पत्थर, चरा र मेसिन
पत्थर हुन्थे त !
मन्दिरहरूमा कैद हुन्थे
मान्छेहरूको विश्वास माथि शोषण गर्थे
कदापी क्रुर पत्थर बन्ने
चाहाना राखिन
चाहाना राख्नुले मात्रै
कोमल नहुने रहेछ
न त हुने रहेछ
कठोर
म त मान्छे बन्ने
कोसिसमा थिए
कहिले पखेटा पलायो
कहिले उड्न सिके
कहिले चरा बने
समयको कुनै खबर छैन
मसँग
चरा हुनु भनेको
स्वतन्त्र हुनु बुझेको थिए
कविहरुले काव्यमा भन्ने गरेको चरा
परदेशीको विम्ब रहेछ
म परदेशी बनेछु
प्रवासी श्रमिक भएछु
श्रमिक भए पछि
साहुले नियन्त्रणमा लिएको छ
कामको रफ्तार
मेसिनले पेलेको छ
अधिकार
आराम गर्नु श्रमिकको धर्म हैन
निरन्तर मेसिनको गतिचालमा
लय मिलाउनु हो
मेसिनसँग पैठाजोरी खेल्नु हो
अन्जान भाषामा साहुँको
अस्लिल गाली खानु हो
दास हुनु हो
मेसिन अजिङ्गर जस्तै हुन्छ
कुन बेला निलिदिन्छ
थाहा हुदैन
थुप्रै श्रमिक साथिहरु लाई
मेसिनले निलेको देखेको छु
अनि देखेको छु
एउटा सपना, भविष्य र सुखको अवसान भएको
मेसिनसँग मित्रता, दुश्मनी र सामिप्यता छ
आज पनि श्रम गरिरहको छु
मेसिनसँग
श्रम गर्दा गर्दै कहिले
मेसिन भए अत्तोपत्तो भएन
झुसिल्किरा पुतलीमा कायाकल्प
भए जस्तै
म फलाममा परिणत भए
फगत मेसिन भए
मेसिन भए देखि
म भित्र रहेको सतप्रतिशत भावहरू
विस्तारै विस्तारै झरेर
शून्यमा पुगेको छ
भाव शून्य भएको छु
भावुक हुन सक्दिन
मृत्युको खबरले स्पर्श गर्दैन
समवेदना छैन मसँग
शिशुको जन्मले खुसी बनाउदैन
शुभकामना छैन मसँग
घर सम्झनु
आमाबुबा सम्झनु
प्रियसीलाई सम्झनु
मेसिनले गर्न नसक्ने
कामहरू हुन
साथीभाइ आफन्तहरुसँग संवाद गर्न नसक्नु
आखाँले सुन्दर चिजहरू देख्न नसक्नु
जिब्रोले मिठो स्वाद लिन नसक्नु
गीत सङ्गीतमा रमाउन नसक्नु
अवसाद हुनु हैन
मेसिन हुनुको प्रमाण हो
सायद कुनै दिन
म अजिङ्गर हुनेछु
निल्नेछु सिङ्गै मेसिनलाई
निल्नेछु कहाली लाग्दो दु:खलाई
अनि
ओकल्ने छु
सुन्दर जिवनलाई ।