फोनिज कोरियाद्वारा आधारभूत पत्रकारिता तालिम सम्पन्न
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ दक्षिण कोरिया (फोनिज कोरिया) द्वारा १ दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न गरेको छ । सेप्टेम्बर ९ तारिख शनिबार जूम मार्फत तलिम सञ्चालन भएको थियो ।
तालिममा फोनिज कोरिया र कोरियामा रहेका जातिय संस्थाहरुमा आबद्ध पत्रकारितामा रुचि राख्ने करिब ३० जनाको सहभागिता रहेका थिए ।
तालिममा बाला राईले पत्रकारिताका आधारभूत सिद्धान्तको बिषयमा प्रशिक्षण दिएकी थिइन्। राई फोनिज कोरिया डट नेटका प्रधान सम्पादक हुन् । पत्रकारितामा स्नातक गरेकि राई नेपालमा हुँदा अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिकमा एक दशक पत्रकारिता गरेकि छिन् ।
त्यस्तै मञ्जु गुरुङले ‘परदेशमा पत्रकारिताका अनुभव’ बारे आफ्नो अनुभव बाँडेकी थिइन् । गुरुङ फोनिज कोरियाको संस्थापक अध्यक्ष तथा वर्तमान सल्लाहकार हुन् । उनले पनि छापा तथा टेलिभिजन पत्रकारितामा दशक अनुभव हासिल गरेका छन् ।
अन्त्यमा गोकुल थोकरले समाचार लेखन अभ्यास गराएका थिए । थोकर कान्तिपुर समाचारदाता तथा फोनिज कोरियाका अध्यक्ष हुन् । पत्रकारितामा स्नातकोत्तर गरेका उनले रेडियो, छापा र टेलिभिजन तिनै सञ्चार माध्यमहरुमा लामो समय पत्रकारिता गरेका छन् ।
कोरियामा रहेर पत्रकारिता गर्दै गरेका र पत्रकारितामा रुचि राख्ने आदिवासी जनजातिहरुलाई लक्षित गरेर आधारभूत पत्रकारिता तालिमको आयोजना गरिएको हो । आगामी दिनमा तालिमलाई निरन्तरता दिने फोनिज कोरियाले जनाएको छ ।