दशैँ विवाद र मगर
डोलु आले मगर
यो वर्ष विभिन्न अनलाइन पत्रपत्रिकाहरुमा करिब एकदर्जन भन्दा बढी दशैं सम्बन्धि लेख पढियो। मैले दसैंको विरोध पनि गर्दिन, टीको लगाएरै,काटमार गरेरै मनाउनु पर्छ भन्ने पनि ठान्दिन। सेतो कि रातो टिका भन्ने भने फगत लाग्छ तर सबैको मान्यता र विश्वास आ-आफ्नै छ र मुल्यवान पनि। यो चाड मगर कि ,बाहुन वा अरु कुन जात जातिको? कुन धर्म धर्मीको भन्ने बहस गर्नु पनि व्यर्थ लाग्छ। दसैँ सम्बन्धि लेखहरु वस्तुगत र तथ्यगत आधारमा यहि हो भन्ने प्रमाण कसैले दिन सकेको छैन र सायद सर्वमान्य तर्क सम्भव पनि नहोला। नेपाली दसैं सम्बन्धि विकिप्याडियामा गएर हेर्ने हो भने बकाइदा हिन्दुहरुको चाड भनेको छ। महत्व महिषासुर राक्षसको बध, श्रीरामले रावणमाथि विजय प्राप्त गरेको, दुर्गाले दैत्य चण्ड-मुण्ड तथा शुम्भ-निशुम्भलाई बध गरेको खुसियालीमा मनाउने गरिन्छ दशैँ ।
दशैँको विरोध उठ्नुमा मुख्यत अरु धर्म, समुदायहरुले मनाउने अन्य चाडपर्वको अवमुल्यन शासक पक्षले गरेको कारण हो जस्तो लाग्छ । भने अर्को गरिबहरुलाई अझ गरिब बनाउने महँगो चाड बन्नु हो। सरकारले पनि पहिला पहिला रेडियो नेपाल, सरकारी टेलिभिजन मार्फत हिन्दुहरुको महानचाड नै भन्ने गर्थ्यो। रेडियोमा महाकाली, भद्रयानी, नव दुर्गा र तृशक्ती महाकाली, महालक्ष्मी र महासरस्वोति के-के भन्ने भगवानहरुले राक्षसलाइ मारेको भन्ने नाटक हामिले पनि सुनेका थियौं र हिजो आज पनि होला सायद।
भाषाविज्ञ तथा हाल अमेरिका क्याम्ब्रिज विश्वविद्यालयमा प्रोफेसर रहेका बि.के राना मगरका अनुसार गोरखाको खड्का राजाको निर्मम हत्यागरी आफू राजा भएको खुशीयालीमा द्रव्यशाहले आश्विन शुक्लपक्ष भरि रामरमिता मनाएको, रंगरेलिया गरेको हुनसक्ने र त्यसै घटनालाई वार्षिकोत्सवको रुपमा वर्षेनि मनाउदै आउने क्रममा नेपालमा दशैं संस्कृति विकसित भएको हो भन्ने अनुमान गर्न कुनै गाह्रो छैन। द्रव्यशाहका सन्तति राजा पृथ्वीनारायण शाहले पनि सन् १७६९ मा काठमाडौँमाथि विजय प्राप्त गरी त्यहा दशैं संस्कृति प्रवेश गराएका हुन; यसमा पनि कुनै शंका छैन । यसको प्रमाणको रूपमा काठमाडौँको नागार्जुन डाडामुनिको ‘अर्को गोरखा’बाट ल्याइने फूलपातीलाई लिन सकिन्छ । त्यो फूलपातीलाई हनुमानढोकाको दशैं घरमामा भित्य्राइएपछि मात्र त्यहा बडादशैंको अरु परम्परागत पूजाआजा शुरु गरिन्छ । यसकारण पनि नेपालमा आजको बडादशैंको उद्गमविन्दु गोरखा जिल्लाको सदरमुकामस्थित माझकोटको गोरखा दरबारलाई मान्नु युक्तिसंगत देखिन्छ ।
