‘कोरिया सन्देश ‘ जर्नल विमोचन, समारोहमा कस्ले के के भने?

नेपाली जनप्रगतिशील मञ्च दक्षिण कोरियाले ‘कोरिया सन्देश नामक जर्नल विमोचन गरेको छ। मार्च २३ तारिख आइतबार दोङ्देमून स्थित सेमाउल सभा हलमा कार्यक्रम सम्पन्न भएको थियो। विभिन्न सङ्घ संस्थाहरुको बाक्लो उपस्थितिमा प्रमुख अतिथि महामहिम राजदूत डा . शिव माया तुम्बाहाम्फेको बाहुलीबाट उक्त जर्नल विमोचन गरिएको थियो।
प्रमुख अतिथि तुम्बाहाङ्फेले जर्नल प्रकाशन गरिनु निकै उत्कृष्ट काम रहेको बताएका थिइन्। यसै गरी कोरियामा आवश्यक पर्ने जानकारी समेटिएको बताउँदै विप्रेषणको कुरा, अधिकारका कुराहरू समेटिएको बताएकी थिइन्। तथापि अनुसन्धानमूलक वैचारिक लेखहरू पनि अर्को अङ्कमा अटाउँदा राम्रो हुने सुझाव दिएकी थिइन्।
यसै गरी गत हप्ता होलीको कार्यक्रममा प्रधानमन्त्री ओली विरुद्ध नाराबाजी गर्ने समूहलाई लक्षित गर्दै ती समूहले आफ्नो कर्तव्य के हो? भनेर बुझ्नुपर्ने सुझाएकी थिइन्। आफ्नो अधिकरको कुरा गर्दा अरूको अधिकारलाई कतिको असर गर्छ त्यसतर्फ ध्यान दिनुपर्ने उनको धारणा थियो।
“प्रवासी भूमिमा नेपालीले नेपालीलाई विरोध गरे कसलाई फाइदा हुन्छ? यस्तो हर्कतले नेपाल र नेपालीको इज्जत कहाँ छ भन्ने प्रश्न अगाडि जन्मिन्छ। ” उनले थपिन्।
कार्यक्रममा जर्नल प्रकाशन सह्रानीय कार्य रहेको र केहीले कमी कमजोरी औँल्याएर सुझाव पनि दिएका थिए। गत हप्ताको होलीमा प्रधानमन्त्री ओली विरुद्धको नाराबाजी र राजतन्त्र कि गणतन्त्र भन्ने विषयमा बहस केन्द्रित रहेको थियो।
कार्यक्रमको अध्यक्षता गरेका नेपाली जन प्रगतिशील मञ्चका अध्यक्ष जीवन खतिवडाले यो हजार माइलको दूरीमा एक पाइला रहेको इङ्गित गरेका थिए। साथै सबैको सुझाव सल्लाहलाई आत्मसाथ गर्दै घोडा चढ्ने नै लड्ने बताएका थिए। महान् विद्वानको भनाइलाई उद्धृत गर्दै गल्ती नगर्ने मान्छ होइन र गल्ती नसुधार्ने पनि झन् मान्छे होइन भन्दै आगामी अङ्कको जर्नलमा व्यापक सुधार गर्ने प्रतिबद्धता ब्यक्ता गरेका थिए।
शुभकामना मन्तव्यकै क्रममा गैर आवासिय नेपाली सङ्घका अध्यक्ष विपिन गुरुङले पुस्तकमा वैचारिक लेखहरू अझ बढी राख्नुपर्ने सुझाव दिएका थिए। साथै एन आर एनको बारेमा पनि आफ्ना कुरा राखेका थिए। संसार भरीका नेपाली भावना नेपाली मन भएकाहरू अर्थात् एन आर एन मिल्नुपर्ने उनको धारणा थियो।
नेपालमा बद्री केसीलाई अदालतले उच्च स्तरीय समितिको सदस्य भनेर मात्र चिन्ने हुनाले उनका पक्षलाई पनि एकतामा आउन अनुरोध गरेका थिए।
उनी सम्बद्ध एन आर एन एको अप्रिल ६ तारिख अधिवेशन हुने जानकारी पनि गराएका थिए। यसै गरी अर्का एन आर एन एका अध्यक्ष बुद्धि गुरुङले आफ्नो संस्थाले अप्रिल ६ मा भलिबल प्रतियोगिता आयोजना गर्ने जानकारी गराएका थिए र विपिन गुरुङ नेतृत्वको एनआरएनएलाई अधिवेशन सफलताको शुभकामना दिएका थिए। कोरियामा दुई ओटा मात्र होइन तीन चार ओटा एन आर एन भए तापनि फरक नपर्ने बताउँदै समाजका लागि काम गर्नु चाहिँ महत्त्वपूर्ण रहनेमा जोड दिएका थिए।
