नेपालमा सरसफाइ गर्न अमेरिकामा धुर्मुस र सुन्तलीको आव्हान
ङिमा पाख्रीन, अमेरिका
हाँस्य कलाकार जोडी सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमीरे (सुन्तली) यतिखेर अमेरिकाको यात्रामा छन् । अमेरिकाको बिभिन्न शहरमा कार्यक्रम देखाउँने क्रममा दर्शकबाट पाएका माया र सहयोगले उनीहरु हौसिएका मात्रै छैनन्, नेपालमा आफूले गर्दै आएका सरसफाईको अभियान पुरा हुनेमा ढुक्क छन् ।
नेपाललाई सन २०१७ भित्र खुला दिशा मुक्त बनाउँने उनीहरुको अभियान छ । नेपाल सरकारले यो जोडीलाई करिव दुई महिना अघि नेपालको सरसफाई दूतमा नियुक्त गरेको थियो । यसलाई उनीहरुले अवसर र चुनौतीको रुपमा स्विकारेका बताए । सरसफाई दूत बने पछिको छोटो समयावधी काम गर्दा नै उनीहरुले निकै सफल्ता मिलेको सुनाए ।
सीतारामका अनुसार बागमती सरसफाई अभियानमा स्थानिय जनसमुदायबाट उनीहरुलाई पर्याप्ता सहयोग मिल्यो । जन सहभागितामा हुने काम सफल र दिगो हुनेमा उनीहरुको बिश्वास छ । त्यसैले मनोरञ्जनात्मक तरीकाले उनीहरुले जनसमुदायलाई सरसफाईको लागि लाग्न अनुरोध गर्दा राम्रो प्रभाव परेको उनीहरुको ठम्याई छ ।
फोन सम्पर्कमा सीतारामले भने, “हाम्रो बोली बिकेको छ, यसले हामीलाई निकै उत्साहित बनाएको छ ।” सरसफाईको मु्द्दा अव राष्ट्रिय मुद्दा बनाईनु पर्ने धारणा यी जोडीको छ । उनीहरु त्यसैको लागि लागि परेका पनि छन् । ‘सबै जनता सबै दल, सरसफाईमा लगाऊँ बल’ भन्ने मूल नारा उनीहरुले बनाएका छन् । मेची काली सफाई अभियान लगायतका कार्यक्रमहरु उनीहरुले नेपालमा तय गरेका छन् ।
अमेरिकाका नेपाली समुदायले उनीहरुको अभियानलाई साथ दिन थालेको उनले बताए । हालै भर्जिनिया र बोस्टोनमा कार्यक्रम गर्दा ९००० (नौ हजार) डलर सहयोग जुटी सकेको सीतारामले जानकारी दिए । उनका अनुसार भर्जिनियामा दर्शकबाट उठेको रकममा सगुन डट कम ले उत्ति नै रकम राखेर म्याचिङ गरी दिए । प्रेम राजा महत, लोक तिवारी, राम प्रसाद खनाल लगायतले राम्रो सघाए । बोस्टोनमा ग्रेटर नेपाल सोसाईटी, पशुपती फाउन्डेसन, लायन्स क्लब लगायत स्थानीय ब्यापारीहरुबाट सहयोग जुट्यो ।
उनीहरुले कार्यक्रम गर्ने अमेरिकाका अन्य शहरहरुबाट यसरी नै सहयोग पाउँने उनीहरुले आशा राखेका छन् । अमेरिकी यात्रामा उनीहरुलाई लोक तथा दोहोरी गायक पशुपति शर्मा र सँगीता थापा मगरका साथै आधुनिक गायक प्रमोद खरेलले साथ दिई रहेका छन् ।