एनआरएनको महाधिवेशन काठमाडौंमा शुरु , त्रिपक्षीय भिडन्त
काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएन)को सातौं महाधिवेशन बुधवारदेखि काठमाडौंमा शुरु भएको छ । ‘एनआरएन राष्ट्र पुनःनिर्माणको सच्चा साझेदार’ भन्ने नारासहित ताहाचलस्थित साेल्टी क्राउन प्लाजामा जारी छ |
अधिवेशन विशेष गरी भूकम्पपछिको पुनःनिर्माणमा गैरआवासीय नेपालीहरुको सहभागीतामा केन्द्रित हुनेछ । विहीबारवाट नयाँ कार्यसमिति चयनका लागि निर्वाचन प्रक्रिया शुरु हुनेछ |
बुधबार मध्यान्हसम्म चुनावमा मतदान गर्ने १ हजार प्रतिनिधिले आफ्नो नाम दर्ता गराएका छन्। सम्मेलनमा भाग लिन ७१ देशबाट १५ सय जना भन्दा बढी सहभागी भएका छन् ।
एनआरएनको नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष शेष घलेसहित रतन कुमार झा र टेक बहादुर कार्की पनि प्रतिष्पर्धीको रुपमा देखिएका छन् |
एनआरएनले भूकम्पबाट घरबारबिहिन भएकालाई एक हजार घर निर्माण गरिदिने यसअघि नै घोषणा गरिसकेको छ । त्यसका लागि केही दिनअघि मात्रै नेपाल सरकारसँग सम्झौता गरेको छ । पूर्व घोषित कार्यक्रमलाई अब बन्ने नयाँ नेतृत्वले पूर्णता दिने एनआरएनए सचिवालयले जनाएको छ |