अनेरास्ववियु : हिजो आज र भोलि
लेखक खगेन्द्र सङ्ग्रौलाले कुनैबेला भन्थे – फलानो नेताको अनुहार टिभीमा देख्दा एमालेको ५ भोट घट्छ – यस्तालाई पार्टीको फ्रन्ट मोर्चामा नराख्दा राम्रो । उसको सुझाव थियो यो; भलै उसको कुरा अलि बढी नैं बायस्ड थियो । तर एमाले अखिल भने यति बदनाम चैं भएको छैन भन्ने लाग्छ । नाम सम्झिँदै मन उज्यालो हुने केही पात्रहरु अझै पनि छन् अखिलमा । खराबहरु पनि धेरै नभएका होइनन् ! अखिलमा अचेल प्रश्नहरुको डङ्गुर निकै नैं छ भन्ने सुनिन्छ । विद्यार्थी संगठन आफ्नो मुद्दाबाट निकै पर पुग्यो भन्ने आरोप पनि छ । किनकि अखिल अरुहरुको भीडमा अरुजस्तै भइदियो । अखिल अखिलजस्तो हुनुपर्थ्यो । भएन । दु:ख लाग्छ । यसका बाबजुद पनि कागको बीचमा बकुल्ला नैं सहि; केही आशाका किरणहरु भने अझै बाँकी छन् अखिलमा । अर्को शब्दमा भन्दा हिङ नभए पनि हिङ बाँधेको टालो अझै बाँकी छ । कम्तीमा टालो जोगाउनु आजको आवश्यकता हो । समयले कहिलेकाहीँ यस्तो पनि अवस्थाको सिर्जना गर्छ ।
आजसम्मका हरेक सामाजिक तथा राजनीतिक आन्दोलनको अग्रमोर्चामा अखिलले खेलेको भुमिका उच्चकोटीको छ । त्यसलाई समयले उचित मुल्यांकन गरेको छ । भोलि पनि गर्नुपर्छ भन्ने लाग्छ । एमालेको आजको ब्यवस्थित संगठनको पिलर अखिल हो भन्दा फरक नपर्ला । किनकि यो पृष्ठभुमिबाट आएकाहरु पार्टीका निकै महत्त्वपूर्ण ठाउँहरुमा स्थापित भइसकेका छन् । भोलिका लागि नेतृत्वको लाईनमा रहेकाहरु पनि धेरैजसो अखिल पृष्ठभुमिकै छन् । आज शङ्कर पोखरेल, टंक कार्की, हिक्मत कार्की, योगेश भट्टराई, रबिन्द्र अधिकारी र ठाकुर गैरेहरु नैं खोज्न त हामी सक्दैनौँ । तैपनि इमान र आफ्नो धरातलमा टसमस नभई सतिसाल झैँ उभिएका त्यस्ता केही पात्रहरू छन्; उहाँहरुलाई सलाम छ । शुभकामना पनि छ – यसपटक इमानदार, विवेकशील, बैचारिक र कर्मशीलहरुले अखिलको त्यो गर्विलो झन्डा बोक्न सफल रहोस् ! अब फाल्गुण पहिलो साता उत्साह, उमंग र नयाँपनलाई स्वागत अनि राजनीतिक सिन्डिकेटका पक्षधरहरु, ठुला नेतासँग सेल्फी खिच्नेबाहेक खासै काम नगर्नेहरु, दोहोरो जिम्मेवारीमा रहेकाहरु र पार्टीका अन्य ठाउँमा समेत महत्त्वपूर्ण स्थान ओगटेर बसेकाहरुलाई बिदा गरौँ यदि अखिलको गौरवमय ऎतिहासिक साख साँच्चिकै जोगाउने हो भने ! हुन त हाम्रो सुझाव कसले सुन्ने । कसले बुझ्ने । तैपनि बोल्न त पाइयो नि ! शुभेच्छा जाहेर गरेर नराम्रो हुन्न होला । हामी जस्तोले सक्ने त यसरी बोलेर मनैदेखी शुभेच्छा व्यक्त गर्ने न हो ! बाँकी त तमाम परिवर्तनकामी विद्यार्थी साथीहरूको हातको कुरा न हो ! भोलीको अखिल अरुजस्तो होइन । अखिल आफैंजस्तो होस् । शुभेच्छा छ । शुभकामना छ !
