आमा
हाम्रो घर देखि दस मिनेट ओरालो झरे पछि हाम्री ठूली दिदीको मितिनीको घर छ । हाम्रा घर देखि ओरालो झेरे खत्रीका घरहरु छन् । दिदीको मितिनी पनि खत्री नै हुन । आमा बेला बेलामा गफिन मितिनी आमाकोमा जान्थिन् । कहिले कही अलि कति धान बोकेर आउँथिन् । कहिले कही एउटा गुन्द्री बोकेर आउँथिन् ।
मितबा घरमा थिएनन् । तिनी ईन्डियामा थिए भन्थे । कहिले कही आएको याद छ । तिनी चटक्क आइरन लाएका सर्ट र पाइन्टमा गाउँ आउँथे । एउटा टलक्क टल्किने घडी हातमा हुन्थ्यो । क्या बात क्या बात । बोली बोलीमा भनि बस्थे । गाउँमा आउँदा ती हाम्रा घरमा पनि आउँथे । हाम्रो घरमा केही काम गर्न परे सगुन लैजान खान जाँड रक्सी बन्थ्यो । बन्छ ।
आइरग पिनोले । (रक्सी देउ न ।) बा भन्थे ।
हाम्रो घरमा ठूलो प्लास्टिकको कप थियो । एक माने कप हो आमा भन्थिन् । त्यही कपमा मित बा लाई रक्सी तयार हुन्थ्यो ।
उनी गिलासमा भएको रक्सी स्वट्ट पार्थे । फेरी गफिन्थे । तिनका गफ म बुझ्दैनथेँ । क्या बात क्या बात । उनको गफिने थेगो थियो । त्यो भनेको केहो आफैलाई थाहा नभए पनि रमाइलो लाग्यो । मान्छे अग्ला थिए । सलक्क मिलेको ज्यान गहुँगोरो । मलाई लाग्थ्यो ईन्डिया जाने मान्छे कति राम्रो त है ।
अलि कति भए थपि दिनुस् । मित बा लाजै नमानि माग्थे । कहिले कही आउने मित बा । हुन्न भन्नु पनि भएन ।
बा आमा तिर हेर्दै भन्थे । मुसम पिनोले । (भए देउ न ।)
आमा थपि दिन्थिन् । मित बा झन्डै दुई माना रक्सि खाए पछि रिमरिम हुन्थे । उनको गाला रातो हुन्थ्यो । उनी अर्कै मान्छे हुन्थे । फेरी अलि कति दिनुस् न ।
हुन्न हो मित बा । अब तँपाईलाई बढि भयो जस्तो छ । बा भन्थे ।
मसँग पैसा छैन भनेर हो ? क्या बात यो एक सय आइसी हो । यो राख्नुस् दिनुस् । उनी मैले कहिल्यै नदेखेको नयाँ नोट निकाल्थे । पैसा नै होला र ? मलाई लाग्थ्यो ।
कहाँ बेच्ने पैसा हुनु मित बा हुन्न । घर जानुस् । आमा भन्थिन् ।
उनी रिसाउँथे । घर जान्थे । मितबा एक दुई महिना गाउँमा बसेर ईन्डिया जान्थे । मित बा ईन्डिया गए पछि घरमा मितदाइ थिए । दिदीको मितिनी थिई ।
आमा घरका कुरा मिलाएर तिनै मित आमाको जान्थिन् । मित आमा र आमा गफिदा हुन् । आफ्ना लोग्नेका कुरा गर्दा हुन् । दुःखका कुरा गर्दा हुन् । घरका, छोरा छोरीका, पाख्रा पाठाका, गाई भैसीका खेतीपातिका, माईतीका सबैका कुरा गर्दा हुन् । घाम कालिञ्चोक पुग्थ्यो । आमा आउँदैनथिन् । घाम गौरीशंकर हिमाल पुग्थ्यो । आमाको अतोपतो हुँदैनथ्यो ।
हामी बच्चा गु्रप हिमालबाट घाम कटे पछि घर अगाडीको नासपातिको रुखको छेउमा जम्मा हुन्थ्यौं । नासपातिको रुख छेउबाट मितआमाको घर माथिको डाँडोसम्म देखिन्थ्यो । आमा छैन । हामी मध्ये कसैले सानो स्वरमा आमा भन्थ्यिौं । त्यस पछि सबै जना पालो पालो गरेर आमा आमा भन्दै चर्को झन चर्को स्वरमा कराउँथ्यौ ।
आमा समयमै घर नहुनु भनेको गाई भैसीलाई घाँस नहुनु हो । भैसीको दुध समयमै नदुहिनु हो । समयमै भात नपाग्नु हो । यो सबै भनेको सधै भन्दा ढिला सुत्न पाउनु हो । त्यसैले हामी नासपातिको रुखको फेदमुनी बसेर मितआमाको घर तिर हेर्दै कराउँदै गरेका गरेकै हुन्थ्यौं ।
आमा रिसाउँदै आउँथिन् । दिदी र दाइ उमेरले ठूलै थिए । त्यस पछिको ठूलो मै थिएँ । आमा बोलाउ अभियानको मुख्य हर्ताकर्ता मै हुन्थेँ ।
तिला ताजी है क्लिचावा नाखीजुगु । (के भयो है छाउराहरु ?) आमा तल डाँडैबाट कराउँथिन् ।
हतारहतार भैसीलाई घाँस हाल्थिन् । दुध दुन्थिन् । ढिडो पकाउन पानी तताउँथिन् । हामीलाई गाली गर्थिन् । मलाई लाग्थ्यो संसारमा हाम्री आमा जस्तो छिटो काम गर्ने कोही छैन । झन मित आमाकोमा गएर आए पछि आमा फ्रेस हुन्थिन् । मज्जाले गफिएर होला ।
हामीसबै जम्मा भए पछि आमाले यसो पटुको खोल्थिन् । ध्यूमा पोलेको गहुँको एउटा रोटी हुन्थ्यो । हामी बच्चा ग्रुप छौं । एउटा रोटी छ । कति कति खानु । आमाले बाँडेर दिन्थन् । वा क्या मिठो । चिनी हालेको गहुँको ध्यूमा पोलेको रोटी । मलाई लाग्थ्यो म ठूलो भए पछि दिन दिन यस्तै चिनि हालेको गुलियो गहुँको रोटी खानेछु ।
………………..
अहिले आएर सोच्छु मितआमाले धेरै पछि आएको पाहुना मानेर ध्यूमा एउटा रोटी बनाएर दिदाँहुन् । आमा यसो खाएको जसो गर्दी हुन् । गफै गफमा हामी बच्चाको ग्रुप सम्झिदी हुन् । ला मेरो छोराछोरीलाई त मलाई भन्दा बढि भोक लाग्यो होला । यस्तो गहुँको पिठो चिनी हालेर ध्यूमा रोटी बनाएर नदिएको त कति भो कति । मित आमा अर्कै धुनमा हुँदी हुन् । आमा यसो हतार हतार रोटी पटुकीमा च्याप्प कसेर बान्दी हु्न् । अनि रोटी खाई सकेको बाहना गर्दी हुन् ।
संसार भर हुने सबै आमालाई सम्झना । माया ।