जुलाई ७ तारिख “गाउँ आएको बाटो” सउलमा प्रदर्शन हुँदै
विश्वभर सफल प्रदर्शन भइरहेको बहुप्रतिक्षित चलचित्र “गाउँ आएको बाटो” कोरियाको सउलमा प्रदर्शन हुने भएको छ। राजधानी सौल स्थित जोगेसा गुम्बाको हलमा फ्रेण्डस फर इभर ग्रुपद्वारा जुलाई ७ तारिख दिनको १२:३० बजेदेखि प्रदर्शन गर्न लागिएको हो।
सफल निर्देशक नविन सुब्बाको निर्देशन रहेको चलचित्रमा दयाहाङ राई, पसुपति राई, प्रशन राई आदिको अभिनय रहेको छ भने यो चलचित्र कोरियाको बुसान अन्तरराष्ट्रिय चलचित्र महोत्सवमा पनि प्रदर्शन भइसकेको छ।
कोरियामा यस चलचित्रको माग उच्च भएका कारण दर्शकहरुको सन्तुष्टिलाई मध्यनजर गर्दै प्रदर्शन गर्न लागिएको आयोजकले जनाएको छ। हल जानको लागि १ नम्बर ट्रेन लाइनको जोङ्गाक स्टेसनको गेट नं २ बाट सिधा २०० मिटर पैदल हिँडेर नै पुगिने छ।