सोनाम ल्होछार सलनालको पहिलो दिन
नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले सलनालको पहिलो दिन सोनाम ल्होछार मनाउने भएको छ । मन्जुश्री सम्वत २८६० औं डुक ल्हो (पुख्री ल्हो) गडुल वर्षमा नेपाल लगाएत विश्व भरि रहेका तामाङहरुले सोनाम ल्होछार मनाउँदै आएका छन् ।
फेब्रुअरीको ९ तारिखमा ल्होछार गर्न लागेको घेदुङका अध्यक्ष राजकुमार स्याङतानले जनाएका छन् । ‘हामीले नेपालबाट तामाङ कलाकार सहितको भब्य सोनाम ल्होछार गर्नेछौं । अघिल्ला बर्षहरु भन्दा अझ ब्यवस्थित र भब्य बनाउने प्रयास हाम्रो हुनेछ ।’ उनले थपे ।
नेपालमा रहेका तामाङहरुले ल्होछारको तिथी अनुसार नै मनाउने भए पनि कोरियामा रहेका तामाङले भने सलनालको विदामा ल्होछार मनाउँदै आएका छन् । कलाकार को को आउने र हल कहाँ हुने भन्ने छलफल भैरहेको घेदुङका महासचिव दावा फेन्जो तामाङले जानकारी गराए । ‘हामी राम्रो ठाउँ हेर्दै छौं । कलाकारहरु को को आउने भन्ने पनि छलफल हुँदैछ ।’ उनले भने ।
सन् २००३ मा स्थापना भएको घेदुङको ख्याङ्सान बुसान र जेजु गरि दुई वटा शाखा रहेको छ । कोरियामा चार हजार भन्दा बढि तामाङ रहेको अनुमान छ ।