघा सांगीतिक धमकाका संयोजक मिराक लिम्बूले भने ।
नेपाली सम्पर्क समितिका अध्यक्ष श्री श्रेष्ठ भने कोरियाली सरकारले अझै कन्सर्ट जस्तो कार्यक्रम गर्न प्रतिवन्ध लाउन सक्ने संभावना भएकोले यो पटक कार्यक्रम बाँडफाँड नगरिएको बताए । ‘यहाँको सरकारको भर हुँदैन । हामीले कार्यक्रम गर्न दिउँला यहाँको सरकारले सलनालमा मान्छे जम्मा हुन प्रतिबन्ध लायो भने कसरी जिम्मेवारी लिने ? कोरोना बढेको बढेकै छ ।’ उनले भने । तीन बर्ष कम्पनी बाहिर निस्किन नपाएका साथीहरुले एकै पटक कार्यक्रम गर्दा यति धेरै कार्यक्रम भएको उनले बताए ।
पैसा कलाकारलाई ः हिसाब मात्रै आयोजकलाई
नेपालबाट कोरिया आउने गायिक गायिकालाई २ लाख देखि ५ लाख रुपैया आयोजकले दिएका छन् । हवाजभाडा, बस्ने, खाने र घुमघामको लागि थप खर्च लाग्छ । सांगीतिक कार्यक्रम गर्नका लागि ठूला हलहरु सोलमा ७ लाख देखि १२ लाख रुपैयाँ बुझाउनु पर्छ । एउटा सांगीतिक कार्यक्रमका लागि २५ लाख रुपैया भन्दा बढि आयोजकले खर्चिन्छन् । ठूला सांगीतिक व्यान्डका लागि थप पैसा खर्चिनु पर्छ ।
‘महिनौ साथीभाइलाई किच किच गरेर सहयोग गर सहयोग गर भनेर भन्दा भन्दा लाजै लाग्छ । पैसा आयोजकले भन्दा पनि गायक गायिकाले लैजान्छन् । कार्यक्रम घाटा भए एक एक महिनाको तलब बुझाउनु पर्छ भनेका छन् ।’ नाम नलेख्ने शर्तमा आयोजकका एक सदस्यले भने । ‘कोरियामा सांगीतिक कार्यक्रम ग¥यो भने संस्थाको बारेमा धेरै नेपालीलाई थाहा हुन्छ । फाइदा भनेको त्यही हो ।’
सबै आयोजकले कार्यक्रमबाट नाफा भएमा वभिन्न काम गर्ने योजना बनाएका छन् । सुदुर पश्चिम समाजले कोरियामै सेल्टर स्थापना गर्ने जनाएको छ । चितवन सम्पर्क समितिले विद्यार्थीलाई छात्रवृत्ति, किराँत राई यायोख्खाले सुम्निमा घरको निर्माण गर्ने योजना बनाएको छ । ताप्लेजुङ सम्पर्क समितिले भने जिल्लाको स्वास्थ्य चौकीमा औषधी राख्न प्रयोग हुने फ्रिज किन्न मुनाफा प्रयोग गर्ने बताएको छ ।
सांगीतिक कार्यक्रमको प्रवेश शुल्क ३० हजार वन अर्थात तीन हजार रुपैया छ । सफल सांगीतिक कार्यक्रम आयोजना गर्न एक हजार भन्दा बढि दर्शक हुन आवश्यक छ । एकै ठाउँमा दिनमा तीनवटा भन्दा बढि सांगीतिक कार्यक्रम आयोजना गरेर कोरियामा हरेका संघसंस्थाले आम्दानी पनि गर्छन कि एक महिनाको तलब खर्चिन्छन् हेर्न बाँकी नै छ !