छक्का पञ्जा ४ को कोरिया (जिन्छन शो) अप्रिल ०२ मा हुने
पछिल्लो समयमा रिलिज भएको नेपाली चलचित्रप्रेमी दर्शकहरुको रोजाईमा परेको अत्याधिक सफल नेपाली कथानक चलचित्र छक्का पञ्जा ४ अप्रिल ०२ तारिक ख्वाङ्ग्वेन् पूल क्लबको आयोजनामा कोरियाको जिन्छन मेघा बक्समा प्रदर्शन हुने भएको छ ।
जिन्छनको बस टर्मिनलसँगै रहेको मेघाबक्स हल सम्भवत: कोरियामा नेपाली चलचित्र प्रदर्शन गर्ने हलहरु मध्ये सबैभन्दा सुविधा सम्पन्न अत्याधुनिक हल भएको आयोजकको दावी छ । नेपाली जनसमुदाय विचको आपसी सद्भावको निरन्तरता साथै नेपाली चलचित्रलाई प्रोत्साहन दिने उद्धेश्यले चलचित्र प्रदर्शनको तयारीमा चलचित्र प्रदर्शन व्यवस्थापक तेज गुरुङले बताए ।
उक्त चलचित्रको शो दिनको ०२:०० बजे गरिने र चलचित्र हेर्नको टिकट शुल्क २५ हजार कोरियन वोन तोकिएको छ । कोरियास्थित राप्ती समाज दक्षिण कोरियाले सउल शो र इक्सान नेपाली समाजले इक्सान शो भव्यताका साथ प्रदर्शन गरिसकेको छ । राप्ती समाजले कोरियाको भित्र्याएको सो चलचित्र भरपूर कमेडीसहित नेपालमा व्यप्त समस्या, माया सम्बन्धमा रोचक ट्विस्ट र राजनैतिक बेथितिहरु देख्न सकिने भएकोले चाैथाे सिक्वेलको यो चलचित्र पनि धेरै दर्शकहरुको रोजाईमा पर्दै आएको हो ।
यसभन्दा अघि सोही हलमा कबड्डी ४ र प्रेमगीत ३ को सफलतापूर्वक भव्य प्रदर्शन गरिएको थियो । चलचित्र हेरेर भरपूर मनोरञ्जन लिनुहुन कोरियास्थित सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा आयोजक ख्वाङ्ग्वेन् पूल क्लबले हार्दिक अनुरोध गरेको छ ।