निनु चापागाईंको अनुसार हिजो राज्यले नै हिन्दुराष्ट्रका नाममा हिन्दु धर्मलाई स्वीकार नगर्ने जाति, जनजातिमाथि जबरजस्ती यो चाड मनाउन बाध्य पारेको स्थिति थियो र अहिले पनि यो चाड मनाउन कर्मचारीलाई लामो बिदा दिने, विद्यालय लामो समयसम्म बन्द गर्ने र आज अरू खस जातिइतरका चाड र पर्वलाई अति कम महत्व दिएर तिनलाई विभेद गर्दै आएको अवस्था र परिप्रेक्ष्यमा दसैंलाई राष्ट्रिय पर्व मान्न सकिन्न । यो नेपालको महत्वपूर्ण चाडमध्येको एउटा चाड भने अवश्य नै हो ।
धेरै नेपालीहरुले यो चाड मान्छन् र मान्नु पनि पर्छ। म पनि यो चाडमा हुने सबै खाले कार्यक्रममा रमाइलो गर्ने गर्छु तर विशेष टीको लगाउनै पर्ने, बलि चढाउनै पर्ने, जस्ता कामहरु म बाट हुने छैन। यसो भन्दै गर्दा दशैँ को विरोध गरेको सम्झनु कमजोरी होला। र कसैले भन्ने गरेको दसैं बहिस्कार को पनि म समर्थन गर्दिन। मनाउने मनाउन् र नमनाउने नमनाउन्। बहिस्कार शब्दले अरु अतिवाद जन्मन सक्छ। दशैं मनाउनेहरुले नमनाउनेहरुलाई किन नमानेको भन्ने प्रश्न गर्नु पनि जरुरि छैन। किन भने सबैले लोसार, इद, क्रिश्मस, बुद्धजयन्ती, आदि इत्यादी मनाउदैन र तिनीहरुलाई पनि किन नमानएको भनेर कहिलै सोधिदैन।
खासमा यो मगरको चाड। हिन्दुको चाड। बाहुनको चाड भन्नु नै गलत छ। तर बहस सकारात्मकरुपमा अगाडी बढ्यो भने देशमा सबैलाई मान्य हुने गरी एउटा राष्ट्रिय पर्वको जन्मभए हुन्थ्यो जस्तो लाग्छ त्यो सम्भवतः तिहार हुन सक्छ। किनभने हरेक जातजाति,समुदाय,धर्म विशेषको चाडवाडमा हुने धेरै र लामो विदा पनि देशको निम्ति अहितमा छ। यसले नेपाल जस्तो विकासोन्मुख देशलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा असर गरिरहेको छ। र चाडपर्वको नाममा हुने लामो सरकारी विदालाई कटौती गर्दै गए देशको लागि राम्रो हुन्थ्यो।
म दसैं मगरको चाड हो भन्ने पक्षमा छैन। मगरहरुको हरेक महिना चाड पर्व हुन्छ त्यो दशै पनि हुन् सक्छ तर मगरहरुकै हो भन्ने मत संग सहमत छैन। जो जस्ले मनायो उसैको चाड हो। न मगर,न बाहुन, न हिन्दु न अहिन्दु। तर चाडको नाममा हिजोदेखिका शाषकहरुले अरु भाषा,धर्म,संस्कृति,परम्परालाई निमोठेको पक्का हो। यो अझै पनि कायम छ। यस्को अन्त्य भएमा यो दसैं विवादित पक्का बन्ने छैन। राज्यमा तमाम विरोधका गुञ्जायसहरु उठ्ने छैन।
अन्त्यमा हरेक समुदायले मनाउने चाडपर्वको आ-आफ्नै महत्व र अर्थ छ होला। सबैले एक अर्काको मूल्य मान्यता,संस्कृति, विस्वास, आस्था र धर्म चाडपर्वहरुमा सद्भाव राख्नु जरुरि छ। सहिष्णुता दोहोरो अर्थात् सबैमा हुनु जरुरी छ। यस्ले मात्रै नेपाल र नेपालीको हित गर्न सक्छ।