‘नेफिन’ कोरियाले तीसौँ विश्व आदिवासी दिवस मनाउँदै
नेपाल आदिवासी जनजाति महासङ्घ दक्षिण कोरियाले तीसौँ विश्व आदिवासी दिवस मनाउने भएको छ । अगस्ट ११ आइतबार विविध कार्यक्रमको साथमा सौलमा मनाउने भएको हो ।
नेपाल आदिवासी जनजाति महासङ्घ, दक्षिण कोरियाको मुख्य आयोजनामा हुने भएको छ । त्यस्तै साढे एक दर्जन जातीय संस्थाहरु र साहित्य समाजहरूको आयोजनामा बृहत् रूपमा मनाउन लागेका छन् ।
‘‘रैथाने ज्ञान, संस्कृति र परम्पराहरूको संरक्षण, प्रवर्द्धन आजको आवश्यकता समानता, सहअस्तित्व र पहिचान प्राप्तिको निम्ति आदिवासी जनजातिहरूको एकता’’ भन्ने मूल नाराका साथ 서울특별시 성동구 금호로 118 (금호고등학교) हलमा विहान ११ बजेदेखि कार्यक्रम हुने बताएकाे छ ।
कार्यक्रममा आदिवासी मुद्दाहरूमा बृहत् अन्तरक्रिया हुने आयोजक संस्था महासङ्घले जनाएको छ । त्यस्तै जातीय मौलिक परिकारहरू तामाङ, शेर्पाको खाप्से, मगर समुदायको बारा, तरुल, गुरुङ समुदायको भाब्रे रोटी, राई लिम्बु समुदायको वाचिपा, लिम्बु समुदायको याङ्बेन र थारु समुदायको घोंगी, माछा, नेवार समुदायको छोईला, चिउरा आदि प्रदर्शन हुने छन् ।
मगरको कौराह, तामाङको सेलो, गुरुङको सोरठी, राईको सिली, लिम्बुको केलाङ (च्याब्रुङ), थारुको मघौटा, शेर्पा र ह्योल्मोको स्याब्रुलगायतका झाँकी तथा नृत्यहरू हुने छन् ।