जलविद्युत् लगानी तथा विकास कम्पनीको दुई अर्बको सेयर खुल्दै
काठमाडौं – जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडले कात्तिक १२ गतेबाट साधारण सेयर निस्कासन गर्ने भएको छ । जलविद्युत् क्षेत्रमा लगानी गर्ने उद्देश्यले खुलेको कम्पनीले दुई अर्ब रुपैयाँको सेयर जारी गर्न लागेको हो ।
एक सय रुपैयाँ अंकित दरका सेयरहरु सर्वसाधारण लगानीकर्ताका लागि एक करोड ८६ लाख कित्ता छुट्याइएको छ । कुल दुई अर्बको सेयरमा चार लाख कित्ता कम्पनीका कर्मचारीलाई, १० लाख कित्ता सेयर सामूहिक लगानी कोष कम्पनीहरुलाई दिइने छ । १० लाख कित्ता ६ वटा सामूहिक लगानी कोष कम्पनीले पाउने छ ।
सर्वसाधारणले कम्तिमा ५० कित्ता र वढीमा ५० लाख कित्तासम्म आवेदन दिन सक्ने छन् । साधरण सेयर जारी गरेपछि कम्पनीको पुँजी १० अर्ब रुपैयाँ पुग्ने छ । अहिले पुँजी आठ अर्ब रुपैयाँ छ । कम्पनीको जगेडा तथा बचत कोषमा ५६ करोड रुपैयाँ छ ।
कम्पनीमा अर्थमन्त्रालयको २० प्रतिशत, ऊर्जा, कानुन मन्त्रालय, महालेखा नियन्त्रक कार्यालय, कर्मचारी सञ्चय कोष, राष्ट्रिय बिमा संस्थान र नागरिक लगानी कोषको १०÷१० प्रतिशत सेयर छ । सर्वसाधारणको भागमा २० प्रतिशत सेयर हुने छ ।
कम्पनीको सेयर निस्कासन तथा बिक्री प्रबन्धकमा नागरिक लगानी कोष, एनसिएम मर्चेन्ट बैंकिङ, एनएमबी क्यापिटल छन् । कम्पनीको सेयरका लागि राजधानी लगायत मोफसलका करिव ३० संस्थामा आवेदन दिन सकिन्छ ।