एनसीसी भलिबल कपको उपाधि थेसो फेमिलीलाई
अमिर योञ्जन । ‘एनसीसी रनिङ भलिबल कप–२०२४’ को उपाधी थेसो फेमिलीले जितेको छ । नेपाली सम्पर्क समिति दक्षिण कोरियाको आयोजनामा सुवनको आजु बिश्वबिद्यालयको कभर्डहलमा भएको प्रतियोगितामा थेसोले डिफेन्डिङ च्याम्पियन बागलुङलाई २–१ सेटले उपाधी जितेको हो ।
फाइनल खेलमा थेसोले बागलुङलाई १४–२५, २८–२६ र १५–१३ को सेटमा पराजित गरेको हो । फाइनलमा पहिलो सेट जितेका बागलुङले पछिल्लो लगातार दुई सेट हारेपछी उपबिजेतामा चित्त बुझाए ।
थेसाे फेमिली ‘ए’ पोलबाट लगातार जित निकाल्दै फाइनलमा ‘बि’ पोलका बिजेता बागलुङसँग भेट भएको हो । बिजेताले नगद २५ लाख कोरियन वन र उपबिजेताले १५ लाख कोरियन वनसँगै ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गरेका छन् ।
प्रतियोगिताको सान्त्वना गुल्मी भलिबल क्लब र ताप्लेजुङ भलिबल क्लब भएका छन् । सान्त्वनाले नगद पाँच-पाँच लाख कोरियन वन, ट्रफी, प्रमाणपत्र र मेडल प्राप्त गरेका छन् ।
एनसीसी रनिङ प्रतियोगितामा कोरियामा रहेका २४ वटा नेपाली भलिबल समूह सहभागी भएको थियो । भलिबल विजेता समुहलाई कार्यक्रमका प्रमुख अथिति नेपाली दुतवास सउलका उपनियोग प्रमुख पुष्पराज भट्टराई, गैरआवासीय नेपाली सङ्घ, कोरियाका अध्यक्ष बुद्धि गुरुङ, प्रतियोगीता संयोजक लोचन राई, एनसीसी अध्यक्ष हरिप्रसाद खनाललगायतले पुरस्कार हस्तान्तरण गरेको थियो ।