नेफिन कोरियाले `नो केबलकार´ पक्षमाथि हस्तक्षेप तथा दमनको विरोधमा राजदूत डा. शिवमायालाई ज्ञापन पत्र बुझायो

नेपालको ताप्लेजुङको मुक्कुमलुङ (पाथीभरा)मा भइरहेको नो केबलकार पक्षमाथि राज्य पक्षीय हस्तक्षेप तथा दमनको विरोधमा कोरियाको लागि नेपाली महामहिम राजदूत डा. शिवमाया तुम्बाहाम्फेलाई ज्ञापन पत्र बुझाएको छ । नेपाल आदिवासी जनजाति महासङ्घ दक्षिण कोरियाले राजदूत मार्फत सङ्घीय सरकारलाई बुझाउने गरी आइतबार राजदूतावासमा बुझाएको हो ।
नेपाल आदिवासी जनजाति महासङ्घ दक्षिण कोरियाको अगुवाइमा महासङ्घ आबद्ध जातीय संस्थाहरू तथा सम्बद्ध सङ्घ-संगठनहरूको हस्ताक्षरसँगै प्रतिनिधिहरूको उपस्थितिमा ज्ञापन पत्र बुझाएको थियो । साथै केही समयअघि बङ्गुर फाममा काम गर्ने नेपाली कामदार फाम परिसरमा आत्माहत्या गरी ज्यान गुमाएका तुलसी पुन मगरको घटनाको छानबिन र न्याय सुनिश्चित गर्न माग गर्दै विशेष ध्यानाकर्षण पत्र पनि बुझाइएको छ ।
ज्ञापन पत्र बुझाउने टोलीको नेतृत्व महासङ्घका संरक्षक लोचन राई तथा वरिष्ठ उपाध्यक्ष शुभराज भोम्जनले गरेको थियो । त्यस्तै महासङ्घमा आबद्ध जातीय संस्थाका अध्यक्षहरू क्रमशः. नेपाल तामाङ घेदुङ दक्षिण कोरियाका अध्यक्ष राजकुमार स्याङतान, शेर्पा सङ्घका अध्यक्ष दोर्ची शेर्पा, किराँत याक्थुङ चुम्लुङका निवर्तमान अध्यक्ष दिर्जा काङ्भा लिम्बु, थारू कल्याणकारी सभाका निवर्तमान अध्यक्ष शिव शङ्कर थारू, नेपाल बौद्ध परिवारका अध्यक्ष थुतुङ गेल्जि शेर्पा र महासङ्घका महासचिव दयाराम राना मगरलगायत सल्लाहकारहरू, तथा अन्य सरोकारवालाहरू समेत उपस्थिति थियो । महामहिम राजदूत तुम्बाहाम्फेले ज्ञापन पत्र बुझ्दै उठाइएका विषयहरूलाई नेपाल सरकारसमक्ष यथोचित रूपमा प्रस्तुत गर्ने प्रतिबद्धता जनाएको छ ।
नेपाल आदिवासी जनजाति महासङ्घ, दक्षिण कोरियाले यस घटनालाई गम्भीर रूपमा लिँदै न्यायको सुनिश्चितता र राज्य पक्षीय हस्तक्षेपको विरुद्ध आवाज उठाउने प्रतिबद्धता व्यक्त गरेको छ ।
ज्ञापन पत्र र ध्यानाकर्षण पत्र: