६० लाख युवा वैदेशिक रोजगारीमा
काठमाडौं – वैदेशिक रोजगारीमा सरकारी अनुमति लिएर जाने कामदारको संख्या ४० लाख पुगेको छ ।यसबाहेक अवैध तरिकाले भारतीय मार्ग हुँदै जानेको संख्या पनि २० लाख हाराहारीमा भएको अनुमान छ । सरकारले पछिल्लो समय विदेसिने युवाको संख्या घटाउने नीति ल्याए पनि व्यवहारमा लागू हुन सकेको छैन । साउमामात्रै ३८ हजार ८१ युवा विदेशिएका छन् ।
श्रम तथा रोजगार मन्त्रालयले खाडी मुलुक र मलेसियामा निःशुल्क टिकट र भिसा प्राप्त भएका कामदारलाई मात्र जान दिने निर्णय गरेको छ । यो निर्णयसँगै विदेसिने कामदारको संख्या ह्वात्तै घट्न सक्ने अनुमान गरिएको थियो । तर, साउनको तथ्यांकले खासै नघटेको देखाएको छ ।
श्रम तथा रोजगार मन्त्रालयले उपलब्ध गराएको तथ्यांकअनुसार गएको साउन महिनासम्ममा सरकारी अनुमति लिएर वैदेशिक रोजगारीमा जाने कामदार ३९ लाख ९८ हजार २४ जना पुगेका छन् । आन्तरिक बजारमा रोजगारीको पर्याप्त अवसर नहुँदा युवा जनशक्ति विदेश पलायन हुन बाध्य भएका हुन् |