साउदी अरबमा १ सय ३० लाई मृत्युदण्ड
काठमाडौं-साउदी अरेबियामा यस वर्षमात्र कम्तीमा पनि १ सय ३० जनालाई मृत्युदण्ड दिइएको छ।
बिहीबार पनि यहाँको प्रशासनले एकजनालाई मृत्युदण्ड दिएको छ। योसँगै यस वर्षमात्र साउदी अरेबियामा मृत्युदण्ड दिएका व्यक्तिको सङ्ख्या १३० पुगेको हो।
साउदी अरेबियाको प्रशासनले बिहीबार एकजना मसारी अल समारी नाम गरेका व्यक्तिलाई मृत्युदण्ड दिएको छ। ती व्यक्ति एकजना विदेशीको हत्यामा संलग्न रहेको पाइएकोले उनलाई मृत्युदण्ड दिइएको बताइएको छ ।
उनलाई साउदी अरेबियाको उत्तरपश्चिमी नगर काफर अल बातेनमा मृत्युदण्ड दिइएको छ। उक्त नगर इराकी सीमा क्षेत्रमा पर्छ । मृत्युदण्ड दिइएका उनी साउदी अरेबियामा यसै वर्ष दिइएको मृत्युदण्डमा १३० औँ नम्बरमा पर्छन् ।
एम्नेस्टी इन्टरनेसनलले भने गत वर्षमात्र साउदी अरेबियाको सरकारलाई मृत्युदण्डको कानुन खारेज गर्न आग्रहसहितको मागपत्र दिएको थियो । तर साउदी अरेबियामा मृत्युदण्डको कानुन कायमै रहेको छ । एजेन्सी