एन आर एन ए कोरियाले “राजदूतसंग प्रत्यक्ष संवाद ” अन्तरक्रियात्मक कार्यक्रम गर्ने

गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद्, दक्षिण कोरियाले राजदूतसंग प्रत्यक्ष संवाद कार्यक्रमको आयोजना गर्ने भएको छ। राजदूतावास, सउलको समन्वयमा कोरियाका लागि नेपाली महामहिम राजदूत डा. शिवमाया तुम्बाहाङ्फेसँग मार्च १ तारिखका दिन कार्यक्रम गरिने निश्चित भएको हो।
“कोरियामा नेपाली आवाज: राजदूतसंग प्रत्यक्ष संवाद” भन्ने कार्यक्रममा कोरियामा रहेका विभिन्न संघ संस्थाका प्रतिनिधि लगायत श्रमिक, विद्यार्थी, व्यवसायी, पत्रकार एवं सम्पूर्ण नेपालीहरु बीच अन्तरक्रियात्मक कार्यक्रम हुने आयोजकले जनाएको छ। यस कार्यक्रमबाट समस्या पहिचान गरिने मात्र नभइ समाधानको उपाय समेत खोजिने महासचिव डा केशव थापाले जानकारी गराएका छन्। साथै कार्यक्रमको नतिजालाई प्रभावकारी बनाउन अन्त्यमा प्रतिवेदन समेत दुतावसमा बुझाइने र सोहि अनुसार कार्यन्वयनमा जाने बताइएको छ।
कार्यक्रमको समय तालिका र अन्य जानकारी यसै पत्रमा रहेको QR कोड स्क्यान गरेर हेर्न सकिने छ। आयोजकले नेपाली श्रमिक, व्यवसायी, विद्यार्थी, पत्रकार, राजनीतिक दलका प्रतिनिधिहरु तथा कोरियावासी नेपालीमा गरिमामय उपस्थितिको लागि हार्दिक निमन्त्रणा गरेको छ।