यसपटक यहि फाल्गुन २-४ सम्म काठमाडौंमा अखिलको महाधिवेशन हुँदैछ । धेरैले मुल नेतृत्वमा दाबी गरिरहेका छन् । अन्य पदाधिकारीहरुमा दाबी गर्नेहरुको लर्को झनै ठुलो छ । यो स्वभाबिक पनि हो । किनकी निकै लामो समयपछि लोकतान्त्रिक तरिकाले अखिलको महाधिवेशन हुँदैछ । एक हिसाबले नेतृत्व जाम भएको छ । आजको यो अवसर भनेको नेतृत्वमा नयाँहरुले प्रभावकारी हस्तक्षेप गर्ने सुनौलो अवसर पनि हो । अपेक्षा छ यो अवसरको सदुपयोग हुनेछ । यसपटक हेरौं; कतिको साहस गर्छन् नयाँ तर भिजन र साहस भएकाहरुले । हुनत कुरा गर्नु र काम गर्नु आकाश पातालको फरक हुन्छ । त्यति सजिलो भने छैन । झन् राजनीतिमा त यस्तो अरु क्षेत्रमा भन्दा बढी देखिएको छ ।
पछिल्ला दिनहरुमा यसखाले प्रवृत्ति झन् मौलाएको छ । तैपनि आशा न हो अखिल राम्रो होस् भन्ने हामी सबैको शुभेच्छा हो । यसका लागि ब्यक्तिगतरुपमा केही सुझावहरु बुँदागतरुपमा दिन चाहन्छु:
१. आजसम्म हामी कहाँ र के मा चुक्यौँ त्यो ठम्याउनु जरुरी छ । अनिमात्र नयाँ शिराबाट कसरी अगाडी बढ्ने भन्ने कुरा आउँछ ।
२. अबको अखिल हरेक हिसाबले समाबेशी अखिल हुनुपर्ने ।
३. तोकेको उमेर हदको कार्यान्वयनमा विशेष जोड दिनुपर्ने ।
४. एकैसमय अखिल र मातृपार्टी दुबैमा जिम्मेवारीमा रहन नपाउने । एक ब्यक्ति एक पद लागू गर्नैपर्ने ।
५. एसम्यान होइन जेन्युइन्ली पार्टी नेतृत्वलाई समेत प्रश्न गर्नसक्ने निर्भीक अखिल बनाउने ।
६. हिजोदेखिको आफ्नो शैक्षिक मुद्दा स्थापित गराउन भरमग्दुर कोसिस गर्नुपर्ने ।
७. हिजोको गरिमामय ईतिहासको शाख कसरी जोगाउने भन्नेबारे प्रष्ट खाका ल्याउनुपर्ने ।
८. अहिलेको शिक्षाप्रतिको अखिलको प्रष्ट दृष्टिकोण के हो त्यो खुलाउनुपर्ने । अनि नयाँ सुझाव केही छन् भने त्यो पनि खुलाउनुपर्ने ।
९. विश्वबिद्यालयलाई साँच्चिकै विश्वबिद्यालयजस्तो बनाउन अखिलको खास भुमिका के हुने प्रष्ट पार्नुपर्ने ।
१०. नयाँ पुस्ताको राजनीतिप्रतिको हेराई र बुझाईलाई करेक्सन गराउन अखिलले के गर्न सकिन्छ प्रष्ट खाका आउनुपर्ने ।
११. अन्तमा अखिलको नेतृत्व आफैं पनि शैक्षिक बैचारिक हिसाबले सुध्रिन सुधार्न के – के गर्न सकिन्छ ? त्यो प्रष्ट पार्नुपर्ने ।
— एन.डि. क्षितिज
(लेखक पर्यटन ब्यवसायी तथा नेकपा एमाले काभ्रे जिल्ला कमिटी सदस्य हुन्)