‘आप्रवासी नेपाली समाज ख्यङ्साङ्नामदो’ गठन
दक्षिण कोरियाको ख्यङ्साङ्नामदो प्रान्तमा कार्यरत नेपालीहरुको भेलाले मार्च २६ तारिख आइतबार छाङ्वनस्थित माइग्रेन्ट सेन्टरको कार्यालयमा ‘आप्रवासी नेपाली समाज ख्यङ्साङ्नामदो’ गठन गरेको छ । उक्त भेलाले धन बहादुर मगरको संयोजकत्वमा २० जना सदस्य सहितको संस्था गठन गरेको हो । विभिन्न क्षेत्रमा कार्यरत नेपालीहरुलाई एकजुट गर्दै प्रवासी भूमिमा नेपाल र नेपाली संस्कृतिलाई चिनाउने तथा नेपालीहरुको हकहितलाई उजागर गर्दै अघि बढने उदेश्यले गठित उक्त संगठनको सदस्यहरुमा बाला राई, केदार अधिकारी, सुशील भण्डारी, गोकुल पौडेल, नवराज पाण्डे, नारायण गिरी, रबिन्द्र बहादुर शाही, प्रकाश आचार्य, प्रकाश सापकोटा, हेमन्त गुरुङ, लोकेन्द्र शाही, जीवन शर्मा, मनिष मगर, दीपक पौडेल , बल बहादुर काउचा, रेन्जन दोङ, मनीषा खोर्जा मगर, ईन्द्र तामाङ, शंभू राई रहेका छन् ।
जातीय, वर्गीय, धर्म र राजनीतिबाट फरक रहेर प्रवासमा मात्र हामी नेपाली हो भन्ने भावनासहित विशुद्ध सामाजिक कार्यमा जोड दिने लक्ष्यसहित यो संस्था ख्यङ्साङ्नामदो क्षेत्रमा रहेका हरेक नेपाली दाजुभाई दिदीबहिनीहरुको साझा चौतारीको रुपमा रहने संयोजक मगरले बताउदै ख्यङ्साङ्नामदोमा रहनुहुने सम्पूर्ण नेपाली समुदाय तथा संघ संस्थाहरुलाई समेत यो संस्थामा जोडिनको लागि आग्रह गर्नुभयो ।
त्यसैगरी ख्यङ्नाम माइग्रेन्ट सेन्टर छाङ्वनमा कार्यरत योगिता गौतमले माइग्रेन सेन्टरबाट हुने विविध कार्यक्रमहरुमा नेपाली दाजुभाई दिदीबहिनीहरुको सक्रिय सहभागिता हुदै आएको बताउदै आज भएको नेपाली समुदायको गठनले आउने दिनमा नेपालीहरुको उपस्थिती मात्र होइन अझ सक्रिय भएर अगाडी बढ्ने हौसला मिल्नेमा जोड दिनुभयो । नेपाली भाषा अनुवादक तथा परामर्शदाता गौतमले माइग्रेन्ट सेन्टरले यहि मे महिनाको २१ तारिख आइतबारका दिन आयोजना गर्ने ‘टुगेदर डे ‘ (세계인의날)र अक्टोबर २२,२३ र २४ तारिख हुने आप्रवासीहरुका लागि कोरियाकै सबैभन्दा ठुलो साँस्कृतिक महोत्सव ‘माम्फ’मा यो संस्थाले धेरै नेपालीहरुलाई समेटेर लैजानेमा आफु विस्वस्त रहेको बताउनुभयो ।