बालविवाहविरुद्ध बालिका अभियान
बुटवल– हिंसा बढेको भन्दै रुपन्देहीको सूर्यपुराका बालिकाहरूले बालविवाहविरुद्ध अभियान थालेका छन् ।
बालविवाहबाट प्रताडित बालिकाहरूकै पहलमा अभियान थालिएको हो । उनीहरूले सोमबार सूर्यपुरामा बृहत् साइकल र्यालीको आयोजना गरे । बालविवाहका कारण हुने समस्याहरू लेखिएका प्लेकार्डसहित नारा लगाउँदै उनीहरूले गाविस परिक्रमा गरे । गाविस प्रांगणमा पुगेर अभिभावक र गाविसका सरोकारवालालाई बोलाएर बालविवाहका कारण आफूहरूको लेख्ने, पढ्ने, खेल्ने र सिक्ने समय खोसिएको भन्दै त्यसलाई रोक्न आग्रह गरे । ‘परम्पराका नाममा हुने बालविवाहले बालिकालाई निकै दु:ख भएको छ । सिंगो समाजलाई कलंकित बनाएको छ,’ बालिका ज्ञानमती कुर्मीले भनिन्, ‘अब सानो उमेरमा छोरीहरूको बिहे नगरिदिनुस् ।
’
अबदेखि १८ वर्ष नपुगी छोरीहरूको बिहे गरिदिए अभिभावकका विरुद्ध प्रहरीमा जाने उनीहरूले चेतावनी दिए । स्थानीय सुस्मा पौडेलले अब प्रहरी गाविस र संघसंस्थासित सहयोग मागेर गाउँमा हुने बालविवाह रोक्ने बताइन् । छोरीको सानैमा बिहे गरे पुण्य कमाइन्छ भन्ने धार्मिक विश्वास र पालनपोषण तथा शिक्षामा खर्च गर्नु नपर्ने व्यावहारिक कारणले सूर्यपुरामा अझै बालविवाह हुने गरेको छ ।