बुसानमा छैटौँ बुद्ध जयन्ती फुट्सल कप २०२५ आयोजना हुँदै

तामाङ घेदुङ ख्यङ्साङ बुसान शाखा, दक्षिण कोरियाले सन् २०१८ देखि आयोजना गर्दै आएको बुद्ध जयन्ती फुट्सल प्रतियोगिताको छैटौँ संस्करण मे ४, २०२५ मा हुने भएको छ। “नाना आङा धिम” महिला सेल्टर सहयोगार्थ आयोजित यो प्रतियोगिता बुद्ध जयन्तीको अवसरमा पुरुष र महिला फुट्सल कपको रूपमा सञ्चालन हुनेछ।
“भगवान् गौतम बुद्ध नेपालमा जन्मेका हुन्” भन्ने सन्देश विश्वसामु पुर्याउने मुख्य उदेश्यले यस प्रतियोगिताको आयोजना गर्न लागेको संस्थाका अध्यक्ष धनराज तामाङले बताएका हुन । साथै प्रतियोगिताले नेपालीहरूबीच भाइचारा र एकता अभिवृद्धि गर्ने तथा फुट्सलप्रति रुचि राख्ने खेलाडीहरूलाई प्रोत्साहन र विकासको अवसर प्रदान गर्ने उद्देश्य रहेको जनाएको छ।
यो प्रतियोगिता लिग सिस्टममा खेलाइनेछ । जसमा टिम दर्ता अप्रिल २६, २०२५ दिउँसो १२ बजेसम्म खुला रहनेछ। विजेता टिमले ३० लाख वनसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले १५ लाख वनसहित ट्रफी, मेडल र प्रमाणपत्र, र तेस्रो स्थान प्राप्त गर्ने टिमले ८ लाख वन पाउनेछ। त्यस्तै, सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलरक्षकले जनही १ लाख वन पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिता अन्तर्राष्ट्रिय फुट्सल नियमअनुसार मर्यादित र निष्पक्ष रूपमा सञ्चालन हुने संस्थाका महासचिव प्रकाश लोप्चनले बताएका छन्।
घेदुङले प्रतियोगितालाई सफल बनाउन कोरियास्थित सबै संघसंस्था, फुटबल क्लब र खेलप्रेमीहरूलाई सहयोगको लागि हार्दिक अनुरोध गरेको छ ।
सन् २०१८ मा स्थापना भएको घेदुङले आफ्नो स्थापना कालदेखि नै सञ्चालन गर्दै आएको महिला सेल्टर “नाना आङा धिम” हालसम्म पनि निरन्तर रूपमा सञ्चालित छ। यो सेल्टरले दक्षिण कोरियामा रहेका नेपाली महिलाहरूलाई संकटको समयमा सहयोग र आश्रय प्रदान गर्दै आएको छ।
प्रतियोगिताको विवरण:
- प्रणाली: लिग सिस्टममा खेलाइने।
- टिम दर्ता: अप्रिल २६, २०२५ दिउँसो १२ बजेसम्म।
- पुरस्कार:
- विजेता: ३० लाख वन, ट्रफी, मेडल, प्रमाणपत्र।
- उपविजेता: १५ लाख वन, ट्रफी, मेडल, प्रमाणपत्र।
- तेस्रो स्थान: ८ लाख वन।
- सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक: प्रत्येकलाई १ लाख वन।
- नियम: अन्तर्राष्ट्रिय फुट्सल नियमअनुसार मर्यादित र निष्पक्ष रूपमा सञ्चालन।