बा

बा गीत उधुम गाउँथे । फावारे गीत ।
भाषा तामाङ हुन सक्थ्यो । नेपाली हुन सक्थ्यो । बा गीत गाउँथे ।
उनलाई नजिकको हाट जात्रा मात्र होइन टाढाको सिम्बु(स्वयम्भू) बौद्धको जात्रा नगई हुदैनथ्यो । पुग्थे । गीत गाउँथे । उनका दौतरी थिए । केटा दौतरी । केटी दौतरी । उनलाई फावारे गीत गाउन पाए सबै कुरा भुल्थे । विर्सिन्थे । तीन दिन तीन रात गाउँथे रे । हाम्रो भेगमा उनका बेलामा उनी एक नम्बरमै थिए क्यारे ।
थोकर बा को म छोरा
घिसिंङ आमाको दुध खाको
परदेशी माया खोज्नलाई
मिल्यो भने घरबार जोड्नलाई
सिम्बूको जात्रा हेरेर
बौद्धको जात्रा हेरेर
नयाँ मायालु खोज्नलाई
शैलुङ देखि म आको
मन भाको मनकारी कोही भए
खेल्औं गीतको जुहारी
बन्ने भए थोकरको बुहारी ।
उनी गीत गाउँदै गाउँदै केटीहरुको गाउँसम्म पुग्थे । जान पर्ने पूर्व गीत गाउँदै पश्चिम पुग्थे । गीत सकिए पछि बल्ल घर सम्झिन्थे । परिवार सम्झिन्थे । एक घन्टामै पुगेर एक दुई घन्टा बसेर आउन सकिने ठाउँ पनि उनको लागि दुई दिन लाग्न सक्थ्यो । बा बिन्दास थिए । छन् ।
जात्रामा पुरानो दौतरी नदेखे नयाँ दौतरी पनि खोजि हुन्थ्यो । फाबरे गीत समूहमा गाईने गीत हो । दौतरी बाँधेरै गाईन्थ्यो । बाका साथी थिए । कोही सिकारु थिए । कोही भर अभरमा शब्द निकाल्ने पनि थिए । उनले भाका, भाषा र लय निकाल्दै गाउँथे । साथीभाई स्वर थप्थे । स्वर थप्ने साथीभाइ दुई जना भन्दा बढि नै हुन्थे ।
नयाँ केटी दौतरी खोज्नलाई अलि अप्ठ्यारै थियो क्यारे । राम्री लाग्नेको छेउमा गयो गाउन सुरु गर्यो ।
कहाँ हो घर के थर ?
यो जात्रामा आएर
फाबरे गीत गाउँने रहर ।
मन पनि सफा ज्यान राम्रो
तँपाईको रिसाउने नभए
मनको कुरा भन्दिनु
यो थेवा(जेठा) बचन हेरिदिनु ।
गायकलाई छ्याङ(जाँड) हुन्थ्यो । तीन पाने आइराग(रक्सी) हुन्थ्यो । त्यो नभए निगार हुन्थ्यो । गीत गाउँदै जाँदा समयको कसलाई के भेउ । न कसैको हातमा घडी छ न कसैलाई हतारो । शैलुङे भुटेका आलु छन् । उसेनेका आलु छन् । गाहुँका रोटी छन् । फापारका रोटी छन् । हाम्रा बा गायकलाई दिएका छन् । खाएका छन् । हाम्रा बा स्टार हुन कन्सर्ट गर्दै गरेका ।
हाम्रो शैलुङ लेकैमा मयुर जोडी नाचेको
जिन्दगी हाम्रो दुई दिनको
मरेर लानु के छ र ?
सम्झना हुन्छ बोलेको, सम्झना हुन्छ हासेको ।
त्यो बेला क्यासेट सबैको पहुँचमा थिएन । भएका पनि महंगो ब्याट्रि किन्ने हैसियत थिएन । गाउँमा टिभी थिएन । गाउँमा मनोरञ्जनका अन्य माध्यम थिएन । त्यसैले हाम्रा बा र उनका टोलीलाई सुन्ने मान्छेका हुल हुन्थे । घ्याङाली जेठाको गीत भने पछि सुन्ने मान्छेका ताँती हुन्थे । केही काम परेर कुनै हाट जात्रा पुगेनन् भने मान्छेहरु भेटमा सोध्थे किन आउनु भएन ?
घ्याङ हाम्रो गाउँ भन्दा अलि पल्लो गाउँ थियो । हाम्रा बाजे बराजु त्यतै बाट बसाई आएका रे । त्यसैले हाम्रा बाजे बा को नामको अघि घ्याङ लाउँथे । बा परिवारका जेठा हुन्। त्यसैले घ्याङाली जेठा ।
बाका कुरा काट्ने पनि थिए । आमालाई भन्थे तिमी सोझी भएर हो जेठा गीताङे भएर हिड्न पाएको । कता पुग्नु पर्ने मान्छे कता गएको हामीले देखेको हौ । कहिले फस्कू पुगेको छ । कहिले भुरुङ्ग पुगेको छ । कहिले काटाकुटी पुगेको छ । अलि सम्झाउनु है ठूली जेठोलाई । आमा हास्थिन् भनेको लाग्ने भए पो । कुरा सकिन्थ्यो ।
बुढ्यौली लाग्दै गए पछि बा हाटजात्रा गएर गीत गाउन छाडे । घरमै गाउँथे । घाँस दाउरा गर्दा गाउँथे । आधुनिकता बढेसँगै हाटबजारको भाउ ह्वात्तै घट्यो । बाको गाएकी पनि घट्यो । आजकाल बाले फाबरे गीत गाएको नसुनेको धेरै भयो ।
कहिले कही युट्युव तिर अरुका गीत सुनिन्छन् । हाम्रा बाका पालामा युट्युव भएको भए बाले फाबरे गीत गाउँदा हुन् र ?