किम्हे कोरियामा सेप्टेम्बर २९ मा छुसक डान्स पार्टी २०२३ हुने
कोरियाको किम्हेमा सेप्टेम्बर २९ तारिक अर्थात् छुसकको दोश्रो दिन छुसक डान्स धमाका २०२३ हुने भएको छ । तमू धीं दक्षिण कोरिया ख्यङ्साङ्नाम्दो बुसान शाखाको आयोजनामा आपतकालीन राहतकोष स्थापना सहयोगार्थ उद्धेश्य सहित किम्हेको सुविधा सम्पन्न हल (김해시 거야로 202 (태평포시즌 101 호) मा उक्त कार्यक्रम आयोजना गरिने भएको हो ।
कोरियाको DJ को दुनियाँमै एकछत्र राज गरिरहेका सबैखाले मिक्स संगीत बजाउन माहिर DJ CMAN को साथमा नवोदित गायक हेमन्त गुरुङ, गायिका झुना गुरुङ, अर्जुन सुब्बा र र्यापरहरु रुबिन रेग्मी र दिनेश गुरुङको प्रस्तुति रहने आयोजक संस्थाका अध्यक्ष गिता सिंह गुरुङले जानकारी दिए । “Sep 29 जब हुन्छ सूर्य अस्त, किम्हे शहर Dance Party मा मस्त” भन्ने आकर्षक कार्यक्रमको नारासँगै सम्पूर्ण तयारी लगभग सकिएको संस्थाका संरक्षक गोपाल गुरुङले बताए ।
प्रवेश शुल्क २० हजार कोरियन वोन निर्धारण गरिएको सो “Xusak Dance Party छुसक धमाका २०२३” मा बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म रमाउन सकिनेछ भने किम्हेको लिटिल इण्डिया रेष्टुरेन्ट अगाडिको चोकबाट कार्यक्रम हलसम्म जान नि:शुल्क बसको व्यवस्था समेत गरिएको छ ।
कोरियास्थित विभिन्न संघ संस्थाहरुसँग सहकार्य र समन्वय गर्दै परोपकारी कार्यमा अग्रसर रहँदै आएको तमू धीं ख्यङ्साङ्नाम्दो बुसान शाखाद्धारा आयोजित सो कार्यक्रममा सहभागी भई कार्यक्रम सफल बनाईदिनुहुन सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा आयोजकले हार्दिक अनुरोध गरेको छ ।