अवैध हुन्डी कारोबार कडाई गरिने संकेत , राजधानीका हुण्डी मनिट्रान्सफरमाथि प्रहरीको छापा
काठमाडौं – महानगरीय प्रहरी अपराध महाशाखा टेकुले राजधानीमा संचालित अवैध हुन्डी कारोबार हुने स्थानहरुमा छापा मारेको छ । महाशाखाको टोलीले राजधानीका सुन्धारा, ठमेल र न्युरोड क्षेत्रमा संचालित मनिट्रान्सफरहरुमाथि छापा मारेको हो ।
मनिट्रान्सफरबाट हुन्डीको कारोबार हुँदै आएको सुराकीका आधारमा महाशाखाले एक महिना लगाएर अनुसन्धान सुरु गरेको थियो । अनुसन्धानपछि महाशाखाखाले ८ वटा टोली बनाएर एकैसाथ छापा मारेको हो ।
सुन्धाराको देउराली मनी ट्रान्सफरलगायतका ५ भन्दा बढीस्थानबाट लाखौं रुपैयाँ बरामद गरिएको एसएसपी सर्वेन्द्र खनालले जानकारी दिए । उनका अनुसार प्रहरीले हुन्डीविरुद्ध राजधानीमा छापा मारेको पहिलो पटक हो ।
महाशाखाका डिएसपी रमेश थापाले राजधानीमा अवैध हुन्डीको कारोबार फस्टाउँदै गएपछि छापा मारिएको जानकारी दिए । महाशाखाको टोलीले मनिग्राममा कार्यरत केही कर्मचारी र संचालकलाई पक्राउ गरेको छ |