९ जिल्लामा एनआरएनको ३० अर्ब लगानी
काठमाडौं – गैरआवासीय नेपाली (एनआरएन) ले ९ जिल्लामा हालसम्म ३० अर्ब रुपैयाँ लगानी गरेको देखिएको छ । आर्थिक पत्रकार समाज (सेजन) ले गैरआवासीय नेपाली संघ (एनआरएनए) का लागि गरेको अध्ययनअनुसार उपत्यकाका तीन जिल्ला, कास्की, सिरहा, गोरखा, मकवानपुर, बाग्लुङ र चितवनमा २९ अर्ब ८५ करोड ५० लाख रुपैयाँ लगानी देखिएको हो ।
६७ वटा उद्योग तथा प्रतिष्ठानहरूमा उक्त लगानी छ । जसमध्ये एनआरएनले लगानी गरेका सबैभन्दा बढी ४७ वटा सेवामूलक उद्योग छन् । ८ वटा जलविद्युत्मा एनआरएनको लगानी देखिन्छ । ७ वटा उत्पादनमूलक उद्योग र ३ वटा गैरनाफामूलक संस्थामा एनआरएनको लगानी छ । उनीहरूको लगानीबाट ८ हजार २ सय ७६ जनाले रोजगारी पाएको अध्ययनले देखाउँछ । जसमध्ये ५ हजार ४ सय ९६ पुरुष हुन् । ‘यो ९ जिल्लाबाट अध्ययनको सुरुवात मात्रै हो,’ एनआरएनए अध्यक्ष शेष घलेले भने, ‘अन्य जिल्लामा पनि अध्ययन गर्ने छौं र एनआरएनको योगदानको तथ्य बाहिर ल्याउने छौं ।’ अबका दिनमा यहाँ लगानी गर्ने एनआरएनले गैरआवासीय नेपाली संघको सचिवालयमा जानकारी गराउन पनि उनले आग्रह गरे ।
९ जिल्लाहरूमध्ये सबैभन्दा बढी लगानी उपत्यकाका तीन जिल्लामा देखिन्छ । २३ अर्ब १५ करोड १० लाख रुपैयाँ उपत्यकाका जिल्लामा गैरआवासीय नेपालीको लगानी छ । त्यसपछि बढी लगानी भएको जिल्ला बाग्लुङ र मकवानपुर रहेको अध्ययन प्रतिवेदनले देखाउँछ । यी दुई जिल्लामा क्रमश: २ अर्ब ९७ करोड ८ लाख र १ अर्ब २० करोड रुपैयाँ गैरआवासीय नेपालीको लगानी देखिन्छ । त्यसपछि क्रमश: कास्कीमा १ अर्ब १ करोड, गोरखामा ८४ करोड १० लाख, चितवनमा ३५ करोड २० लाख र सिरहामा २३ करोड ३० लाख रुपैयाँ लगानी रहेको अध्ययनले देखाएको छ । सरकारले गैरआवासीय नेपालीलाई पनि नेपाली सरहको लगानी मान्ने गरेको छ |कतिपय एनआरएनहरूले भने प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) का आधारमा लगानी भित्र्याएका हुन् ।
अध्ययन प्रतिवेदनले जनाएअनुसार नेपालमा लगानी गर्नका लागि सबैभन्दा बढी समस्या शान्ति सुरक्षाको अभाव छ । त्यसपछि लोडसेडिङलाई लगानी हुन नसक्ने कारक गैरआवासीय नेपाली लगानीकर्ताले ठानेका छन् । तेस्रो समस्याका रूपमा भने नीतिगत अस्थिरता छ । गैरआवासीय नेपालीले लगानी गरेको उद्योगमा ८ हजार ४ सयदेखि १ लाख ८० हजार रुपैयाँसम्म तलब पाउने गरेको अध्ययनले देखाएको छ ।
घलेले नेपालमा लगानीबारे एनआरएनहरूले गम्भीर भएर सोच्ने बेला आएको बताए । ‘मैले महत्त्वाकांक्षी भएर धेरै लगानी गर्ने विषय सोचेको छैन । गर्न सक्ने जति मात्रै बोल्नुपर्छ । हाम्रो अबको दायित्व भूकम्प पछिको पुननिर्माणका लागि लाग्नुपर्ने छ,’ उनले भने, ‘हाम्रो सोचाइ भूकम्पबाट पीडित भएका जिल्लाहरूमै लगानी बढाऔं भन्ने हो । अब आउने कार्यकालमा हामी थप लगानी पनि भूकम्प पीडित जिल्लामा नै गर्ने प्रयासमा छौं ।’ व्यवसायिक लगानी पनि भूकम्प प्रभावित जिल्लामै बढाउन एनआरएनहरूलाई घलेले अनुरोध गरेका छन् । एनआरएनएले भूकम्प पीडितहरूका लागि १ हजार घर बनाउनका लागि ३५ करोड रुपैयाँ लगानी गर्ने भएको छ । आगामी दिनमा एनआरएनए र लगानीको विषय अन्तरसम्बन्धित बनाउनुपर्ने धारणा घलेको छ । ‘एनआरएनले लगानी गर्दैनन् भन्ने आरोप धेरै लाग्ने गरेको थियो । त्यसैले कलेक्टिभ लगानीको अवधारणामा लाग्यौं,’ उनले भने, ‘संयुक्त लगानी सुरु गरेको जलविद्युत् सफल भएपछि थप लगानी विस्तार गर्ने छौं ।’ उनले नेपालमा एनआरएनएले विकास साझेदार संस्थाको रूपमा काम गर्न चाहेको बताए । त्यसका लागि उपयुक्त वातावरण बनाइदिन उनले अनुरोध गरेका छन् ।
कार्यक्रममा उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले गैरआवासीय नेपालीहरूलाई आर्थिक सामाजिक रूपान्तरणमा थप चिन्तन गर्न अनुरोध गरे । ‘भूकम्प पछिको पुनर्निर्माणमा आफ्नो स्रोत साधन लगाउन अनुरोध गर्दछु,’ उनले भने, ‘पुनर्निर्माणको साझेदारीसँगै विकासमा पनि साझेदारी तपाईहरूले गर्न आवश्यक छ ।’ उनले उत्कृष्ट संविधान जारी भएको जनाउँदै लगानीमैत्री वातावरण सिर्जना भएको दाबी गरे । ‘संविधान जारीसँगै राजनीतिक संक्रमण सकिएको छ,’ उनले भने, ‘लगानीमैत्री वातावरण सिर्जना भएको छ । नेपालमै लगानी बढाउनुस् ।’ सोही कार्यक्रममा एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतोले मुलुक धनी भए मात्रै नेपालीको इज्जत बढ्ने बताए । ‘नेपाल जति लगानीको अवसर भएको मुलुक अरू छैनन्,’ उनले भने, ‘यहाँ लगानी गर्नुस् साथमा धर्म पनि कमाउनुस् ।’ कार्यक्रममा एनआरएनए प्रमख संरक्षक रामप्रताम शाहले लगानीलाई मात्रै नहेर्न अनुरोध गरेका थिए ।