२०२३ छुसकमा मनोरञ्जनको सांगीतिक फुल प्याकेज “आँधीखोला सांगीतिक सौगात-६”
स्याङ्जा परिवार दक्षिण कोरियाले यस वर्षको कोरियन चाड २०२३ छुसकको अवसर पारेर “आँधीखोला सांगीतिक सौगात-६” आयोजना गर्ने भएको छ । आपतकालीन राहत कोष स्थापना सहयोगार्थ उद्धेश्यका साथ आउँदो सेप्टेम्बर २९ तारिक (छुसकको दोश्रो दिन) मा सो कार्यक्रम गर्ने भएको हो ।
पछिल्लो पटक बसेको बृहत् बैठकले संस्थाका केन्द्रीय पूर्वाध्यक्ष तथा वर्तमान वरिष्ठ सल्लाहकार युवराज गुरुङ कार्यक्रम संयोजक रहने समिति गठन गरिएको छ । प्रारम्भिक चरणको बैठक सम्पन्नसँगै केही कलाकार आउने लगभग निश्चित भईसकेको र बाँकी प्रस्तावित कलाकारहरु भिषा लगायतको अन्य काम तीव्र गतिमा भईरहेको कार्यक्रम संयोजक गुरुङले जानकारी दिए ।
आधुनिक/पप, लोक तथा दोहोरी, नृत्य र हाँस्य विधाका सबै कलाकारहरु ल्याउने संस्थागत निर्णय भएको र केहि दिनमा टुङ्गो लागिसकेपछि सार्वजनिक गरिने संस्थाका केन्द्रीय अध्यक्ष तथा मूल आयोजक समितिका संयोजक भक्त थापाले बताए । संस्थाका केन्द्रीय सचिव टोजिन्द्र गुरुङले थपे – “एउटा पूरा सांगीतिक प्याकेजबाट भरपूर मनोरञ्जन लिन सकिने यो बृहत् सांगीतिक कार्यक्रमका लागि हल, कलाकार र विविध व्यवस्थापनको बारे तयारी अझ तीव्र गरिरहेका छौं ।”
यस अघि पाँचौं संस्करणसम्म संस्थाले आँधीखोला सांगीतिक सौगात” आयोजना गरेर कार्यक्रम भव्यताका साथ सफल पार्दै आफ्नो गृहजिल्लामा शिक्षा, अन्य विविध क्षेत्र र स्वास्थ्य क्षेत्र अन्तर्गत दुईवटा एम्बुलेन्स भ्यान समेत सहयोग गरिसकेको छ । यसपटकको कार्यक्रम पनि भव्य र सभ्य रुपमा सफल पार्न कोरिया स्थित सम्पूर्ण संघसंस्था एवं नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा आर्थिक, नैतिक र भौतिक सहयोग गर्नुहुन आयोजक स्याङ्जा परिवारले हार्दिक अनुरोध गरेको छ ।