नेपाली दूतावासका उपनियोग प्रमुख जेनिम अधिकारीले दूतावासले दिने सेवाको बारेमा जानकारी गराएका थिए। दिनमा ५० ओटाको दरले अपोइन्टमेन्ट खुल्ने र फर्म भर्दा कोटा फुल भए अटो बन्द हुने हुँदा दूतावासले बन्द नगरेर सिस्टमले बन्द गर्ने पनि अवगत गराएका थिए। आवश्यकता अनुसार घुम्ती सेवा पनि दूतावासले सञ्चालन गर्दै गरेको जानकारी गराए। एन आर एन एका पूर्व अध्यक्ष दीपक पुनले कोरियामा गरिने कार्यक्रमको ढाँचा बदल्नुपर्ने सुझाव दिएका थिए। दिनभरि मन्तव्य राखेर कुनै उपलब्धि नहुने भन्दै उनले आफ्नो विचार प्रस्तुत गरेका थिए।
नेपाली सम्पर्क समिति कोरियाका कार्यवाहक अध्यक्ष जितेन्द्र महतले पार्टीको दुस्मन पार्टी नभै सबै पार्टीको साझा दुस्मन गरिबी, अशिक्षा, छुवाछुत , रूढिवाद, अन्धविश्वास, भ्रष्टाचार, बेथिति आदि रहेको बताउँदै त्यसलाई निर्मूल गर्न एक हुनुपर्ने बताएका थिए। प्रवासी नेपाली मञ्चका अध्यक्ष अञ्जन कुलुङले गत हप्ता होलीकै विषयमा केन्द्रित रहेर असन्तुष्ट भए दूतावास मार्फत राख्न सकिने बताएका थिए। यदि दूतावासले नसुनेको खण्डमा आफू नै सहयोग गर्न लागिपर्ने बताएका थिए तर प्रवासी भूमिमा यस्तो हर्कत प्रति आपत्ति रहने कुरा दोहोराएका थिए।
शुभकामना मन्तव्यकै क्रममा प्रवासी नेपाली एकता मञ्चका अध्यक्ष शुभराज भोम्जनले स्मारिकामा सोधमूलक लेखहरू कम भएको व्यक्तिगत धारणा सहित अर्को अङ्कमा परिमार्जित भएर आउने आशा राखेका थिए। साथै उनले वर्तमान राजनीति परिवृत्तमा उठेको राजतन्त्र र गणतन्त्रको बारेमा कडा प्रस्तुत भएका थिए। आफ्नो बाजेको पालामा उपत्यकाबाट लखेटिएको इतिहास स्मरण गराउँदै राजतन्त्र कति निरङ्कुश हुन्छ भन्ने कुरा आफ्नो बाउ बाजेलाई प्रश्न गर्न उनले सुझाएका थिए। सङ्घीय लिम्बुवान सामाजिक मञ्चका अध्यक्ष रिकम लिम्बूले देशमा समानुपातिक निर्वाचन प्रणाली धरापमा रहेको कुरा व्यक्त गरेका थिए। उनले प्रवासबाट पनि समानुपातिकमा मतदान गर्न पाउनुपर्ने अधिकार हुनुपर्नेमा जोड दिएका थिए।
नेपाल आदिवासी जनजाति महासङ्घका अध्यक्ष विशन राईले राजनीति सबै नीतिको मूल भएका कारण मूल नै फोहर भए समाज त्यसै फोहोर हुने बताएका थिए। अहिलेको तातो बहस राजतन्त्र कि गणतन्त्र ठिक भन्ने सवालमा राजनैतिक पार्टीले जनतालाई बुझाउन नसकेको आरोप लगाएका थिए।
पूर्वी नेपाल समाजका अध्यक्ष केदार निरौलाले राजनीतिमा लाग्नेहरूले आलोचनात्मक चेत राख्नुपर्ने सुझाव दिएका थिए साथै जर्नल पुस्तकमा संस्थाको इतिहास पृष्ठभूमि समेटिएको भए अझ उत्कृष्ट हुने बताएका थिए। कार्यक्रममा नव नियुक्त अध्यक्ष एवं संस्थामा निर्वाचित सदस्यहरूलाई प्रशंसा पत्र वितरण गरिएको थियो।