यसपाली नि यस्तै भो दिदी (कविता)
पोहर साल सम्म ऋण तिर्नै ठीक भो
आउन मन त थियो तर तेस्तै भो दिदी
यो साल त झन भूकम्पले घर नै चर्क्यो
यसपाली नि यस्तै भो दिदी
आउदो साल बरू मन नै चर्के चर्कोस्
पारिको त्यो मनास्लु हिमालको बाचा नै भो
मन्द बतासको बूई चढेर
देउराली डांडाको त्यो ओरालो
तिम्रो लागि कोसेली उपहार बोकेर
म पक्कै आउनेछु दिदी
बाटै भरि लालुपाते अनि
आगनैभरि सयपत्री मखमली र
गोदावरीका फूलहरु फूलाई राख्नु है….
बाबु साईला (भीम सुब्बा तामांग)