मुनेश थापा मगरद्धारा आरुपाटा स्थित विद्यालयलाई “शैक्षिक सामाग्री” सहयोग
स्याङ्जाको वालिङ नगरपालिका वडा नंं. ५ स्थित एक एक आधारभूत सामुदायिक विद्यालयलाई सोही विद्यालयका पूर्व विद्यार्थी मुनेश थापा मगरले शैक्षिक सामाग्री सहयोग गरेका छन् । श्री कन्या आधारभूत विद्यालयमा अध्ययनरत करिब ३६ जना प्रत्येक विद्यार्थीहरुलाई विद्यालयमा आवश्यक पर्ने कापी, कलम लगायतका सामाग्री सहित १० मंसिरका दिन सोही विद्यालय प्राङ्गणमा एक कार्यक्रम आयोजना गरी सहयोग हस्तान्तरण गरिएको हो ।
विद्यालयका प्रधानाध्यापक सुमिता गुरुङले उपस्थित सम्पूर्णलाई स्वागत मन्तव्य सँगै विद्यार्थीको हौसला र पढाईप्रति जागरुकता जगाउन गरिएको सहयोगप्रति प्रशंसा गर्दै सहयोगी मुनेश थापा प्रति विद्यालय परिवारको तर्फबाट धन्यवाद व्यक्त गरिन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा सो कार्यक्रमका सभाध्यक्ष महेश गुरुङले राज्यले सरकारी तवरबाट दिएको सुविधा र संरचना मात्रै होईन, शिक्षाले क्षेत्रमा फडको मार्न पठनपाठनमा शिक्षक, अभिभावक र विद्यार्थी स्वयं उत्तिकै जिम्मेवार रहने बताउँदै सामुदायिक विद्यालयको शैक्षिक स्थिति सुधार विगतका भन्दा परिवर्तन भएको बताए ।
विशिष्ट अतिथिको रुपमा मुनेश थापा मगर, अतिथिहरुमा राजु थापा मगर (सहयोगीका बुवा), समाजसेवी अग्रज व्यक्तित्वहरु केश बहादुर थापा र जीत बहादुर थापा मगर, युवा समाजसेवी मनोज थापा मगर र ईन्द्र बहादुर राना, पत्रकार तिलक गुरुङ, शुभचिन्तक ढक कुमारी (सीता), प्रेमिका थाडा लगायतको उपस्थितिमा भएको सो कार्यक्रमको सञ्चालन विद्यालय शिक्षिका छलिमाया राना मगरले गरेकी थिईन् । सहयोगी मुनेश थापा मगरले प्रत्येक शिक्षकलाई उपहार स्वरुप शैक्षिक सामाग्री प्रदान गर्नुको साथै उपस्थित सबैलाई खाजाको व्यवस्था समेत गरेका थिए ।