विनेश राईको ‘आगो टेक्छ योद्धा’ गजल सङ्ग्रहमाथि कोरियामा चर्चा
कवि तथा गजलकार विनेश राई ‘मिन्जाई’ले लिखित गजल सङ्ग्रहमाथि कोरियामा सार्वजनिक तथा चर्चा भएको छ । उनको दोस्रो संस्करण प्रकाशित पुस्तक ‘आगो टेक्छ योद्धा’ माथि चर्चा भएको हो ।
आदिवासी जनजाति साहित्यकार/लेखक महासङ्घको आयोजनामा कोरियन चाड छुसकको अवसरमा सेप्टेम्बर २९ गते सउलमा भएको हो । कार्यक्रममा पुस्तकमाथि साहित्यकार ह्यारी बोण्ड, स्पन्दन दीपक खनाल र शकुन आँशुले चर्चा, परिचर्चा गरेका छन् । साहित्यकार ह्यारी बोण्डले सङ्ग्रहमा रहेका गजलहरूको संरचनागत पक्षमाथि र स्पन्दन दीपक खनालले वैचारिक पक्षमाथि चर्चा गरिएका थियो । त्यस्तै कवि शकुन आँशुले गजलहरूको सौन्दर्य चेतमाथि परिचर्चा गरेकी थिइन् ।
आदिवासी जनजाति साहित्यकार÷लेखक महासङ्घको अध्यक्ष समीप खेम पुनको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथिमा नेपाल आदिवासी जनजाति महासङ्घ दक्षिण कोरियाको अध्यक्ष विशन राई थियो । अतिथिहरूमा अनेसासका वरिष्ठ उपाध्यक्ष रामचन्द्र शर्मा, मुक्तक प्रतिष्ठानका अध्यक्ष आर एन अधिकारी, इतर अभियान प्रतिनिधि मातृका नेम्वाङ, फोनिज कोरियाका अध्यक्ष तथा पत्रकार गोकुल थोकर, खोटाङ सेवा समाजका अध्यक्ष सुष्मा रानाहँमा राई, किराँत राई यायोक्खा साहित्य विभाग प्रमुख दुलर्भ काइला लगायतका उपस्थित थियो ।
गजलकार मिन्जाईको पहिलो संस्करण वि.सं. २०६८ मा बजारमा ल्याएको थियो ।