परिस्थितिले सिर्जना गरेको एकता महाधिवेशन NRNA का लागि अवसर हो। विनोद कुवँर

विपिन गुरुङ नेतृत्व रहेको गैर आवासिय नेपाली संघ दक्षिण कोरियाले एकता महाधिवेशन बारे कोरियामा रहेका संस्थाहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ। मार्च २२ साँझ भर्चुल जुम मार्फत कार्यक्रम गरिएको थियो।
कार्यक्रमको प्रमुख अतिथि उच्च स्तरिय समितिका सदस्य विनोद कुवँरले अन्तरक्रिया कार्यक्रम एकदमै सान्दर्भिक रहेको बताएका थिए। कुवँरले एनसीसी एकता महाधिवेशनको सुरुवात यु ए ई बाट भैसकेको अवगत गराएका थिए। एन आर एन अभियान्ताको रुपमा आफूले एकताको लागि दिन रात नभनी मैदानमा खटिएको र त्यसको परिणाम राम्रो आउने विश्वास दिलाएका थिए। यद्यपी बद्री केसीको समूहलाई एकतामा ल्याउन सकिने र उहाँ चाँडै एकतामा आउने पनि बताएका थिए। तर
कोरियामा रहेका अर्का पक्षका अध्यक्ष वुद्दि गुरुङसँग आफूले सम्पर्क गर्दा उच्च स्तरिय समितीको कुरा सुन्ने स्थिति नरहेको र वद्री केसीको निर्देशन मान्ने भनेर प्रत्युत्तर दिएको बताएका थिए।
साथै उनले उच्च स्तरीय समितिको कार्यविधि परराष्ट्र मन्त्रालय र कानून मन्त्रालयले बनाएको जानकारी गराउँदै जुन जुन देशमा दुइ समूह छन उनिहरुलाई पठाइएको पनि अवगत गराएका थिए।
कोरियाको भूतपूर्व अध्यक्ष समेत रहेका कुवँरले केन्द्रीय महाधिवेशन सँधै जुलाईमा हुने तर यस पटक मे भित्र नै गर्नुपर्ने परिस्थिति सिर्जना भएको बताएका थिए।
यो विषम परिस्थिति न वुद्दि गुरुङ्ले सिर्जना गरेका हुन न बिपिन गुरुङले तसर्थ सर्वोच्चको आदेशलाई पालना गरेर एक हुनुको विकल्प नरहेको बताए। साथै वुद्धि गुरुङ पक्षलाई एकतामा सामेल हुन आग्रह गरेका थिए।
“एकता हुनुपर्छ ” भन्ने सरोकारवालाले पनि विकल्प दिए उपयुक्त हुने बताएका थिए। मार्च ३१ सम्म मात्र साधारण सदस्यता खुल्ने भएकाले सबैलाई फारम भर्न अनुरोध गरेका थिए। एकता महाधिवेशन एन आर एन ए का लागि अवसर रहेको उनको धारणा थियो। यहिँ साधारण सदस्यता लिनेहरुले नै एनसीसी र आइसीसी अधिवेशनमा सहभागिता जनाउन सक्ने प्रष्ट पारेका थिए।
यसैगरी अध्यक्ष विपिन गुरुङले आफूहरुलाई शेष घलेको समूह भन्ने गरेकोमा आपत्ति जनाउँदै आफूहरु विधि विधानले निर्देशन गरे अनुसार एकता महाधिवेशन गर्न लागिपरेको प्रष्ट पारेका थिए। ” धेरैलाई यस्तै भ्रम छ र यहिँ भ्रम चिर्नका लागि हामीले सामाजिक सञ्जाल मार्फत साथै कार्यक्रममा मन्तव्यका क्रममा सत्य बताउने गरेको छु।” उनले स्पष्ट गरे।
एन आर एन एमा गल्ति कमिकमजोरी हुनसक्ने बताउँदै छोराले गल्ती गर्दा बाउले यो मेरो छोरा होइन भनेर भन्न नमिल्ने बताएका थिए। कोरियाका अग्रज एन आर एन अभियान्तालाई भ्रम छर्नमा भन्दा एक हुनमा जोड दिन आग्रह गरेका थिए।
अप्रील ६ मा हुने अधिवेशन सर्वोच्च अदालतको आदेश पालना गरिएको जानकारी गराउँदै यो सत्यको लडाईँमा सबैले साथ दिन अनुरोध गरेका थिए।
कोरियामा रहेका दुइ पक्षलाई एकतामा ल्याउन पूर्व अध्यक्ष लक्ष्मि गुरुङको संयोजकत्वमा समिती बनेपनि उपलब्धि हुन नसकेको संयोजक लक्ष्मी गुरुङले जानकारी गराएकि थिइन्।
पटक पटक दुइ पक्षका नेतृत्वसँग संवाद गर्दा पनि दुवैले आफ्नो हठ नछोडेको उनको तर्क थियो। “मेरो विचारमा अब दुवै पक्षको पूरै टिम सँग वार्ता गरे मात्र ठोस निर्णय हुनसक्छ होला।”
उनले संभावित मिलनविन्दु औल्याउँदै बैठकमा आफ्नो राय राखिन्।
करिब ३ घण्टा चलेको यस कार्यक्रममा कोरियामा रहेको सक्रिय संस्था एनसीसी, प्रदेश स्तरीय संस्था, नेपाल पत्रकार महासंघ, फोनिज कोरिया , राजनैतिक दलका प्रवास संगठन लगायत अन्य सामाजिक संस्थाहरुको उपस्थिति रहेको थियो। अन्तरक्रियाका क्रममा वक्ताहरुले दुवै पक्षलाई एक हुन अनुरोध गर्दै एकता महाधिवेशनमा साथ सहयोग रहने बताएका थिए।