सगुन
विहे पक्का भो ।
आफ्नो विहेको कुरा आफैले फिक्स गरियो । औपचारिक रुपमा विहेको दिन फिक्स गर्न ठूली दिदीको भिनाजु म गयौ ।
हुनेवाला श्रीमतीको तर्फबाट औपचारिकता पुरा गर्नका लागि बाजे, काका र बा थिए । बाजेले कुरा निकाले । अनि ‘तामाङको विहेको कुरा गर्न आउँदा सगुन ल्याउन पर्दैन ?’
तामाङको जे कुरामा पनि सगुन चल्छ । झन अर्काको छोरी माग्न जाँदा हात खाली जाने कुरै भएन । ल्या अघिको सगुन कता राखे भिनाजुले ।
गाउँमा हुँदो हो त रोटी बन्थ्यो । तीन पाने आइरग(रक्सी) बन्थ्यो । विहेको कुरा गर्नु एक महिना पहिले देखि नै साङाला जिर्मा(कोदोको तोङबा) उसिनिन्थ्यो । अनि धेरै बेला देखि खाली बसेको धर्बुङ(ध्याम्पो)मा जीबाब(जाँड) तयार हुन्थ्यो । भोमसिं(उत्तिस) घारीबाट भोमसिंको दाउरा ल्याएर आगनमा तीन पाने तयार गरिन्थ्यो ।
बे गर बेर भनेर थाकेको आमालाई पाराङ(माइला)को विहेको रन्को लाग्दो हो । अलि अलि गनगन गरेर फेरी तीन पाथी तीन पाने आइरक तयार हुँदो हो । कतिको कडा भएछ भनेर यसो चाख्दा चाख्दै आमा रिम रिम हुँदी हुन् । सुरमा लु अब हाम्रो जिम्मेवारी भनेको यस्तै हो बाँकी आफै जान्ने भइस के कसो गर्ने हो गर भन्दि हुन् ।
आइरक कतिको कडा भएछ भनेर अलि कति बलेको आगोमा छर्दि हुन् । आगो भरर बल्दो हो । आमा कडा भएछ अब सम्धीखलक खुसी हुने भए भनेर मख्ख पर्दि हुन् ।
म लखर लखर सहरमा डुलेको डुलेकै हिड्ने मान्छे । शहरमा आमा आउने कुरा भएन । न तीन पाने पार्ने कुरा भो । सम्धीखलकलाई वियर ख्याउने मेरो र भिनाजुको सल्लाह थियो ।
भिनाजुले वियर लिगेर कसलाई दिए थाहा भएन । बाजे सिटिङ रुममाथे । बुढाले एकै झप्कोमा सगुन सोधे । हो पनि चलन त्यस्तै थियो । सगुन विना कुटुम्बको छोरी माग्न आउने कत्रो आँट ? बुढालाई लाग्यो होला ।
भिनाजुले विस्तारै भने ‘हजुर ल्याएका छौ नी बाजे । उता कोठामा होला ।’
‘यहाँ पो ल्याउने हो सगुन भनेको कता उता ?’ बुढाले कडा स्वरमा भने ।
काकाहरु थिए । ती सबै बाजेका अघि चु बोलेनन् ।
‘भैगयो बा यहाँ कस्ले खान्छ र वियर ?’ हुनेवाला ससुरा बा बोले ।
‘तै पनि सगुन छ्योत(देवीदेउतालाई चढाउने) त गर्नु पर्यो नि ?’ बाजेले ढिप्पी कसे ।
आफू शैलुङको थोकर । जता पनि सगुनमा तीन पाने चल्ने । हुने वाला श्रीमती जनकपुरको । त्यहाँको तामाङको के चलन छ ? लभ गर्ने बेला सोधिएन ? सोधेको भए पनि के थाहा हुँदो होला र ?
कडा ससुराली परे सगुन के के ल्याउने हो पहिले नै खबर पुग्छ । कति सोली रोटी, कति वटा कुखरा, कति पोङ आइरग ? भनेको जति पुगेन भने हुनेवाला ससुराली खलकले हुनेवाला ज्वाई खलकलाई छोरी नदिन पनि सक्छ । के हो कुटुम्ब खलक जाबो त्यति सगुन पनि भनेको जति ल्याउन नसक्नेले हाम्रो छोरीलाई जिन्दगी भरि कसरी खुशी राख्न सक्छ ? लौ हामी त छोरी नदिने भन्ने कुरामा पो पुगियो । एकै सासमा निर्णय आउन सक्छ ।
मेरो पनि बुढाले हुन्न हाम्रो नातिनी जाबो एक दुई पाथी आइरग पनि ल्याउन आँट नभएको थोकरलाई यत्रो नाम भएको जनकपुरको खान्दानी बोमजनको छारी कसरी दिने भन्ने पो हुन कि ।
उता कोठाबाट वियर आयो । बाजेले छ्योत गरे । अनि सगुन सबैलाई अलि अलि दिए । काका, हुने वाला ससुराबा कसैले पनि वियर खाएनन् । सबैले वियर भनेको कहिल्यै नाम पनि नसुेको झै गरे । म आईरग वियर केही नखाने भनेको त हुनेवाला ससुराली खलक पनि नखाने नै परेछन् । मलाई यस्तो लाग्यो । आज वित्यास नै गरिएछ कि के हो ? फलफूल जुस ल्याउन पर्ने थियो कि क्याहो । बिहे गरेको धेरै बर्ष पछि मात्रै थाहा भो बाजे भएर मात्रै पो नखाने भनेका रहेछन् । बाजे नहँुँदा नखाने मान्छे नै रहेनछन् ।
………………………………
दशक नाघेछ विहे भएको पनि । दुबै जना पत्रकारिता गरि टपल्थ्यौं । खान पुग्ने, लखर लखर घुम्न पुग्ने । काठमाडौमा प्रगति हुने छाँटकाँट केही देखिएन । मेरा त तलब नियमित थियो । श्रीमतीको तलब कहिल्यै समयमा आए पो । अझै पनि केही टेलिभिजनमा काम गरेको तलब लिन बाँकी नै छ । यसरी कसरी छोराछोरी पाल्ने ? घर चलाउने । पत्रकारिताले जिन्दगी चलाउन गाह्रो छ ।
भैगयो हिडिदिउँ विदेशतिर । आँटेर गरे पछि पुग्छ भन्थे पुग्यो पनि । विदेश हिडौं भनेको चार पाँच महिना मै अर्कोको देशमा नोकरी गरेर आम्दानी गर्न हिडियो । यस समयमा केही नयाँ देखियो । केही नयाँ भोगियो । भाषाका कुरा होलान् कामका कुरा होलान् । जिन्दगी एक रफ्तारमा हिड्ने कुरै आएन । कहिले माथि कहिले तल त भैहाल्ने भयो ।
कहिले कस्को ठूलो स्वर भो होला कहिले कस्को ? यात्रा निरन्तर छ । यहि त होला जिन्दगीको सगुन पनि ।