किरात याक्थुङ चुम्लुङ कोरियाद्वारा चासोक तङनाम मनाइयो
किरात याक्थुङ चुम्लुङ दक्षिण कोरियाद्वारा डिसेम्बर ३१ आइतवार सौल स्थित सन्बुक खुछङको हलमा लिम्बू जातिको महान चाड चासोक तङनाम विविध कार्यक्रम गरि मनाइएको छ। सेवा साम्बा प्रकाश मेन्याङ्बोद्वारा चासोक पूजा गरि कार्यक्रमको सुरुवात गरिएको थियो।
तङनाममा लिम्बू मौलिक परिकारहरु याङ्बेन, तिते, फाक्सा, वासा , तोङ्बा , थि र सेलरोटी राखिएको थियो। यि मौलिक परिकारको अलावा लिम्बू मौलिक नृत्य केलाङ र यालाङ समेत प्रस्तुत गरिएको थियो भने बुसान चुम्लुङको तर्फबाट दुइ आकर्षक नृत्य समेत रहेको थियो। चासोक तङनामका मुख्य आकर्षण द भोइस अफ नेपाल सिजन ४ का फाइनालिस्ट शाइल लिम्बूले पालाम लगायत आफ्ना अन्य गीतहरुमा दर्शकलाई भरपूर मनोरञ्जन दिलाएका थिए। यसैगरी गायक पेपराज माबुहाङ, भीम सागर मादेम्बा, मन्दिरा नेम्बाङ, युगल किशोर शेर्मा र आलाप लिम्बूले पनि आफ्ना प्रस्तुति दिएका थिए। किरात राई यायोक्खाको तर्फबाट साकेला नृत्य समेत प्रस्तुत गरिएको थियो।
चुम्लुङ कोरियाका अध्यक्ष दिर्ज काङ्भाको अध्यक्ष्यता र कोरिया स्थित नेपाली राजदूत महामहिम डा ज्योति प्याकुरेलको प्रमुख आतिथ्यमा सम्पन्न चासोकमा नेपाल आदिवासी जनजाति महासंघ कोरियाको अध्यक्ष विशन राई, एन आर एन कोरियाका अध्यक्ष वुद्धि गुरुङ, नेपाली सम्पर्क समितीका अध्यक्ष हरी खनाल लगायत अन्य जातिय संस्थाका अध्यक्ष एवं प्रतिनिधिहरुले शुभकामना मन्तव्य राखेका थिए भने संस्थाका वरिष्ठ उपाध्यक्ष सन्तोष खेवाले स्वागत मन्तव्य दिएका थिए। गतवर्ष चुम्लुङ कोरियाले गायक बुद्धराज लिम्बूको साथमा चासोक तङनाम मनाएको थियो।