वन्जु मुन्माक मैत्री समाजले अप्रिल १६ मा बृहत बैठक गर्दै कार्यसमिति स्वरुप परिमार्जन गर्ने
कोरियाको दक्षिणी पूर्वी भेग अन्तर्गतको ख्वङ्वन्दो क्षेत्रको वन्जु र मुन्माक लगायतका ठाउँमा रहेका नेपालीहरुको समेट्दै स्थापना भएको वन्जु मुन्माक मैत्री समाजले यही अप्रिल १६ तारिक बृहत् बैठक गर्ने भएको छ । संस्थालाई थप चलायमान र पुनर्ताजगी दिने अभिप्रायले सो बैठक आयोजना गरिएको र समाजको कार्यसमितिमा केही फेरबदल गरी आगामी कार्ययोजना तय गरिने समाजका अध्यक्ष विष्णु खत्रीले जानकारी दिए ।
कोरियामा रहेका नेपालीहरुलाई पर्ने हरेक समस्या र दुःखको बेला बन्धुत्व र मानवीय संवेदनालाई मध्यनजर गर्दै विशुद्ध सामाजिक सेवाको अवधारणा सहित गत वर्षको अप्रिल १६ मा विष्णु खत्री अध्यक्ष रहने गरी १६ सदस्यीय संस्थाको पहिलो कार्यसमिति गठन गरिएको थियो ।
बृहत् बैठकको लागि अप्रिल १६ तारिक मिति तय गरिएको तर स्थान समाजको फेसबुक पेज र ग्रुप मार्फत् जानकारी दिने तयारी भइरहेको समाजका महासचिव सुभाष ठकुरीले बताए । सो दिनमा ख्वङ्वन्दो क्षेत्रको वन्जु र मुन्माक लगायतका ठाउँमा रहेका समस्त नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई सल्लाह, सुझाव, सहकार्य तथा मार्गनिर्देशनको अपेक्षा सहित गरिमामय सहभागिताका लागि आयोजकले हार्दिक निमन्त्रणा गरेको छ ।