कोरिया जापान प्रतिरक्षा बैठक बस्दै
काठमाडौं-दक्षिण कोरिया र जापानका सैनिक अधिकारीहरुको सहभागितामा यी दुई देशबीचको प्रतिरक्षा बैठक यसै हप्ता बस्न लागेको छ ।
दक्षिण कोरियाको रक्षा मन्त्रालयले यस बारेमा जानकारी गराएको छ । यसै हप्ता यी दुई देशका उच्च सरकारी अधिकारीहरुको बैठक हुन लागेको हो । यी दुई देशबीचको सुरक्षाका क्षेत्रमा जारी बैठकमा छलफल हुने बताइएको छ । प्राप्त समाचारमा गएको करिब दुई वर्षपछि यो बैठक पहिलो पटक बस्न लागेको बताइएको छ ।
आगामी बुधबार सो बैठक बस्न लागेको दक्षिण कोरियाको रक्षा मन्त्रालयले जनाएको छ । सोलमा रहेको दक्षिण कोरियाको रक्षा मन्त्रालयमै सो बैठक बस्न लागेका बताइएको हो । जापान र दक्षिण कोरियाको यस बैठक २१ औँ चरणको हो । अधिकारीहरुले यसअघि सन् २०१३ को मार्च महिनामा टोकियोमा सो बैठक गरेका थिए ।
उक्त बैठकमा यी दुई देशबीचको आपसी सैन्य सहयोग र सैन्य समन्वयका साथै एसियाली क्षेत्रीय सुरक्षाका विषयमा पनि कुराकानी हुने बताइएको छ ।