श्रम मन्त्री गुरुङलाई कोरियाबाट नेपाली कामदारको पत्र
माननीय श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङ ज्यु,
मलेसिया लगायत खाडीका ६ मुलुकमा फ्री भिसा र फ्री टिकेटको पहल गरि सफल पनि हुनुभएका मन्त्री ज्युलाई बधाई दिन चाहन्छु साथ साथै मेरो अनुरोध पनि छ कि तपाईहरु पठाउनेको मात्र कुरा नगर्नुस | त्यहाँ पठाई सकेपछिको अवस्था र परिस्थितिको पनि जाचबुझ गर्नुहोस ! कुनै उत्पादित सामग्रीको बिज्ञापन जस्तो गरि फ्री भिसा टिकेट भन्दैमा समस्याको समाधान हुनेवाला छैन ! तपाईहरुलाई पक्कै जानकारी होला कि सबैभन्दा बढी नेपालीहरु रहेको मलेसियामा दिन् दहाडै पिटिने ,लुटिने र ज्यान लिने काम हुन्छ | यहाँसम्माकी मलेसियन पुलिस नै लुटपाटमा संलग्न हुने गर्छन !
साँच्चै भन्ने हो भने मलेसियामा नेपालीहरु ढुक्क साथ हिड्न पनि नसक्ने अवस्था छ | त्यसैले त्यहाँ पठाउनुले मात्र तपाइको जित ठहरिन सक्दैन | हामी तेस्तो देशमा जन्मियौं कि जुन देशमा देश बिकाशको अभिभावकत्व निर्बाह गरेका शासक प्रशासक नै युबाहरुलाई बिदेशिनको निम्ति प्रोत्साहन र उत्प्रेरित गर्ने गर्छन र आफ्नो जित सम्झिन्छन | बजेटमा अर्थको अंक गणितीय हिसाब पुरा गर्न भएपनि सरकार जतिसक्दो विदेश पाठाउन चाहन्छ | यसले एकातिर आफ्नै देश बिकासका लागि मानब शक्तिको सहि सदुपयोग हुन पाउदैन भने अर्कातिर प्रतिभा पलायनको संभावना बढेर जान्छ |
माननीय श्रम मन्त्री ज्यु अहिले कोरिया आउदा अलि फरक तरिकाले कुरा राख्नुहोला भन्ने लागेको थियो तर पारा उस्तैमा गयो कि कोटा बढाउने ! मन्त्रि ज्यु अर्थको अंक गणितीय हिसाब मात्र नगरिदिएको भए उत्तम हुन्थ्यो | कोरियाको पैसा मात्र हेरेर देशमा भित्रिने रेमिटान्स्को मात्रा बढाउनको निम्ति कोटा बढाउनु तपाइको सरकारको निम्ति त ठिकै होला तर हामीजस्ता कयौ युबाहरु जो कोरियाको असहज र मालिक मैत्री कानुन बीच कडा परिश्रम गरिरहेका हामीलाई पक्कै पनि खुसीको बिसय होइन |
के हामीले बेहोर्ने समस्स्यका बारेमा कुरा उठाउन मिल्दैन? महिनामा २~४ आत्महत्याहरुको कारण खोजिनु पर्छ , आएको २~४ महिनामै मानसिक बिचलन भएर नेपाल फर्किनु पर्ने कारण हरुको खोजि र अनुसन्धान अनि त्यो बिसयमा किन कुरा उठान हुन सक्दैन ? यस बिषयमा अध्ययन गर्न जरुरि छ | कोटाको कुरा मात्र नभएर जति कामदार आउछन तिनीहरुको हक हित र सहजताको निम्ति श्रमिक मैत्री कानुनको निम्ति पहल वा आबाज मात्र राखेको भएपनि हुन्थ्यो तर ती बिषयमा मन्त्री ज्युले केहि बोल्नु भएन बरु कडा काम गर्नुहोस भनेर आदेश दिनु भयो |
श्रमिकको हक हितको निम्ति भन्दै देश-देश घुम्ने अनि ४~५ जना श्रमिकसंगै बसेर लन्च संगै रेमिटान्सको मात्र हिसाब गरेर हामीजस्ता युवालाई निराशा बाहेक केहि मिल्नेवाला छैन | यहाको असहजताको समाधानबिना मन्त्री ज्युले बढाएको २~४ सय कोटाले केहि अर्थ राख्दैन किनकि तपाइले बढाएको कोटाको २~४ सय त यहाको असहज अबस्थाकै कारण २~४ महिनामै नेपाल फर्किसकेका हुन्छन अनि भन्नुस तपाइको जित भयो या हार ?? तपाइको उत्तरको प्रतीक्षामा छु |
सुरज लामिछाने
हाल-दक्षिण कोरिया