ज्युदो – सातोको – बोधता – कविता
फेदाङमा,
काँसको थालमाथी दियो कलस राखेर मुन्धुम फलाक्दै
युगको साम उठाई रहेछ
पोरोम‘
पोरोम‘
पोरोम‘
सबै भन्दा उकुसमुकुस खुला हिरासतमा हुदो रहेछ
श्वास पनि उस्को आदेशमा फेर्नु पर्छ
स्वतन्त्रताको तिर्खाले घाँटी सुके पछि
पिउनु पर्दो रहेछ आफ्नै रगत ।
सकसक लाग्दो पीडा कुनै बाँधले नछेक्दो रहेछ
एकदिन टोर्नाडो भएर जमिन माथी यात्रा गर्ने नै छ
आफ्नै बोधताको पहाड चडेर
पुरै आकाश थाम्ने मन छ
टाउको निचोर कि छाती चिथोर
मलाई झिरमा टांगेर ताराक हान
तर म आफ्नै बोधता बोकेर
बाँची रहेको हुनेछु बुक्की फुल जस्तै
गिदिको तुरुङमा चेतनालाई बाँधेर
कति पनि नियन्त्रण नहुदो रहेछ समय
युगको कठघरामा उभेर
सत्यताको वयान दिनु छ
ताकी अब हार्नेहरुको पनि ईतिहास लेखिनेछ।
चोकहरुमा
सडकहरुमा
शहरहरुमा
पहाडहरुमा
एक दिन आगो लाग्ने छ,
सलाई बोकेर समयको काँध माथि उभिरहेको छु
ईतिहासको माङ्गेन्ना उठाउदै
आदिम ओछ्यानबाट ब्युँझिएर
तमोर ओकालो बग्नु छ आफ्नै ज्युदो सातो लिएर
कि म अझै साम्माङ भइ सकेको छुईन,
म जाग्ने छु
उधुम मच्चाएर जाग्ने छु
जमिन टेकेर आकाश थाम्दै
माटो जप्नेछु
ढुङ्गा जप्नेछु
विद्रोहको विशाल पहाड बोकेर
एकदिन आईपुग्नेछु सिंहदरबारको ढोकानेर ।